डिस्टोर्सन तथा आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्रमा चक्रीय प्रभाव पार्छ: सीर्इअाे अनुपमा खुँजेलीसँगकाे अन्तर्वार्ता

पुँजीमा वृद्धिसँगै लगानीकर्ताले प्रतिफलको अपेक्षा पनि बढाएका छन् । पुँजी वृद्धिले एउटै बैङ्कले एक खर्ब रुपैयाँसम्मको व्यवसाय विस्तार गर्ने क्षमता देखिए पनि व्यवसाय भने बढेको छैन । त्यसैले सबैलाई व्यवसाय बढाउनुपर्ने बाध्यता छ । व्यवसाय बढाउन स्रोत आवश्यक हुन्छ । कुनै बैङ्कले सानो बजारमा छलाङ मार्न खोज्दा बजारमा विच्छेद (डिस्टोर्सन) आउँछ ।

सन् १९९१ मा स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा सहायक तहबाट बैङ्किड करियर सुरु गरेकी अनुपमा खुँजेलीले २७ वर्षपछि नेपालको ८ दशक लामो बैङ्किङ इतिहासमा निजी क्षेत्रकाे बैङ्कमा पहिलो पटक महिला प्रमुख कार्यकारी अधिकृतका रुपमा गत साताबाट मेगा बैङ्कमा जिम्मेवारी सम्हालेकी छन् । मेगा बैङ्कको स्थापनाकालदेखि सक्रिय उनले त्यहाँ महाप्रबन्धक तथा कामु सीईओको जिम्मेवारी कुशलतापूर्वक निभाएकै कारण मेगाले उनलाई उच्च जिम्मेवारी दिएको हो । सुरुका १३ वर्ष स्ट्यान्डर्ड चार्टर्डमा बिताएकी उनले त्यहाँ प्रबन्धक (ग्लोबल मार्केट प्रमुख)सम्मको जिम्मेवारी सम्हालिन् । त्यसपछि उनी वरिष्ठ प्रबन्धकका रुपमा नबिल बैङ्कमा गईन् र त्यहाँ ग्लोबल मार्केट एन्ड इन्भेस्टमेन्टको प्रमुखका रुपमा जिम्मेवारी लिइन् । नबिलमा ६ वर्ष बिताएकी खुँजेली नायब महाप्रबन्धकका रुपमा ८ वर्षअघि मेगामा सुरुआती जिम्मेवारी लिएकी थिइन् । ईएमबीएसम्मको अध्ययन सकाएकी खुँजेलीले आफ्नो जिम्मेवारीलाई पहिलो प्राथमिकतामा राख्ने गरेको बताउँछिन् । आठ दशकमा वाणिज्य बैङ्कले पहिलो महिला सीईओको जिम्मेवारी पाउनु गौरवको विषय भएको बताउने उनीसँग क्यापिटल नेपालका लोकबहादुर चापागाईं र प्रकटकुमार शिशिरले गरेको लामो कुराकानीको सम्पादित अंश

नेपालले ८ दशक लामो बैङ्किङ इतिहासमा निजी क्षेत्रकाे बैङ्कमा पहिलो पटक महिला बैङ्कर पाएको छ । तपाईंले कस्तो अनुभव गर्नुभएको छ ?

यो एउटा गौरवको कुरा हो । बैङ्किङ् क्षेत्रको सबैभन्दा माथिल्लो तहमा सञ्चालक समितिले विश्वास गरेर जिम्मेवारी दिएको छ । यो मेरा लागि एकदमै ठूलो अवसर हो । र अर्को, यस क्षेत्रमा धेरै चुनौती पनि छन् । चुनौती महिलाका लागि मात्रै होइन, पुरुष प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि पनि उत्तिकै छ । तर, पहिलो महिला सीईओ भएका कारण मेरो सफलता वा असफलताले भोलि यही क्षेत्रमा करियर खोजिरहेका महिलाका लागि विश्वास गर्ने कि नगर्ने भन्ने नैतिक प्रश्न बन्न सक्छ । त्यसैले मैले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउनु नै महत्त्वपूर्ण चुनौती हो । मेरो सफलताले भोलिका दिनमा महिलाहरुका लागि पनि अवसर रहेछ भनेर अघि बढ्न हौसला/प्रेरणा मिल्छ ।

बैङ्कको टेलरदेखि कायममुकायम सीईओसम्मको भूमिका निभाउनु भयो र अब सीईओको भूमिका निभाउने चरणमा हुनुहुन्छ । अवसर र पेसाका हिसाबले महिलाहरुका लागि वित्तीय क्षेत्र कस्तो हो ?

