सेयर किन्न र बेच्न अब घरबाटै

यो प्रणाली प्रारम्भसँगै सेयर लगानीकर्ताले शेयर खरिद बिक्रीका लागि ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ ।

नेपालमा पनि इन्टरनेटमार्फत सेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणालीको अभ्यास सुरु भएको छ ।

क्रिस्टल कञ्चनजङ्गा सेक्युरिटी प्रालिमा आज आयोजित समारोहमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले उक्त प्रणाली शुभारम्भ गरेका हुन् । यो प्रणाली प्रारम्भसँगै सेयर लगानीकर्ताले शेयर खरिद बिक्रीका लागि ब्रोकर कार्यालय धाउनुपर्ने झन्झट अब अन्त्य भएको छ ।

छिट्टै पूर्ण स्वचालित सेयर खरिद बिक्री गर्न आदेश दिन सक्ने प्रणाली नेपालको पुँजीबजारमा भित्रने प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ । सो अवसरमा नेप्सका महाप्रबन्धक चन्द्रसिंह साउदले नेपाली पुँजीबजारको अपार सम्भावना रहेको बताए ।

इन्भेष्टमेन्ट फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेललगायतले प्राथमिक बजारको विकासमा हालसम्म उल्लेख्य काम भए पनि दोस्रो बजारको विकासमा आवश्यक ध्यान पुग्न नसकेको धारणा व्यक्त गरे ।

आयोजक संस्था क्रिस्टल कञ्चनजङ्गा सेक्युरिटी प्रालिका प्रबन्ध निर्देशक प्रियराज रेग्मी र सञ्चालक शीतल कोइरालाले पुँजी बजारको विकासका लागि धितोपत्र दलाल व्यवसायीले नियमन निकाय र सरोकारवालासँग आवश्यक छलफल गरेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

धितोपत्र बोर्डमा दर्तामा रहेका ब्रोकरको सङ्ख्या ५० छ । देशका विभिन्न सहरमा शाखा खोलेर उनीहरूले सेवा प्रवाह गरिरहेका छन् । नेपालमा करिब १५ खर्ब रूपैयाँको बजार पुँजीकरण छ । मुलुकको जनसङ्ख्याको पाँच प्रतिशतभन्दा थोरै व्यक्ति पुँजी बजारमा समाहित रहेको बताइएको छ ।