सम्पत्ति शुद्धीकरणमा बेनामी उजुरीको चाङ, व्यापारीमा त्रास

उद्योगी मुरारका भन्छन्, ‘आफू इमानदार छु भन्ने प्रमाणित आफै गर्न जानुपर्ने कुरा उचित होइन, कुनै उजुरीका आधारमा राज्यले छानबिन गर्ने हो भने प्रमाणित पनि राज्यले नै गर्नुपर्छ । राज्यले गलत प्रमाणित गरे हामी कारबाहीको भागीदार हुन तयार छौं ।’

नक्सालस्थित एक ट्राभल कम्पनीका सञ्चालक दिनहुँ दर्जनौँ फोन उठाउँछन् । तर, केही समयअघि आएको एक फोनले उनलाई नराम्रोसँग झस्काइदियो । त्यो फोन थियो, सम्पत्ति शुद्धीकरण विभागका कर्मचारीको । ती कर्मचारीले उनलाई भने– तपाईंले अवैध रुपमा सम्पत्ति कमाउनुभएको छ भन्ने उजुरी परेको छ ।

त्यसपछि उनी विभाग पुगे र थाहा पाए, उनीविरुद्धको त्यो उजुरी बेनामी रहेछ । तीनपटकसम्म विभाग धाएपछि उनलाई विभागकै कर्मचारीले सल्लाह दिए– ‘सेटिङ’ मिलाउनुुस् । आफूले कुनै गल्ती नगरेको भए पनि झन्झटिलो दिनचर्याबाट छुटकारा पाउन उनले ती कर्मचारीको सल्लाह माने ।
‘न मेरो कुनै अवैध सम्पत्ति हुनु, न कुनै अनैतिक काम गरेर मैले कमाउनु,’ उनी भन्छन्, ‘दुःख दिने नियत रहेछ भन्ने बुझेँ र कुरा मिलाएँ ।’
उनलाई जस्तै बेनामे उजुरीकर्ताले सम्पत्ति शुद्धीकरणमा अरु व्यवसायीविरुद्ध पनि उजुरी गरेका छन् । २०७३ साल फागुन महिनायता दुई दर्जनभन्दा बढी त्यस्ता उजुरीमाथि विभागले अनुसन्धान सुरु गरेको छ ।
जेहोस्, नक्सालका ट्राभल एजेन्सीका सञ्चालक र अन्यको विषयमाथि अध्ययन गर्दा दुई कुरा देखिएको छ; गैरकानुनी रुपमा सम्पत्ति आर्जन गर्नेहरुको सङ्ख्या धेरै छ र व्यक्तिगत रिसिइबी साँध्न बेनामी उजुरी दिने प्रचलन पनि निकै बढेको छ । विभागका अनुसार हुलाकबाट समेत यस्ता उजुरी पर्न थालेका छन् ।

तर, विभागले बेनामी उजुरीको सङ्ख्या न्यून रहेको बताउँछ र यस विषयमा मुख खोल्न चाहँदैन । अर्कोतिर निजीक्षेत्र बेनामी उजुरी निकै बढेको र आफूहरुले अनावश्यक दुःख पाएको गुनासो गरिरहेको छ ।
२०६४ सालमा ‘ब्ल्याक मनी’लाई ‘ह्वाइट मनी’ बनाउनबाट रोक्न सम्पत्ति शुद्धीकरण निवारण ऐन बनाइयो । ऐनअनुसार उजुरी गर्दा उजुरीकर्ताले नाम र ठेगाना गोप्य राख्न खोजेमा अनुसन्धान अधिकृतले नाम र ठेगानाको सट्टा सङ्केत नम्बर राखेर उजुरी लिन सक्ने प्रावधान छ । यही प्रावधानअनुसार विभागमा बेनामे उजुरीको चाङ बढेको छ । र, यही प्रावधानका कारण आफूहरुले अनावश्यक दुःख पाएको व्यवसायीले गुनासो गर्न थालेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले बेनामे उजुरीका कारण व्यवसायी आतङ्कित बनेको बताए । ‘एकातिर व्यवसायीलाई आतङ्क सिर्जना गर्ने काम भइरहेको छ भने,’ मुरारका भन्छन्, ‘अर्कोतिर अनुसन्धानमा प्रभाव पर्ने मात्र होइन, विभाग र व्यवसायी दुवैको समय यसै खर्च भइरहेको छ ।’