वित्तीय क्षेत्र महिलाहरुका लागि प्रतिष्ठापूर्ण काम (प्रेस्टिजियस जब) हो । विगतमा धेरै कम महिलाहरु मात्रै वित्तीय क्षेत्रमा क्रियाशील थिए । तर, पछिल्लो समयमा यसप्रति महिलाहरुको आकर्षण बढ्दो छ । वित्तीय क्षेत्रको काम महिलाका लागि सुरक्षित, प्रतिष्ठापूर्ण र सुहाउँदो छ । ‘इन्टिग्रिटी, फ्रड र फर्जरी’का कुरा महिलाहरुका हकमा निकै कम हुन्छन् । यद्यपि फाट्टफुट्ट यस्ता घटना आएका पनि छन् । महिलाहरुले वित्तीय क्षेत्रमा आफ्नो क्षमतालाई राम्रोसँग प्रयोग गर्न सक्छन् । पछिल्लो समय हेर्यो भने अधिकांश पुरुषहरु मुलुकबाहिर गइरहेका छन् र महिलाहरु पनि घरमा मात्रै सीमित नभएर कामको खोजीमा आउन थालेका छन् । धेरै महिलाहरुमा मैले केही गर्नुपर्छ भन्ने भावना विकास भएको छ । अहिले सहायक तहबाट नै महिलाहरु बैङ्कमा प्रवेश गरेका देखिन्छन् । नेपालमा जति पनि महिला क्रियाशील छन् तीमध्ये अधिकांशले वित्तीय क्षेत्रलाई सुरक्षित र राम्रो मानेका छन् । अघिल्लो पुस्तामा मेगा बैङ्कमा सीईओ र डेपुटी सीईओ, कर्पोरेट हेड, डिपोजिट तथा ट्रेजरी हेडमा महिला छन् । त्यसैगरी सनराईज, ग्लोबल आईएमईलगायत केही बैङ्कमा गन्न सकिने हिसाबले अलिअलि मात्रै महिला देखिएका छन् । तर, अर्को पुस्ता हेर्दा भने महिलाहरु धेरै नै आएका छन् । त्यसैले आगामी दिनमा वित्तीय क्षेत्रमा महिलाहरुको राम्रो उपस्थिति हुन्छ भन्ने मेरो विश्वास छ ।

धेरै लामो समय भयो, मेगा र टुरिजम डेभलपमेन्ट बैङ्कको मर्जर प्रक्रिया सुरु भएको । एकीकृत हुन निकै गाह्रो÷चुनौतीपूर्ण देखियो नि, किन ?

अब धेरै समय लाग्दैन । अन्तिम स्वीकृतिका लागि केन्द्रीय बैङ्कमा निवेदन दिइसकेका छौं र नेपाल राष्ट्र बैङ्कका प्रश्नहरुको उत्तर पनि दिइसकेका छौं । त्यसैले राष्ट्र बैङ्कले स्वीकृति दिनासाथ एकीकृत कारोबार गर्न दुवै बैङ्क तयार भएर बसेका छौं, र सम्भवतः वैशाखभित्रै यो काम सम्पन्न हुन्छ । अब प्रक्रिया सकिइसकेकाले विगतमा किन समय लाग्यो भनेर कुरा गर्नुको कुनै अर्थ छ र !

समयसमयमा तपाईंहरुलाई आरोप लाग्ने गर्छ,– व्यवस्थापनको कमजोरीका कारण तरलता (लगानीयोग्य रकम) अभाव वा अधिक तरलताको समस्या छिटो छिटो आउने गरेको छ । के बैङ्कहरुको व्यवस्थापन असफल भएकै हो ?

