सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापविरुद्धका कामकारबाहीलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न प्रत्येक सूचक संस्थाले आफ्नो आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीको लागि तालिम दिनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।
सेयरको कारोबार गर्दा कल्पनिक नामबाट कारोबार गरेको खण्डमा कारबाही हुने भएको छ । नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ लागू गरेर काल्पनिक नामबार हुने कारोबारलाई कारबाही हुने जनाएको हो ।
मर्चेन्ट बैंकर तथा धितोपत्र दलालले व्यवसायको सिलसिलामा बेनामी वा काल्पनिक नाममा कुनै पनि खाता खोल्न वा कारोबार गर्न, गराउन नहुने व्यवस्था निर्देशिकामा छ । बेनामी वा काल्पनिक खाता खोलिएको वा कारोबार भएको रहेछ भने त्यस्तो खाता वा कारोबार तत्काल बन्द गरी आवश्यक छानबिन गर्नुपर्ने व्यवस्थासमेत निर्देशिकामा छ ।
नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ बनाई लागू गरेकोे छ । बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने निर्देशिका लागु गरेको जनाएको छ ।
बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४ पारित गरी आगामी वैशाख १ गतेदेखि लागू हुने जनाएको छ ।
निर्देशीका अनुसार धितोपत्रसँग सम्बन्धित संस्थाले कारोबार र व्यवसाय सञ्चालन गर्दा कानुनको पालना, उच्च नैतिक मापदण्डको पालना र अनुसरण गर्नुपर्ने व्यवस्था छ । ती संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापसम्बन्धी प्रचलित कानुन कार्यान्वयन र सम्बन्धित कसुरको अनुसन्धान तथा तहकिकातमा कानुन कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापविरुद्धका कामकारबाहीलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न प्रत्येक सूचक संस्थाले आफ्नो आन्तरिक नीति, आन्तरिक नियन्त्रण प्रणाली तथा कर्मचारीको लागि तालिम दिनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । संस्थाले ग्राहकको सही रूपमा पहिचान तथा सोको पुष्टि भरपर्दो स्रोतबाट प्राप्त कागजात, तथ्याङ्क वा जानकारीका आधारमा गर्नु पर्ने व्यवस्था गरेको हो ।
ग्राहकको पहिचानका सम्बन्धमा पेस गरिएका विवरण तथा कागजातहरु रुजु गर्ने जिम्मेवारीसहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातको आधिकारिकता निजबाट रुजु गराई राख्नुपर्ने व्यवस्था निर्देशिकामा छ । निर्देशिकाअनुसार ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममा आधारित भएर गर्नुपर्नेछ । एक दिनमा पटकपटक वा एकै पल्ट १० लाख रुपैयाँभन्दा बढीको कारोबारको जानकारी वित्तीय जानकारी इकाइमा दिने तथा शंकास्पद कारोबारसम्बन्धी प्रतिवेदन वित्तीय जानकारी इकाइमा अनिवार्य दिनुपर्ने व्यवस्थासमेत निर्देशिकामा छ ।