आर्थिक समृद्धिका लागि गगनको खाका

गरिखाने वातावरण मात्रै भयो भने स्वदेश र विदेशमा रहेका यही देशका नागरिकले उर्जा, कृषि,पर्यटन लगायतको क्षेत्रमा लगानी र उद्यमशीलताको विकास हुने उनले बताए ।

काठमाडौं क्षेत्र नं ४ मा प्रतिनिधी सभा सदस्य उम्मेदवार गगन थापाले मुलुकको आर्थिक सम्वृद्धिको लागि नयाँ खाका सार्वजनिक गरेका छन् ।
थापाले समृद्धि, लगानी मैत्री वातावरण र रोजगारीको सृजना गरेर हरेक दिन १५ सय भन्दा बढि युवालाई विदेश जान रोक्ने आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् । लगानीको वातावरण सृजना गर्न अहिलेका विद्यमान ऐन, कानुन अबरोध रहेकाले विदेशी लगानी ल्याउनको लागि लगानी मैत्री कानुन बनाउन पहल गर्ने बताएका छन् । ‘समृद्धिको खोजीमा जाँदै गर्दाको दृष्यले हाम्रो राजनीतिलाई गिज्जाइरहेको छ,’ उनले भने, ‘श्रम र पसिनाले विदेशमा सडक, पुल, भवन बनाइरहँदा हामीले भने तिनैको रेमिटेन्सलाई सदुपयोग गरेर एउटा गतिलो जलविद्युत परियोजना समेत बनाउन सकेका छैनौं । ’

थापाले अवको पाँच बर्षमा समृद्धिको आधार तयार गर्दै नीतिगत सुधारहरुको व्यापक पहल, स्वदेशी तथा विदेशी पूँजीको परिचालन, अभुतपूर्व गतिमा पुर्वाधार निर्माण, चुस्त आर्थिक व्यवस्थापन र असल शासनको प्रत्याभूति दिनुपर्ने बताए ।
स्वास्थ्य मन्त्री हुँदा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने नीति अनुरुप नेपाली औषधी उद्योगले उत्पादन गरेका ३५ विदेशी औषधीलाई निरुत्साहित गरेका थिए । ‘मेरो सम्पूर्ण प्रयत्न नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा रोजगारीको सिर्जना गर्नका निम्ति हुनेछ, ’ उनले भने, ‘हाम्रो आत्मसम्मान समृद्धि र आत्मनिर्भरतासंग जोडिएको छ ।’

गरिखाने वातावरण मात्रै भयो भने स्वदेश र विदेशमा रहेका यही देशका नागरिकले उर्जा, कृषि,पर्यटन लगायतको क्षेत्रमा लगानी र उद्यमशीलताको विकास हुने उनले बताए । ‘म जुनसुकै अवस्थामा पनि समृद्धिका यी अठोट पुरा गर्नका निम्ति समर्पित हुनेछु, ’ उनले भने ।
उनले शिक्षा र स्वास्थ्य राज्यको दायीत्व हरेक नागरिकको स्वास्थ्य, शिक्षा र जीवनस्तर उकास्ने दायित्व राज्यको हुनुपर्ने बताए । काठमाडौंको वातावरण संरक्षण र वायुप्रदुषण नियन्त्रणका लागि सन २०२७ भित्र काठमाडौंमा पेट्रोलियम पदार्थवाट संचालित सवारी साधन प्रतिस्थापन गरि विद्युतिय सवारी साधन संचालन गर्ने गरि संसदमा राखिएको प्रस्तावलाई निष्कर्षमा पुराउने प्रतिवद्धता जनाएका छन् ।