बुधबार नेप्सेमा १५८ कम्पनीको ३ हजार ६ सय २२ करोबारबाट २८ करोड ८४ लाख रुपैयाँबराबरको ८ लाख ५९ हजार २ सय ८२ कित्ता सेयर खरिद बिक्री भएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घट्ने क्रम बुधबार राकिएको छ । सोमबार र मंगलबार निरन्तर घटेको धितोपत्र बजार सूचक बुधबार बढेको हो ।
नेप्से सूचक बढेको भए पनि कारोबार रकममा भने मंगलबारको तुलनामा करिब ६ करोडले कमी आएको छ । मंगलबार नेप्सेमा ३४ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार घटेर २८ करोडमा सीमित भएको छ ।
बुधबार कारोबार सुरु हुँदा घटेको नेप्से करिब १२ अङ्कसम्मले घटेको थियो । तर, कारोबारको करिब एक घण्टापछि नेप्से सूचक बढ्न थालेको थियो । त्यो सुधारको गतिमा पनि लामो समयमा रहन सकेन । केही समयपछि पुनः घट्न थालेको नेप्से कारोबारको अन्तिम समयमा ३ अङ्कको सुधार आइ बन्द भएको हो ।
चैतको पछिल्लो साता मात्र वित्तीय प्रणालीमा ७ अर्ब रुपैयाँ थपीएको छ । अर्थात् बैङ्कहरुको निक्षेप पछिल्लो एक सातामा ७ अर्ब रुपैयाँ बढेको छ । अघिल्लो साता बैङ्कहरुमा १२ अर्ब रुपैयाँ थपिएको थियो । बैङ्कहरुमा निक्षेप आएसँगै ब्याजदरमा कमी आउने तथा कर्जा सहज पाइने अपेक्षामा सेयर लगानीकर्ता छन् । बैङ्कहरुले कर्जा प्रवाह नै नियन्त्रण गरेको अवस्थामा निक्षेप बढेपछि कर्जा प्रवाह पनि विस्तार हुन्छ । बैङ्कहरुले ब्याजदर घटाएर सहज कर्जा प्रदान गर्न थालेको खण्डमा लगानीकर्तालाई सेयरमा लगानी गर्ने नयाँ विकल्प सिर्जना हुनेछ । साथै लगानीकर्ताले सूचीकृत कम्पनीको तेस्रो त्रैमासको वित्तीय विवरणको पर्खाइमा भएको पनि बुझिन्छ ।
कारोबार सुरु हँुदा १२७०.२३ अङ्कमा रहेको नेप्से बन्द हुँदा ३.१० अङ्कले बढेर १२७३.३३ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अङ्कले बढेको छ ।
बुधबार नेप्सेमा कारोबार भएका बैङ्क तथा बिमा कम्पनीको सेयरमूल्य बढेपछि समग्र नेप्से सूचकमा वृद्धि देखिएको हो । नेप्सेमा कारोबार भएका समूहगत सूचकमध्ये बैंकिङ ३.२७, जलविद्युत् १०.०२, बिमा ४२.१, उत्पादनमूलक १२.६ र लघुवित्त समूह ४.७२ अङ्कले बढेका छन् । तर, विकास बंैक ८.६१, वित्त ३.३४, होटल १७.१४, अन्य १.८४ अङ्कले घटेका छन् ।
बुधबार नेप्सेमा १५८ कम्पनीको ३ हजार ६ सय २२ करोबारबाट २८ करोड ८४ लाख रुपैयाँबराबरको ८ लाख ५९ हजार २ सय ८२ कित्ता सेयर खरिद बिक्री भएको छ ।