वित्तीय क्षेत्रलाई मैले करिब तीन दशकदेखि हेरिरहेकी छु । नेपालको समग्र अर्थतन्त्रको आकार नै सानो छ । आन्तरिक अर्थतन्त्रमा पनि समस्या छ । मैले वित्तीय क्षेत्रमा काम सुरु गर्दा ट्रेजरी बिलको ब्याजदर १३ प्रतिशत र बचतको ब्याजदर १० प्रतिशत थियो । तर, पछि यसरी ब्याजदरमा उतारचढाव आयो कि टे«जरी बिलको ०.५ प्रतिशतभन्दा तल र बचतको ब्याजदर १ प्रतिशतसम्म झर्न पुग्यो । यो आर्थिक चक्र (इकोनोमिक साइकल) हो । अर्कोतिर नेपालमा दोस्रो बजारको विकास पनि हुन सकेको छैन । सरकारी ऋणपत्र, बन्डहरु कारोबारमा आउँदैनन् । दोस्रो बजारका उपकरणहरु पनि नेपालमा छैनन् । अहिले सबै बैङ्कहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याइएको छ । पुँजीमा वृद्धिसँगै लगानीकर्ताले प्रतिफलको अपेक्षा पनि बढाएका छन् । पुँजी वृद्धिले एउटै बैङ्कले एक खर्ब रुपैयाँसम्मको व्यवसाय विस्तार गर्ने क्षमता देखिए पनि व्यवसाय भने बढेको छैन । त्यसैले सबैलाई व्यवसाय बढाउनुपर्ने बाध्यता छ । व्यवसाय बढाउन स्रोत आवश्यक हुन्छ । कुनै बैङ्कले सानो बजारमा छलाङ मार्न खोज्दा बजारमा विच्छेद (डिस्टोर्सन) आउँछ । सरकारी खर्चमा पनि खासै सुधार आउन सकेको छैन र आर्थिक वर्षको अन्त्यमा मात्रै खर्च गर्ने प्रवृत्ति छ । त्यसले नेपाली अर्थतन्त्रमा चक्रीय प्रभाव पनि पार्ने गरेको छ । अर्कोतिर विप्रेषण आप्रवाह (रेमिट्यान्स) वृद्धिको अवस्था पनि विगतको तुलनामा कम छ । यसको असर पनि स्रोतमा परेको छ । त्यसैले नियामकीय व्यवस्थाका कारण बैङ्कहरुको चुक्ता पुँजी ८ अर्ब पु¥याइएकाले वृद्धिमा जानुपर्ने बाध्यता छ । तर स्रोतको अवस्था त उस्तै हो ।

भन्न त तपाईहरु पुँजी ८ अर्ब छ भन्नुहोला । तर, बैङ्कहरुका वृद्धिका आधार, योजना र क्रियाकलाप हेर्दा केही समयको अन्तरालमा वित्तीय क्षेत्र धरापमा पर्छ भन्ने टिप्पणी भइरहेको छ । यसबारे के भन्नुहुन्छ ?

बैङ्कहरुमा तत्काल समस्या आउँदैन, किनभने सबै बैङ्कले अनिवार्य रुपमा आठ अर्ब रुपैयाँ पु¥याएकाले उनीहरुको सामथ्र्य (स्ट्रेन्थ) बढेको छ । अहिले राष्ट्र बैङ्क पनि नियमनको काममा तीव्रताका साथ लागेको छ । कुनै बैङ्कले बाटो बिराएर केही तलमाथि गर्ने अवस्था देखिएमा केन्द्रीय बैङ्कले तत्कालै सल्लाहसुझाव देखि अन्य नियमनका विधीहरु प्रयोग गर्छ । माओवादी द्वन्द्वकालमा समेत बैङ्कहरुले आफ्नो जिम्मेवारीमा विचलित नभई काम गरे । अहिले अवस्था फेरिएको छ । यदाकदा समस्या त जहिले पनि आइरहन्छ तर, प्रणाली नै जोखिममा पर्ने गरी वित्तीय क्षेत्रमा समस्या आउँछ भन्ने मलाई विश्वास छैन । जुन बैङ्कले सङ्कटको समयमा आफूलाई स्थिर राख्न सक्छ, त्यसले राम्रा दिनमा राम्रै प्रगति गर्छ । अप्ठ्यारा दिनमा बैङ्कलाई स्थिर राख्न सक्नुपर्छ र मुलुकको आर्थिक विकासले गति लिएका बेला बैङ्कले प्रगति गर्न सक्नुपर्छ । त्यसका लागि सबै सरोकारवालाहरु चनाखो रहनुपर्छ ।

पहिलो त मुलुकको रेटिङ भएको छैन । अर्कोतिर नेपालका बैङ्कहरुमा बढी सुशासनका समस्या भएकाले बैङ्किङ जोखिम पनि बढी देखिन्छ । यस्तो अवस्थामा विदेशबाट ऋण ल्याएर नेपालमा व्यावसाय विस्तार गर्ने कुरा कतिको सजिलो छ ?

