पुँजी वृद्धिको प्रभावकै कारण यो एक वर्षमा दुई सामूहिक लगानी कोषबाहेक ८५ अर्ब ३० करोड (८५ करोड ३० लाख कित्ता)बराबरको नयाँ सेयर बजार थपिएको छ । वैशाखपछि बजार बढ्न थाल्ने र मूल्य उच्च भइसक्ने कारण कतिपय लगानीकर्ता चैत तेस्रो सातापछि बजार प्रवेश गर्ने भएकाले पनि बजारले हरियालीको सङ्केत गरेको बुझाइ छ ।
२०७४ सकिनै लाग्दै नेपालको सेयर बजारले नयाँ वर्ष २०७५ लाई सकारात्मक रुपमा लिने सङ्केत गरेको छ । निरन्तर आरालो लागेको बजार चैत अन्तिम साता आइपुग्दा आशालाग्दो देखिन थालेको हो । चैत २५ गते आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४४.२६ अङ्कको वृद्धि भएर अन्तिम सातालाई सकारात्मक बनाउन लागिपरेको देखिन्छ । नेप्से परिसूचक मात्र बढेको छैन, औसतमा कारोबार रकम पनि बढेको छ । विगतमा १९ करोड रुपैयाँसम्म झरेको सेयर कारोबार आइतबार ९१ करोड ७७ लाख रुपैयाँ पुगेको छ । चैतको २०, २१ र २२ गते सेयर बजार सूचकमा सकारात्मक प्रभाव परेको र तीन दिनमा ५७.४३ अङ्कको वृद्धि देखिएको छ र आइतबारको समेत ४ दिनमा १०१.६९ अङ्कले बजार माथि चढेको छ ।
खासगरी प्रधानमन्त्री भारत भ्रमणमा जाने चर्चासँगै सुरु भएको नेप्सेको चढाइमा तीव्रता देखिएको छ । प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीचको वार्ता सकारात्मक भएर १२ बुँदे सहमतिसँगै आगामी दिनमा नेपालको विकासमा नयाँ आयाम थपिने विश्वास लगानीकर्तामा जागेको असर सेयर बजारमा परेको धेरैको ठम्याइ छ । सम्झौतामा पाइपलाइन निर्माणदेखि आयातनिर्यात सहजीकरणका लागि महङ्खवपूर्ण विषय समेटिएका छन् । त्यसैगरी सरकारले ल्याएको श्वेतपत्रपछि दुई दिन सामान्य बजार घटे पनि त्यसपछि वृद्धिमा तीव्रता देखिएको छ । चैत १६ गते श्वेतपत्र सार्वजनिक भएपछि लगानीकर्ताहरुले अर्थमन्त्रीले बजारको यथार्थ चित्रण गरेकाले त्यसको समाधान आगामी दिनमा हुने बताएर आत्तिनुपर्ने अवस्था नरहेको सार्वजनिक टिप्पणी गर्ने गरेका थिए । यहीबीचमा लगानीकर्ताले अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपाललाई भेटेर बजारको वस्तुस्थिति बताएका छन् ।
अर्थमन्त्री खतिवडाले लगानीकर्ता आत्तिनुपर्ने अवस्था नरहेको र कम्पनीको यथार्थ अवस्थिति हेरेर लगानी गर्न आह्वान गर्दै नीतिगत समस्या भए सल्टाउन पहल गर्ने बताएका थिए । त्यसैगरी गभर्नर नेपालले पनि लगानीकर्तालाई केन्द्रीय बैङ्कको नीतिले अप्ठ्यारो पारेको भए त्यसका लागि निकास खोज्न सकिने बताएका थिए । त्यसपछि लगानीकर्तामा थप विश्वास जागृत भएको र बजारमा सकारात्मक प्रभाव पर्न थालेको अनुमान छ । त्यस्तै, राष्ट्र बैङ्कले लगानीयोग्य पुँजी बढाउन विदेशी बैङ्कबाट कर्जा ल्याउन