यस्तो किन भने बेनामी उजुरीको प्रावधानलाई टेकेर विभागकै कर्मचारीले पनि व्यवसायीलाई दुःख दिने गरेका छन् । ‘आफै उजुरी हालेर आफै अनुसन्धान गर्ने नाममा विभागका कर्मचारीले पनि व्यवसायीलाई अनावश्यक दुःख दिइरहेका छन्,’ उद्योग परिसङ्घसँग आबद्ध एक व्यवसायी बताउँछन् ।

तर, विभागमा आएका यस्ता बेनामे उजुरीले अनुसन्धानमा धेरै सहयोग पुगेको विभागको तर्क छ । ‘हो, केही उजुरी फेक पनि छन्् । तर, अधिकांश यस्ता उजुरीले अनुसन्धानमा पनि निकै सहयोग पुगेको छ,’ विभागका निर्देशक विनोद लामिछाने बेनामी उजुरीलाई रोक्न नसकिने बताउँछन्, ‘विभागमा बेनामे उजुरीको चाङ लागे पनि विभागले कुन सत्यतासँग नजिक छ भन्ने अनुसन्धान गरेर मात्र प्रक्रिया अगाडि बढाउँछ ।’ लामिछाने थप्छन्, ‘बेनामे उजुरीको अध्ययन, अनुसन्धान गर्नु विभागको दायित्व हो । रिस्क बेसिस अप्रोचबाट यस्ता उजुरीको अनुसन्धान गर्नुपर्छ ।’

के हो सम्पत्ति शुद्धीकरण ?

सरल शब्दमा बुझ्दा गैरकानुनी रुपमा आर्जित सम्पत्तिलाई वैध बनाउने प्रयास नै सम्पत्ति शुद्धीकरण हो । सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था वित्तीय कारबाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स) ले सम्पत्ति शुद्धीकरणलाई ‘अपराधजस्तो नराम्रो स्रोतबाट प्राप्त आम्दानीलाई लुकाउन गरिने प्रक्रिया’ भनी परिभाषित गरेको छ । अवैध सम्पत्तिलाई वैध बनाउनबाट रोक्ने अन्तर्राष्ट्रिय कानुनको पालना गर्दै नेपालले पनि छुट्टै विभाग गठन गरेर अवैध सम्पत्तिलाई वैध बनाउनबाट रोक्न अध्ययनअनुसन्धान गर्न थालेको हो ।

सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ आएपछि गैरकानुनी रुपमा आर्जित सम्पत्तिलाई शुद्धीकरण गर्नबाट रोक्ने प्रयास थालियो । ऐनले गैरकानुनी रुपमा आर्जित सम्पत्तिलाई कानुनी आय बनाउने अर्थात् कालो धनलाई सेतो धन बनाउने प्रक्रियाको सबै प्रयास एवम् क्रियाकलापलाई सम्पत्ति शुद्धीकरणको स्रोतका रुपमा लिन्छ ।

आतङ्ककारी कार्य र आतङ्कवादमा भएको वित्तीय लगानी, लागुऔषध कारोबार, भ्रष्टाचार, अवैध हातहतियारको कारोबार, मानव तस्करी तथा अमूल्य वस्तु, जनावर र बोटविरुवाको तस्करीलाई अन्तर्राष्ट्रिय रुपमै सम्पत्ति शुद्धीकरणको स्रोत मानिएको छ । यसैगरी, सीमा तस्करी, चिठ्ठा ठगी, माफिया सञ्चालन, हुन्डी व्यापार, क्यासिनो, अपहरण र फिरौती, चोरी र डकैती (पाइरेसी), राजस्व छली कुनै पनि गैरकानुनी कार्य वा कालो धन सेतो पार्ने जुनसुकै कार्यलाई सम्पत्ति शुद्धीकरणको स्रोत मानिएको छ । ऐनले आपराधिक सङ्गठनहरुका सदस्यहरु, भ्रष्ट कर्मचारीहरु, लागुपदार्थका कारोबारीहरु, आतङ्ककारीहरु, गैरकानुनी व्यापारी र असामाजिक क्रियाकलापमा लागेका व्यक्तिहरुका गतिविधि सम्पत्ति शुद्धीकरणका प्रमुख स्रोत भनी परिभाषित गरेको छ ।

के भन्छ निजी क्षेत्र ?