सबैभन्दा पहिलो त नेपाल ‘इरेटेड’ मुलुक हो । यहाँ विदेशी बैङ्कहरुले लगानी गर्न देशको जोखिम (कन्ट्री रिस्क) पनि हेर्ने गर्छन् । बैङ्कको एउटा जोखिम हुन्छ र कन्ट्री रिस्क पनि सँगै जोडिन्छ । हामीले विदेशी पैसा नेपालीमा रुपान्तरण (कन्भर्ट) गरेर लगानी गर्नुपर्छ । यसले सटही जोखिम निम्त्याउँछ । त्यसका लागि ‘हेजिङ’ गर्नुपर्छ जुन सुविधा नेपालमा छैन र यो अन्ततः महँगो साबित हुने जोखिम छ । तरपनि सबै बैङ्कहरुजस्तै हामी पनि विदेशी लगानी ल्याउने तयारी गर्दैछौं । त्यसका लागि विदेशी बैङ्कहरुसँग कुराकानी भइरहेको छ । यो स्रोतका हिसाबले नयाँ ढोका हो ।

एकातिर बैङ्कहरुले ग्राहकलाई थाहा नदिई ऋणको ब्याज बढाउँछन् भने अर्कोतिर सिधै बढेको ब्याजका आधारमा किस्ता तिर्ने क्षमता हुँदैन । यस्तो बेला ऋणी त असफल हुने भयो नि, होइन ?

बैङ्किङ क्षेत्र जति पारदर्शी छ, त्यति व्यावसायिक क्षेत्र छैन । जुन ग्राहकले बैङ्कबाट ऋण लिइरहेका छन्, उनीहरुले बैङ्कको ब्याज तिर्न नसकेको अवस्था छैन । व्यावसायीहरुको हिसाब कस्तो छ भन्नेतिर नजाउँ तर, उनीहरुले राम्रो प्रतिफल पाइरहेका छन् र वार्षिक १४÷१५ प्रतिशत ब्याज तिर्ने क्षमता राख्छन् । धेरैपछि पहिलो पटक निक्षेपकर्ताले पनि राम्रो ब्याजदर पाइरहेका छन् । धेरै वर्ष हामीले मुद्रास्फीतिभन्दा कम ब्याजदर दिइरहेका थियौं, वास्तविक प्रतिफल दिएकै थिएनौं । तर, अहिले मुद्रास्फीतिको दरभन्दा निक्षेपकर्ताले पाउने ब्याजदर राम्रो छ । ऋणको ब्याज पनि ६ प्रतिशतसम्म झरेको इतिहास भुल्नु हुँदैन । कहिलेकाहीँ केही माथितल हुँदा ग्राहकले ग्रहण गर्न सक्ने हुनुपर्छ । अर्को कुरा राष्ट्र बैङ्कको नियमअनुसार कुनै पनि व्यक्तिलाई बिना जानकारी ब्याज बढाउन मिल्दैन र उनीहरुलाई पूर्वजानकारी दिनैपर्छ । फेरि सँधै ब्याज बढाउने मात्र अवस्था आउँदैन । ब्याज घट्छ पनि ।

तपाईंहरुले ब्याज बढाउने कुरा छिट्टै लागू गरिहाल्नुहुन्छ, तर घटाउन भने आनाकानी गर्नुहुन्छ नि ?

अहिले राष्ट्र बैङ्कले नियम बनाइदिएको छ, आधार दर (बेस रेट)अनुसार ब्याजदर चलाउनुपर्छ । त्यसैले ३ महिनामा एक पटक बैङ्कहरुले ब्याज पुनरवलोकन गर्छन् । यस विषयमा राष्ट्र बैङ्कले नियामकको काम गरिरहेको छ । पहिले पहिले एकै महिनामा पनि तीन पटकसम्म ब्याज बढ्नेघट्ने अवस्था हुन्थ्यो । अर्को कुरा ब्याजदर बढेर साविकको किस्ता तिर्न गाह्रो हुन्छ भने उनीहरुसँग सल्लाह गरेर किस्ता तिर्ने व्यवस्था पनि मिलाएका छौं, किनभने ग्राहक असफल भए बैङक पनि कहाँ अघि बढ्छन् र ! फेरि ग्राहकहरु पनि ब्याजदरमा देखिएको उतारचढावबारे जानकार छन् ।

अर्थ मन्त्रालय, राष्ट्र बैङ्कले जबरजस्ती ऋण लगानी (फोर्स लेन्डिङ)तिर लगिरहेका छन्, क्षेत्र तोकेर । यसको प्रभाव कस्तो छ ?