खुला गरेपछि ब्याजदर घट्ने लगानीकर्ताको अनुमान छ । र त्यसको असर पनि सेयर बजारमा परेको छ । आर्थिक वर्षको ९ महिना सकिएको छ र विगतको अनुभव हेर्दा अब सरकारी खर्चमा तीव्रता आउँछ । सरकारी खर्च बढेपछि बैङ्किङ प्रणालीमा तरलता (लगानीयोग्य रकम) बढ्ने गर्छ । यसको असर पनि अब सेयर बजारमा परेको छ । राजनीतिक अस्थिरता सकिएर स्थिर सरकार बनिसकेको र आगामी आर्थिक वर्षको बजेट निर्माण चरण सुरु भएकाले पनि लगानीकर्ता बजारप्रति थप सकारात्मक छन् । यद्यपि बजारमा परिवर्तन आउने गरी कुनै नीतिगत परिवर्तन भएको छैन ।
८५ अर्बको सेयर सूचीकृत
चैत सकिएसँगै सूचीकृत कम्पनीहरुको ९ महिनाको वित्तीय विवरणका आधारमा आगामी वर्ष लाभांश दिने/नदिने, दिए कति दिने क्षमता राख्नेजस्ता आकलनका आधारमा लगानी हुने गर्छ । खासगरी बैङ्क तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजीले प्रभावित देखिएको नेपालको सेयर बजार आगामी वर्ष चुक्ता पुँजीको असर खासै देखिनेछैन । किनभने यसअघिको नीतिअनुसार करिबकरिब सबै संस्थाले पुँजी पु¥याइसकेका छन् । त्यसैले अवको सेयर किनबेच नगद लाभांशमा आधारित हुने सम्भावना छ ।
पुँजी वृद्धिको प्रभावकै कारण यो एक वर्षमा दुई सामूहिक लगानी कोषबाहेक ८५ अर्ब ३० करोड (८५ करोड ३० लाख कित्ता)बराबरको नयाँ सेयर बजार थपिएको छ । वैशाखपछि बजार बढ्न थाल्ने र मूल्य उच्च भइसक्ने कारण कतिपय लगानीकर्ता चैत तेस्रो सातापछि बजार प्रवेश गर्ने भएकाले पनि बजारले हरियालीको सङ्केत गरेको बुझाइ छ । नेपालमा करिब १५ लाख लगानीकर्ता रहेको अनुमान गरिए पनि सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा भने करिब १२ लाख ‘डिम्याट खाता’ प्रयोगमा आएको देखिन्छ । डिम्याट खाता खोल्ने क्रममा दोहोरोपना बाँकी नै रहेकाले अझै वास्तविक लगानीकर्ताको सङ्ख्या यकिन छैन ।
एक वर्षमा लगानीकर्ताले गुमाए सवा ४ खर्ब
सेयर बजारका लगानीकर्ताले यो वर्ष ४ खर्ब १८ अर्ब गुमाएका छन् । एक वर्षको अवधिमा नेप्से परिसूचक ४ सय अङ्कले घट्दा लगानीकर्ताको ठूलो रकम गुमेको हो । गत वर्ष २०७३ चैत २७ गते सेयर बजारको कुल बजार पुँजीकरण १८ खर्ब ८३ अर्ब रुपैयाँ थियो । यो बजार पुँजीकरण घटेर २०७४ चैत २५ गतेसम्ममा १४ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको छ । नेप्सेको बजार पुँजीकरण गणना गर्दा सूचीकृत कम्पनीको सेयर मूल्यको महङ्खवपूर्ण भूमिका हुन्छ । बजार पुँजीकरणलाई सेयर बजारको सम्पत्तिका रुपमा बुझिन्छ । नेप्सेमा सूचीकृत सेयरहरुको कुल बजार मूल्य अर्थात् सम्पूर्ण सूचीकृत कम्पनीको सेयरमूल्य र सेयर सङ्ख्याको गुणनफल नै बजार पुँजीकरण हो ।
