वातावरणीय प्रभाव मूल्यांकन नगर्ने होटल बन्द

वातावरणीय प्रभाव मूल्यांकन नगर्ने होटल बन्द हुने भएका छन् । वातावरण विभागले २०५५ साल भन्दा पछि बनेका सबै होटललाई तत्काल वातावरणीय प्रभाव मूल्याङ्कन गर्न अनुरोध गर्दै विभागको निर्देशन अटेर गर्ने होटललाई बन्द गर्ने भएको हो ।

वातावरण विभागका वातावरण निरीक्षक भुपेन्द्र शर्माले भने, “सुरुमा वातावरण मुल्याङकन गरे नगरेको निरिक्षण गर्छौ ,स्पष्टिकरण सोध्छौ, १ लाखसम्म जरिवाना गर्छौ र त्यति गर्दा पनि अटेर गरेमा होटलनै बन्द गर्छौ ।”

वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडीले होटल सञ्चालन गर्दा अनिवार्य रुपमा वातावरणीय प्रभाव मूल्यांङकन र वातावरणीय परीक्षण गर्न सबै होटल व्यवासायीहरुलाई अनुरोध गरे । उनले ५० देखि एक सय बेडरुम भएको होटलले वातावरणीय प्रभाव मूल्यांकन गर्नु पर्ने जानकारी दिए ।

होटल एसोसिएन अफ नेपाल(हान)का अध्यक्ष अमरमान शाक्यले राज्यको नियमकानुन मान्न आफुहरु तयार रहेको बताए । “नियम कानुन मान्न हामी तयार छौ, तर समय अवधी केहि बढाउनु पर्छ, हानका अध्यक्ष शाक्यले भने हामी वातावरण मैत्री नै छौ” ।