यसबारे मुलुकलाई के चाहिएको छ, त्यो महङ्खवपूर्ण हुन्छ । सामान्यतया एउटा बैङ्कले सेयरधनी, सरकार, समन्वयकर्ता (फेसिलिटेटर), ग्राहक, कर्मचारी र समाज (सामाजिक उत्तरदायित्वअन्तर्गत) गरी ६ ओटा ‘स्टेकहोल्डर’लाई हेर्नुपर्छ,– जहाँबाट हामीले पुँजी लिइरहेका छौँ । देशको अर्थतन्त्र सरकारको नीतिनियममा निर्भर हुन्छ । वित्तीय क्षेत्रले देशको नीतिनियमलाई अवलम्बन गरेरै अघि बढ्नुपर्छ । सातओटा प्रदेश छन् । विकेन्द्रीकरणको कुरा आएको छ । यस्तो अवस्थामा हामी पनि सबै प्रदेशमा जानुपर्ने छ । कुन प्रदेशमा के सम्भावना छ त्यसलाई हेरेर काम गर्नुपर्छ । अर्थमन्त्री डा युवराज खतिवडाले कृषिमा लगानी बढाउन भनिरहनु भएको छ । मेगा बैङ्क पनि ‘हलोदेखि हाइड्रो’को नारा लिएर अघि बढेको छ, र त्यसैअनुरुप लगानी विस्तार गरिरहेका छौं । माइक्रोफाइनान्समा त छुट्टै युनिटअन्तर्गत ७० जना कर्मचारीले काम गरिरहेका छन् । मुलुकको अर्थतन्त्रलाई स्थिरता प्रदान गर्न जुन ढङ्गले उत्पादनमूलक र गैरउत्पादनमूलक क्षेत्र भनेर छुट्याइएको छ, यसले अर्थतन्त्रलाई स्थिरता प्रदान गर्न सहयोग नै पुग्छ । राज्यले कुन क्षेत्रको विकास गर्दा मुलुक अघि बढ्छ भन्ने आधारमा बैङ्कहरुलाई लगानी गर भन्नु अन्यथा होइन । मुलुककोे हितका लागि बैङ्कहरुले प्राथमिकताप्राप्त क्षेत्र (कृषि, ऊर्जा, पर्यटनलगायत)मा लगानी आँफैले बढाउँदै लानुपर्छ । हामीले रियलइस्टेट क्षेत्रको बबाल पनि त देख्यौं नि । त्यहाँ समयमै केन्द्रीय बैङ्कले हस्तक्षेप नगरेको भए सायद बैङ्किड क्षेत्र नै धरापमा पो पर्थ्यो कि । हामीले स्रोतहरु व्यवस्थापन गर्न सक्यौं भने प्राथमिकताप्राप्त क्षेत्र आधारभूत आवश्यकताभित्रै पर्छ ।

मेगा बैङ्कले ल्याएको ‘हलोदेखि हाइड्रो’को नारा त ‘फ्लप’ खायो भन्ने छ नि ?

कुनै पनि बैङ्क सफल हुन ग्राहकको मन जित्नुपर्छ । यो फ्लप खायो भन्दा पनि ‘ग्राहकको मन जित्दै मेगा अगाडि बढ्दै’ स्लोगनले हलोदेखि हाइड्रोको नारालाई सहयोग गरेको मात्र हो । अहिले फ्लप भन्नुको मतलब ग्राहकको मन जित्न अझै पनि कमजोर छौं कि ? ग्राहकलाई कृषि, जलविद्युत्, थोक तथा खुद्रा, साना तथा मझौला उद्यमजस्ता अर्थतन्त्रका सबै क्षेत्रलाई सेवा दिन्छौं भनेको हो । बैङ्किङ साक्षरतालाई बैङ्कले प्राथमिकतामा राखेको छ । हाम्रा लागि गरिबदेखि धनी सबै वर्ग उत्तिकै महङ्खवपूर्ण छन् भन्ने किसिमले यो नारा अगाडि आयो ।

मेगा बैङ्क बीचमा केही विवादमा पनि तानियो । सञ्चालकबीच विवाद पनि देखियो । सीईओकै कारण ब्याजदर निर्धारणमा समस्या देखियो । के चर्चामा आउन यसो गरिएको हो ?