गत २०७३ साउन १२ गते हालसम्मकै उच्च १८८१ अङ्कमा पुगेको नेप्से यो वर्षको चैत १२ गते २६ महिना यताकै न्यून बिन्दु ११६८ सम्म झरेको थियो । २०७३ चैत २७ गते १६५१.६ अङ्कमा रहेको नेप्से परिसूचक २०७४ चैत २२ गतेसम्ममा ४०१ अङ्कभन्दा धेरैले घटेर १२५०.३९ अङ्कमा झरेको छ । यो वर्षमा सेयर बजार परिसूचक १६५० देखि ११५० को बीचमा रह्यो । यसबीचमा नयाँ अर्थमन्त्री खतिवडाले सार्वजनिक गरेका कतिपय विषयवस्तुलाई उचालेर बजारलाई अस्थिर बनाउने प्रयास पनि भएको छ । त्योभन्दा बढी त यस वर्ष प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको गरी पाँचओटा प्रत्यक्ष निर्वाचनले पनि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव पारेको छ । २०७४ वैशाख ३१ गते देखिएको सुरु भएको प्रत्यक्ष निर्वाचन प्रक्रिया मङ्सिर २१ गते आएर टुङ्गिएको थियो । यसले पनि सेयर बजारमा पटकपटक प्रभावित भएको छ र त्यसको परिणामलाई लिएर बजार प्रभावित तु¥याउन विभिन्न समूह सक्रिए भए । यसले पनि बजार घट्न मद्दत पु¥यायो ।
पुँजी वृद्धिका कारण सेयर बजारमा धितोपत्रको अधिक आपूर्ति भएको अवस्थामा सरकारी निकाय संवेदशील नभएको खण्डमा सेयर बजारले नयाँ न्यून बिन्दु बनाउने निश्चित छ । त्यस्तो भए वर्ष २०७५ मा लगानीकर्ताले थप गुमाउनुपर्ने अवस्था नआउला भन्न सकिन्न । सेयर बजारको सुधारका लागि कारोबार प्रणालीलाई पूर्ण प्रविधिमैत्री बनाई धितोपत्र औजारमा विविधीकरण गर्दै संस्थागत लगानीकर्ता बजार प्रवेश गराउनु आवश्यक छ ।
लगानीकर्ताले छिटो खोजेका दुई सुधार
लगानीकर्ताले तत्काल सेयर धितोकर्जामा खुकुलोपन चाहन्छन् । राष्ट्र बैङ्कले सेयर धितोमा ५० प्रतिशत मात्र कर्जा दिने व्यवस्था गरेको छ । सेयर धितोमा कर्जाको सीमा बढाए सेयर लगानीकर्ताका लागि तत्काल ‘मार्जिन कल’ नआउने विश्वास उनीहरुको छ । त्यसो भएमा सेयर कारोबारका लागि थप तरलता प्राप्त हुने र बजारमा सकारात्मक सन्देश जाने बुझाइ छ । त्यही भएर उनीहरुले सेयर धितोमा बजार मूल्यको ८० प्रतिशतसम्म कर्जा दिनुपर्ने माग केन्द्रीय बैङ्कसँग राखेका छन् । त्यस्तो भएमा आगामी दिन सेयर बजारमा थप सकारात्मक सन्देश जान्छ र बजार माथि चढ्छ । लगानीकर्ताले छिटो अपेक्षा गरेको विषय हो, अनलाइन कारोबार प्रणाली । अनलाइन कारोबार प्रणाली स्थापित भए बजारमा स्वाभाविक सकारात्मक सन्देश प्रवाहित हुन्छ । अनलाइन कारोबार प्रणालीमा १६ ओटा मोडलहरु छन् । ती सबै मोडलको परीक्षण गरेर ‘डेमो’ गर्न थालिएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले वैशाखसम्ममा अनलाइन कारोबार सुरु गर्ने योजना सुनाएका छन् । समयमै अनलाइन कारोबार प्रणाली सुरु भएमा सेयर बजारमा थप सुधारको सम्भावना छ ।