भान्सा महँङिदो, भुक्तानी सन्तुलन खस्किँदो

पेट्रोलियम पदार्थ १ खर्व, खाद्य पदार्थ तथा जीवित जनावर ९७ अर्ब र यातायातका साधन तथा पार्टपुर्जाको आयात ८४ अर्ब ९१ करोड रुपैयाँ

चालू आर्थिक वर्षमा मूल्यवृद्धिमा चाप बढ्दै जान थालेको छ । यसले घरपरिवारको खर्च वृद्धि हुने सङ्केत देखाउँदै गएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन (फागुन)ले मूल्यवृद्धिमा तीव्र चाप पारेको देखाउँछ ।

वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) फागुन महिनामा ६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष २.९ प्रतिशत थियो भने माघमा ५ प्रतिशत मात्रै थियो । त्यसअघि अझै कम दरको मूल्यवृद्धि थियो । तरकारीजन्य वस्तुहरुको उल्लेख्य मूल्यवृद्धि भएको र गत वर्षको न्यून मूल्य आधार प्रभावका कारण मूल्यवृद्धिमा चाप परेको केन्द्रीय बैङ्कले जनाएको छ ।

समग्र खाद्यान्नको मूल्यवृद्धि औसतमा ५.६ प्रतिशत रहेपनि तरकारीमा मात्रै २८.४ प्रतिशतको वृद्धि देखिएको छ । गत वर्ष फागुनमा तरकारीको मूल्यवृद्धि ८.३ प्रतिशतले ऋणात्मक थियो । केन्द्रीय बैङ्कले तय गरेको मूल्यवृद्धिभन्दा सर्वसाधारणको भान्सामा पर्ने मूल्यवृद्धि अझ ठूलो हुन्छ । राष्ट्र बैङ्कका अनुसार दुग्धजन्य पदार्थ तथा अन्डाको मूल्य ७.९ प्रतिशतले बढेको छ । फलफूल ५.६ प्रतिशत र मासु तथा माछामा ४.९ प्रतिशतको वृद्धि देखिएको छ । घ्यू तेलको मूल्यवृद्धि भने २.६ प्रतिशत मात्रै छ । गैरखाद्य समूहको मूल्यवृद्धि भने ६.३ प्रतिशत छ । गैरखाद्य समूहमा गत वर्षको यसै अवधिमा पनि ५.६ प्रतिशत थियो ।

उता, अत्यधिक आयात बढ्ने तर, निर्यातमा खासै वृद्धि नहुने, विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धि र रेमिट्यान्समा तुलनात्मक वृद्धि नदेखिँदा मुलुक भित्रिने र बाहिरिने रकमको अन्तर (समग्र शोधनान्तर स्थिति) झनै खस्किएको छ । पछिल्लो ८ महिनामा शोधनान्तर स्थिति (भुक्तानी सन्तुलन) २४ अर्ब ९३ करोड रुपैयाँले मुलुक घाटामा गएको छ । गत वर्ष यस्तो शोधनान्तर स्थिति ५० अर्ब २ करोड रुपैयाँले बचतमा थियो भने अघिल्लो महिना (माघमा) १८ अर्ब २८ करोड रुपैयाँ घाटामा थियो । शोधनान्तर घाटामा रहेपनि हालको विदेशी विनिमय सञ्चितिले भने ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैङ्कले उल्लेख गरेको छ ।

केन्द्रीय बैङ्कले २०७४ फागुनमा वार्षिक बिन्दुगत आधारमा १३ प्रतिशतले विस्तार भएको छ भने कर्जा १७.४ प्रतिशत भएकाले वित्तीय स्थिति कसिलो रहेको उल्लेख गरेको छ । स्थानीय, प्रादेशिक तथा सङ्घीय संसदको निर्वाचन सकिएर सरकार बनिसकेकाले सरकारी खर्चमा समेत सुधार आई वित्तीय अवस्थामा सुधार आउने अनुमान छ ।

राष्ट्र बैङ्कले ८ महिनासम्म कुल वस्तु व्यापार घाटा २३ प्रतिशतले बढेर ७ खर्ब १३ अर्ब ९३ करोड रुपैयाँ पुगेको जनाएको छ । यस अवधिमा निर्यात–आयात अनुपात ७ प्रतिशत कायम छ । यसअवधिमा कुल वस्तु निर्यात १०.८ प्रतिशतले वृद्धि भई ५३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ भने आयात २२.१ प्रतिशतले बढेर ७ खर्ब ६७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । यसअवधिमा पेट्रोलियम पदार्थको आयात १ खर्ब ६० करोड, खाद्य पदार्थ तथा जीवित जनावर ९७ अर्ब ५ करोड र यातायातका साधन तथा पार्टपुर्जाको आयात ८४ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।