नकारात्मक किमिसले बैङ्कलाई चर्चामा राख्ने हाम्रो मनसाय होइन । सकारात्मक काम गरेर बैङ्कलाई चर्चामा राख्छ भने त्यो साह्रै राम्रो कुरा हो । यसले बैङ्कलाई फाइदा नै पुग्छ । बैङ्कलाई उचाइमा पु¥याउने किमिसले काम भइरहेको छ । बीचमा केही समय नेतृत्व खाडल (ग्याप) रहेका कारण अलिक असमान्जस्यता थियो, तर अहिले नेतृत्व पनि पाइसकेको छ । सञ्चार समितिको विवाद पनि सबै समाधान भइसकेको छ । टुरिजमसँगको मर्जर प्रक्रिया पनि छिट्टै टुङ्गिदै छ । बैङ्कले आफूलाई नयाँ उचाईमा लैजान ५ वर्षीय रणनीतिक पत्र पनि तयार गरेर त्यसैका मागदर्शनका आधारमा अगाडि बढेको छ । बैङ्कका प्रत्येक विभागले आफ्नो विभाग मात्र होइन बैङकको प्रगति सोचेर काम गर्ने ऊर्जाशील जनशक्ति मेगामा छ । मेगा बैङ्कमा देश हाँक्न सक्ने अर्थशास्त्रीहरु लगानीकर्ताका रुपमा छन् । देशको आवश्यकताअनुरुप उनीहरुको मार्गदर्शनले बैङ्कलाई अघि बढाउन अझ सहज भएको छ र मेगाले आफूलाई पृथक रुपमा स्थापित गर्न सकेको छ । सीधा अर्थमा भन्दा नाम मर्न दिएको छैन ।

छिटो प्रतिफल चाहियो भन्ने हिसाबले बैङ्करहरुलाई निकै दबाब छ । छिटो प्रतिफलका कारण कतिपय पुराना बैङ्कर समयअगावै बाहिरिने क्रम बढेको छ । छिटो प्रतिफलका लागि आउने दबाबले काम गर्न कत्तिको सहज छ ?

सबैले पुँजी हालेका छन् र २ अर्बबाट ८ अर्ब पु¥याएका छन् । केन्द्रीय बैङ्कको सोचअनुरुप नै पुँजी वृद्धि गर्न पनि मर्जरको अवधारणामा गएर १५ ओटा बैङ्क भएको भए साँच्चिकै राम्रो हुन्थ्यो र कसैलाई पनि कुनै किसिमको दबाब हुँदैनथ्यो होला । तर, मर्जरमार्फत् पुँजी वृद्धि सारै कम भयो । अधिकांशले हकप्रद र थप प्राथमिक निस्कासनमार्फत् पुँजी बढाए । यसले लगानीकर्तामा थप लगानीको प्रतिफल खोज्नु पनि अन्यथा होइन । पुँजी वृद्धिले क्षमता त बढायो तर, स्रोत बढाएन, जसको असर आगामी ३÷४ वर्ष वित्तीय क्षेत्रमा पर्ने देखिन्छ । यो अवधिमा बैङ्कहरुबीच व्यवसाय बढाउन प्रतिस्पर्धा हुन्छ । बैङ्कहरु अधिकतम प्रतिफलका लागि लागिरहने परिस्थिति बन्छ । पुँजीअनुरुपको व्यवसाय वृद्धि नभएको भन्ने दबाब अहिले बैङ्कहरुलाई छ । बैङ्कमा व्यवस्थापनलाई कत्तिको दबाब छ भन्ने कुरा त व्यवस्थापनले महसुस गर्ने विषय हो । जब लगानीकर्ताले पैसा लगानी गरेको छ भने प्रतिफल खोज्नु अन्यथा होइन । तर, छिट्टै, अहिले नै चाहियो भन्ने कुरा त्यति राम्रो होइन । किनभने बैङ्क दीर्घकालीन व्यवसाय हो र सयौं वर्षसम्म कारोबार गर्ने र जीवित रहने संस्था हो । छिटो भन्ने लगानीकर्ताको भावनालाई हामीले कति छिटो आत्मसात गर्ने भन्ने कुरा व्यवस्थापनले चाहेर मात्रै हुँदैन । मुलुकको अर्थतन्त्रले पनि साथ दिनुपर्छ ।

