नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व सङ्कलन

विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४ सय ८५ जनाले अवलोकन गरिसकेका छन् । विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो ।

नेपाली विद्यार्थी ११ लाख ४५ हजार ५ सय १०, नेपाली सर्वसाधारण १३ लाख ६५ हजार ९१, चीनसहित सार्क मुलुकका एक लाख ५५ हजार ५ सय ७६ र अन्य मुलुकबाट ६५ हजार ३ सय ८ जनाले अवलोकन गरेका छन् । यसबाट २३ करोड २४ लाख ५१ हजार ५ सय ५ रूपैयाँ राजश्व सङ्कलन भएको छ ।

टिकट बिक्रीबाट २३ करोड नौ लाख ६७ हजार ३ सय र सवारी साधन पार्किङबाट १४ लाख ८४ हजार २ सय ५ रूपैयाँ आम्दानी भएको सङ्ग्रहालयका सूचना अधिकारी अद्वैत श्रेष्ठले जानकारी दिए । ‘नेपाली विद्यार्थीलाई २०, नेपाली सर्वसाधारणलाई सय, चीनसहित सार्क मुलुकका दर्शकलाई २ सय ५० र अन्य मुलुकका दर्शकलाई ५ सय रूपैयाँ लिँदै आएका छौँ’, उनले भने ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म मात्र दुई लाख ३५ हजार ५ सय ३४ दर्शकले सङ्ग्रहालय अवलोकन गरेकामा ८७ हजार ९ सय १८ विद्यार्थी, एक लाख २८ हजार ६२ सर्वसाधारण, १३ हजार २ सय १३ चीनसहित सार्क मुलुकका दर्शक र छ हजार ३ सय ४१ अन्य मुलुकका दर्शक छन् । यो वर्षमात्र २१ लाख तीन हजार ८ सय ३१ राजश्व सङ्कलन भएको छ । यस्तै आठ हजार ३ सय ९२ सवारी पार्किङबाट एक लाख ३५ हजार ८ सय ७५ सङ्कलन भएको छ ।

सङ्ग्रहालयले मोटरसाइकल पार्किङका लागि १०, कार र जिपका लागि २५ र माइक्रो, भ्यान, मिनीबस र बसका लागि ५० रूपैयाँ दस्तुर लिँदै आएको छ । मङ्गलबार र बुधबारबाहेक पाँच दिन सर्वसाधारणका लागि खुला गरिने सङ्ग्रहालय दिनको ११ देखि ३ बजेसम्म अवलोकन गर्न पाइने व्यवस्था गरिएको छ । सङ्ग्रहालयभित्र विभिन्न बैठक कोठा, राजारानीको शयन कक्ष, राजकीय पाहुनाले प्रयोग गर्ने शयन कक्ष, भान्छा कोठा, भोजन कोठा आदि गरी ५२ कोठा छन् । विभिन्न जिल्लाका नाममा निर्माण गरिएका १९ कक्षलाई पनि प्रदर्शनीमा राखिएको छ ।

नारायणहिटी दरबार सङ्ग्रहालयका कार्यालय प्रमुख रोहितकुमार ढुङ्गाना सङ्ग्रहालयलाई थप व्यवस्थित बनाउन सके दर्शकको सङ्ख्या वृद्धि हुने बताउँछन् । ‘विभिन्न कारणले दरबारभित्र रहेको श्रीपेचलगायतका सामग्री देखाउन सकिएको छैन, यस्ता वस्तुलाई समेत अवलोकनमा राख्न सके थप दर्शक भित्र्याउन सकिन्छ’, उनी भन्छन् । सङ्ग्रहालय घुम्न आउने दर्शकका लागि महानगरीय प्रहरी नारायणहिटी गारद गुल्मले सुरक्षा दिइरहेको छ । सङ्ग्रहालयभित्र झोला, क्यामरा, खानेकुरा लैजान तथा फोटो खिच्न मनाही गरिएको छ ।

गुल्मकी प्रमुख पूर्णिमा चन्दले दैनिक एक हजारदेखि तीन हजार दर्शकलाई जाँच गरेर सङ्ग्रहालयको अवलोकनका लागि पठाउने गरेको बताउँछिन् । ‘बिदाको दिनमा अलि धेरै दर्शक अवलोकनमा आउने गरेका छन्’, उनी भन्छिन् । अच्युत रेग्मी / रासस