सम्पत्ति शुद्धीकरणका नाममा नाम र ठेगाना केही पनि नखुलाई जोकसैले पनि उजुरी दिन सक्छ । यही बेनामी प्रक्रिया आफूलाई दुःख दिने नियतको प्रमुख आधार भएको निजीक्षेत्रको गुनासो छ । बेनामी उजुरी परेपछि विभागले उजुरी परेका व्यवसायीलाई बोलाइहाल्ने भएकाले पनि आफूहरुले गुनासो गर्नुपरेको निजीक्षेत्र बताउँछ । ‘यो दुःख दिने कामबाहेक केही छैन,’ नेपाल उद्योग वाणिज्य महासङ्घका एक कार्यकारी सदस्य आरोप लगाउँछन्, ‘कहिलेकाहीँ त विभागकै कर्मचारी उजुरी हाल्छन्, विभागमा बोलाउँछन् र केही पैसा झार्ने प्रयास गर्छन् अनि प्रक्रिया सकियो भन्छन् ।’

उनी यसलाई थप अथ्र्याउँछन्, ‘हामीकहाँ कसको सम्पत्ति कति छ भन्ने स्पष्ट छैन । किनकि, कृषि आम्दानीमा कर लाग्दैन, घर भाडामा १० प्रतिशत तिरे पुग्छ । पुरानो व्यापार–व्यवसायको आम्दानी राख्ने सिस्टम थिएन । कतिपय कर तिरेको भए पनि रेकर्ड छैन । कुनै समय १ लाखमा किनेको जग्गा अब दुई करोडको भइसक्यो । तर, रेकर्ड राख्ने सिस्टम भएन । त्यस्तो रेकर्ड नभएपछि विभागले सम्पत्ति कहाँबाट ल्याइस् भन्छ, जसको जवाफ हुँदैन अनि यसलाई अर्कै अर्थ लगाइन्छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ भन्छन्, ‘बेनामी उजुरीको खासमा औचित्य छैन । राज्य आफै प्रभावकारी भएर अनुसन्धान गर्न सक्छ । यस्ता उजुरीले झन् ब्ल्याकमेलिङ बढाएको छ, सम्पत्ति शुद्धीकरण निवारण के हो भन्ने विषयमा विभागकै कर्मचारी र व्यवसायी सबैलाई सचेत बनाउन आवश्यक छ ।’

के हो त समाधान ?

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष पशुपति मुरारका भन्छन्, ‘सबैको सम्पत्ति एकपटक अभिलेखीकरण गर्न दिनुपर्छ । कुनै व्यक्तिसँग भएको सम्पत्तिको विवरण, सेयर, सुनचाँदी, जग्गा, व्यवसायमा लागेको लागतको रेकर्ड राख्न दिनुपर्छ । त्यसपछि कुनै पनि व्यक्तिको सम्पत्ति धेरै तलमाथि भयो भने अध्ययन गर्न सजिलो हुन्छ, जायज पनि हुन्छ । सम्पत्ति बढेको छ । तर, कर तिरेको छ या छैन भन्ने अध्ययन गर्न पनि सजिलो हुन्छ ।’

मुरारका अन्तर्राष्ट्रिय अभ्यासको पनि उदाहरण दिन्छन्, ‘भारतमा सबैको सम्पत्तिको विवरण हुन्छ । अन्य मुलुकमा पनि सम्पत्तिको विवरण राख्ने व्यवस्था छ । विवरणभन्दा सम्पत्ति तलमाथि छ भने सरकारले सम्पत्तिको विवरण खोज्छ, नाजायज भए कारबाही पनि गर्छ । हाम्रोमा पनि यस्तो व्यवस्था हुनुपर्छ ।’

अधिकांश व्यवसायी कर तिरिरहेको व्यक्तिलाई राज्यले दुःख दिन नमिल्ने तर्क गर्छन् । एक व्यक्तिको कसुरलाई उदाहरण बनाएर अरुलाई पनि दुःख दिने प्रचलन बढेको र यसले थप समस्या निम्त्याएकाले एकपटक सम्पत्ति अभिलेखीकरण गर्न दिनुपर्ने व्यवसायीको निष्कर्ष छ ।

उद्योगी मुरारका भन्छन्, ‘आफू इमानदार छु भन्ने प्रमाणित आफै गर्न जानुपर्ने कुरा उचित होइन, कुनै उजुरीका आधारमा राज्यले छानबिन गर्ने हो भने प्रमाणित पनि राज्यले नै गर्नुपर्छ । राज्यले गलत प्रमाणित गरे हामी कारबाहीको भागीदार हुन तयार छौं ।’