छिटो नाफा कमाउने उद्देश्य परिपूर्तिका लागि एउटा ऋण तिर्ने बहानामा अर्को ऋण फाइल खडा गर्ने प्रवृत्ति बैङ्कहरुमा देखिएको छ । यसले बैङ्कहरुको व्यवसायलाई कति दिन दिगो बनाउँछ ?

वित्तीय क्षेत्रमा यस्ता विषयलाई प्रवेश गर्नै दिनुहुँदैन र कतै त्यस्तो भएको छ भने तुरुन्तै रोक्नुपर्छ । यस्तो कतै भएको छ भने अत्यन्तै गलत अभ्यास हो । यसले एउटा संस्थालाई मात्रै होइन समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्छ । अहिले बैङ्कहरुमा पनि जोखिममा आधारित लेखापरीक्षण सुरु भइसकेको छ र केन्द्रीय बैङ्कले त्यसैका आधारमा नियमन बढाएको छ । केन्द्रीय बैङ्कले जोखिममा आधारित लेखापरीक्षण सुरु गरिसकेको अवस्थामा बैङ्कहरु पनि आन्तरिक रुपमा धेरै नै सचेत भएका छन् र सबै सीईओहरुले यसबाट पर्नसक्ने असरलाई महसुस गरेका छन् । यस्तो गतिविधि कहीँकतै भएको छ भने पनि कमी आउँदै जान्छ ।

पारदर्शी र व्यवस्थित मानिएका वित्तीय संस्थाहरुले जनशक्ति व्यवस्थापनमा लगानी गर्न रुचि राखेको पाईंदैन । पारदर्शी र व्यवस्थित छ भनेपछि कर्मचारीको क्षमता आफँै विकास हुने हो ? कर्मचारीको क्षमता विकासमा बैङ्कहरु किन लोभी भएका ?

केन्द्रीय बैङ्कले कर्मचारीहरुको क्षमता विकासका लागि राम्रा राम्रा निर्देनहरु ल्याएको छ र पछिल्लो समय बैङ्कहरु आँफै पनि सचेत भएका छन् । कुल कर्मचारी खर्चको ३ प्रतिशत कर्मचारीको तालिम र विकासका लागि खर्च गर्नैपर्ने बाध्यात्मक व्यवस्था छ । अहिले आन्तरिक रुपमा मात्रै होइन वाह्य रुपमा पनि कर्मचारीलाई तालिममा पठाउने काम भइरहेको छ । टुरिजम डेभलपमेन्ट बैङ्क मेगासँग मर्ज भएपछि शाखा सञ्जाल १ सय २ पुग्छ भने कर्मचारी सङ्ख्या हजारभन्दा बढी पुग्छन् । जनशक्तिको अवस्था थाहै छ, नयाँ अवसर आउने बित्तिकै एउटाबाट अर्कोमा जाने गति तीव्र छ । यस्तो स्थिति मेगाको मात्रै होइन सम्पूर्ण बैङ्किङ क्षेत्रकै हो । यस्तो अवस्थामा कर्मचारीलाई तालिमका लागि बाहिर पठाएर मात्रै सम्भव हुँदैन भनेर बैङ्कले कर्मचारीको क्षमता अभिवृद्धिका लागि मेगा ट्रेनिङ सेन्टर खोलिसकेको छ । केही समय त लाग्छ, तर अब बैङ्कहरुले वित्तीय क्षेत्रमा नयाँ जनशक्ति विकास गर्न हरसम्भव प्रयास गर्ने देखिन्छ ।

नामै काफी छ मेगा, टुरिजम मर्जपछि मेगा सेयरधनीले के पाउँछन् ?

