त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको प्रवेश पास ५ लाखसम्ममा बिक्री

विमानस्थलभित्र प्रवेश गर्न आवश्यक पर्ने पासलाई बिचौलियाले प्रयोग गरेर किनबेच गरिरहेका हुन् । कार्गाे कम्पनी, एयरलाइन्स, हेलिकप्टर, विमानस्थलभित्र विज्ञापनका लागि राखिएका होर्डिङ बोर्डका ठेकेदार, रेष्टुरेन्टलगायतले नियमित प्रवेश पास मिलाउन विमानस्थल प्रशासनलाई १ लाखदेखि ५ लाख रुपैयाँसम्म बुझाउने गरेका छन् ।

फितलो सुरक्षाका कारण पटक पटक विभिन्न घटना घटिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेश पास किनबेच हुने गरेको छ ।

विमानस्थलभित्र प्रवेश गर्न आवश्यक पर्ने पासलाई बिचौलियाले प्रयोग गरेर किनबेच गरिरहेका हुन् । कार्गाे कम्पनी, एयरलाइन्स, हेलिकप्टर, विमानस्थलभित्र विज्ञापनका लागि राखिएका होर्डिङ बोर्डका ठेकेदार, रेष्टुरेन्टलगायतले नियमित प्रवेश पास मिलाउन विमानस्थल प्रशासनलाई १ लाखदेखि ५ लाख रुपैयाँसम्म बुझाउने गरेका छन् । कम्पनीमा आवश्यकताभन्दा बढी पास निकाल्ने र बाँड्ने पनि गरिएको छ । आवश्यक पर्ने पास निकाल्न पनि पैसा खर्च गर्नुपर्ने बाध्यता रहेको पर्यटन व्यवसायीहरुले बताएका छन् ।

आन्तरिक एयरलाइन्स कम्पनीका एक सञ्चालकले विमानस्थलको पास चरम दुरुपयोग भएको बताए । ‘हामीले नियमसङ्गत पास माग्दा पनि १ लाख रुपैयाँ मागियो,’ उनले भने । केही महिनाअघि नयाँ जहाज थपेको कम्पनीले नयाँ कर्मचारीका लागि पास बनाउन निवेदन दिदाँ विमानस्थल कर्मचारीले पैसा मागेको उनले बताए । ‘हामीले पछि एक कार्गाे व्यवसायीसँग बुझ्दा उनले ५ लाख खर्च गरेर पास निकालेको पायौं,’ उनले भने ।

विमानस्थलभित्र बिचौलिया प्रवेश गरेर पर्यटकलाई होटल, ट्याक्सी मिलाउने नाममा दुख दिने, कार्गाेको सामानमा कमिसन खाने, चार्टर हेलिकप्टरका यात्रुलाई उडानका लागि मिलाइदिने र चर्काे शुल्क लिने गरेको पर्यटन व्यवसायी गणेश शर्माले बताए । ‘कहिलेकाँही विमानस्थलभित्र नै पर्यटक अलपत्र परेको, लुक्लाको उडान नहुँदा उनीहरुलाई समन्वय गर्नुपर्ने अवस्थामा हामी पर्यटन व्यवसायी जान पाउँदैनौं तर विचौलिया भने निर्धक्क पास लिएर जाने र हामीलाई पनि पास मिलाइदिने भन्दै आउने गरेका छन्,’ उनले भने ।

आवश्यकभन्दा बढी पास वितरण भएकै कारण यूएस बङ्गला एयरलाइन्सको जहाज दुर्घटना हुँदा विमानस्थलभित्र बाहिरका मान्छेको भीड लागेको थियो । विमानस्थलभित्र अहिले पनि ट्याक्सी चालकदेखि लिएर होटल व्यवसायीसम्मको पहुँच छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पास वितरण र पासको दुरुपयोगको गुनासो आफूकहाँ पनि आइपुगेको बताए । ‘म आएको ३ महिना मात्र भयो, म आएपछि पास वितरणमा कडाइ गरेको छु,’ उनले भने । यसअघि कसरी पास वितरण भयो र कुन कम्पनीले कसरी लगेका छन् भन्ने विषयमा मातहतका कर्मचारीलाई खोज्न लगाएको उनले बताए ।

दुई दिनअघि मात्रै एक रेमिट्यान्स कम्पनीले चारओटा पास आवश्यक पर्यो भनेर ल्याएको निवेदनमा आफूले पास नदिई फिर्ता पठाएको उनले बताए । ‘पास वितरणमा कम्पनी र कर्मचारीको आर्थिक चलखेलका विषयमा गम्भीर भएर अनुसन्धान गर्छाैं,’ क्षेत्रीले भने । कुनै न कुनै कम्पनीले कर्मचारी हो भन्दै सिफारिस गरेर पठाउने भएकाले अबदेखि ती कर्मचारी ती कम्पनीमा छन् या छैनन् खोजेर र आवश्यकताभन्दा बढी पास भएका कम्पनीका पास फिर्ता लिने उनले बताए ।