३४ अर्ब ९१ करोडका लगभग २ सय वैदेेशिक उद्याेग

विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १ सय ८० उद्योग दर्ता भएका हुन् ।

उद्योग विभागले १ सय ९४ उद्योगबाट ३४ अर्ब ९१ करोड सात लाख रूपैयाँबराबरको लगानी भित्र्याएको छ । विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १ सय ९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १ सय ८० उद्योग दर्ता भएका हुन् ।

विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १ सय ९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु तथा साना उद्योग विभागले दर्ता गर्दै आएका छन् ।

दर्ता भएका उद्योगमध्ये कृषिजन्य ११, ऊर्जामूलक चार, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १७, उत्पादनमूलक ३९, खनिज एक, सेवामूलक ६२ र पर्यटन ६० उद्योग छन् । १० करोड रूपैयाँभन्दा सानो लगानीका उद्योगलाई साना उद्योग, १० करोडदेखि २५ करोड लगानीसम्मका मझौला र २५ करोडभन्दा बढी लगानी भएका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ । विभागमा हालसम्म झन्डै सात हजार ५ सय उद्योग दर्ता भएका छन् ।

विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले देशमा तीनै तहको निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी बढेको बताए । ‘अघिल्ला वर्षको तुलनामा यो वर्ष उद्योग क्षेत्रमा लगानी बढेको छ,’ उनी भन्छन् । रासस