मर्जपछि मेगा पुँजीका हिसाबले प्रमुख तीन बैङ्कभित्र पर्छ । वित्तीय क्षेत्रमा बैङ्कको वृद्धिका लागि नेटवर्किङ्ले ठूलो अर्थ राख्छ । ६५ जिल्लाका १ हजार २ सय १९ जना संस्थापक छन् । टुरिजम आएपछि यो आधार झनै ठूलो हुन्छ । अरु बैङ्कको भन्दा बढी वृद्धि प्राप्त हुने आधार मेगाको छ । त्यसैले आगामी दिनमा अन्य बैङ्कभन्दा मेगाका लगानीकर्ताले तुलनात्मक रुपमा राम्रो प्रतिफल प्राप्त गर्छन् भन्ने विश्वास छ । तर, लगानीकर्ताले छिटो प्रतिफलको आशा राख्नु हुँदैन र त्यसका लागि दबाब दिनु पनि हुँदैन । किनकि वित्तीय संस्थाले सयौं वर्षसम्म नियमित प्रतिफल दिने हैसियत बनाउँछन् । पुँजी लगानी गरिसकेपछि आवश्यक प्रतिफल दिनुपर्छ भन्ने अर्जुनदृष्टि राखेर नै व्यवस्थापनले काम गर्छ ।

लगानीकर्ताको अपेक्षा बढेको छ र छिटै धेरै प्रतिफल चाहिएको छ । कर्मचारीमा पनि छिटो कमाउने भूत चढेको छ । यस्तो स्थितिमा वित्तीय क्षेत्रका सरोकार समूह निक्षेपकर्ता, ऋणी, कर्मचारी, लगानीकर्ता र अरु अपेक्षित वर्ग (स्टेकहोल्डर)बीचको तादात्म्यताले वित्तीय क्षेत्र कसरी अघि बढ्ला ?

अहिले बैङ्कका प्रक्षेपणहरु लामो समयपछि स्थिर र बलियो सरकार बनेका कारण त्यसले ल्याउने थप अवसरहरुको आँकलनसमेतका आधारमा गरिएको छ । निश्चय पनि मुलुकले लामो समयपछि स्थिर सरकार पाएको छ । यसले गर्दा नेपालमा थप अवसरका ढोकाहरु खुल्छन् । दुवै छिमेकी मुलुकसँग राम्रो कुटनीतिक सम्बन्धमार्फत् पूर्वाधार तथा जलविद्युत् निर्माणका विषय अघि सारेका छौं । मुलुकको प्रगतिका लागि सबैतिर एक प्रकारको आशाको किरण देखिएको छ । सरकारले यो अपेक्षालाई कसरी आत्मसात गर्दै जान्छ, धेरै कुरा त्यसैमा निर्भर हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तै यदि मुलुक अब आर्थिक समृद्धिको बाटोमा अघि बढ्यो भने सबै व्यक्ति÷समूह÷क्षेत्रलाई काम गर्ने र प्रतिफल प्राप्त गर्ने ठाउँ पुग्छ । यही सकारात्मक सोचका साथ हामी अघि बढ्नुपर्छ । हामी कर्मचारी ग्राहकलाई सेवा दिन बसेका हौं । जति बढी ग्राहकलाई राम्रोसँग सेवा दिन्छौं त्यति नै बैङ्कको प्रगति राम्रो हुन्छ । बैङ्क राम्रो हुँदा त्यसको राम्रो प्रतिफल कर्मचारीलाई बोनसका रुपमा, लगानीकर्तालाई प्रतिफलका रुपमा, सरकारलाई करका रुपमा, निक्षेपकर्तालाई उच्च ब्याजदरका रुपमा, ऋणीलाई सस्तो र दीर्घकालीन सहुलियतका रुपमा र समाजलाई सामाजिक उत्तरदायित्वका रुपमा प्रतिफल प्राप्त हुन्छ । नाफा कमाउँदा ग्राहकको विश्वास र लोयल्टीलाई डगमगाउनु हुँदैन । त्यसैको परिणामस्वरुप मेगामा अहिले ३ लाख ग्राहक पुगेका छन् । एउटा बैङ्कमा यो वा त्यो पक्ष नभनी हामी भन्ने हिसाबले काम गर्नु आवश्यक छ । अहिलेको परिस्थिति निकै कठिन छ, त्यसैले वृद्धिका बेला उडान भर्न तयार पारेर बैङ्कलाई राख्नुपर्छ ।