वैशाख १ गते आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) सामान्य २.६ अङ्कले बढेको बजार सोमबार भने १७.४२ अङ्कले बढ्यो । बजार बढ्ने क्रम यतिमै रोकिएन ।
नयाँ वर्ष २०७५ का सुरुआती ३ दिनले सेयर बजारका लगानीकर्तालाई खुसी दिएको छ । वैशाख १ गते आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) सामान्य २.६ अङ्कले बढेको बजार सोमबार भने १७.४२ अङ्कले बढ्यो । बजार बढ्ने क्रम यतिमै रोकिएन ।
आज (मङ्गलबार) त झन् ३४ अङ्कसम्मको वृद्धि देखियो । मङ्गलबार बिहान सेयर कारोबार सुरु भएदेखि बढ्ने बाटो समातेको नेप्से बीचमा लडखडाउन खोजेपनि फेरि सम्हालिएको छ । मङ्गलबार बन्द हुँदासम्म ३३.६१ अङ्क (२.५९ प्रतिशत)ले बढेर १३३१.१८ अङ्कमा बजार रोकिएको छ ।
सेयर बजारमा हरेक आर्थिक वर्षको तेस्रो त्रैमासलाई निकै पीडादायी अवधि मानिन्छ । चालू आर्थिक वर्षको चैतमा पनि सेयर लगानीकर्ताका लागि त्यस्तै पीडादायी अवस्था थियो । पुस ३० गते १३८८.९४ अङ्कमा रहेको नेप्से सूचक चैत २९ गते आउँदा १२७७.५५ अङ्कले गिरावट आएको थियो ।
यद्यपि त्यहीबीचमा नेप्से सूचक ११६८ अङ्कसम्म झरेको थियो । खासगरी सेयर धितोमा मार्जिन कल आउने, सरकारी खर्चमा सुधार नहुँदा ब्याजदरमा चाप पर्ने, सो अवधिमा सेयर किन्दा प्रतिफल प्राप्तिका लागि लामो समय पर्खनुपर्नेजस्ता कारण बजार घट्दा दिइने नियमित प्रतिक्रिया हुन् । यही अवधिमा करका रुपमा अर्बौं रुपैयाँ बैङ्कबाट सरकारी ढुकुटीमा जाने भएकाले पनि ब्याजदर वृद्धिमा दबाब पर्छ र त्यसको सिकार लगानीकर्ता हुन्छन् । तर, बैशाखसँगै ९ महिनाको सूचीकृत कम्पनीको वित्तीय विवरण सार्वजनिक हुने भएकाले आगामी वर्ष कति लाभांश दिनसक्छन् भन्ने आँकलनका आधारमा बजारमा लगानी गर्ने सम्भावना रहन्छ ।
चौथो त्रैमासमा लगानी गर्नेले प्रतिफलका लागि पनि धेरै समय कुर्नुपर्दैन । अर्कोतिर ९ महिनाको विवरणका आधारमा बाँकी ३ महिनाको सूचीकृत कम्पनीको वित्तीय विवरण विश्लेषण गर्न सकिन्छ । अर्कोतिर सरकारले अन्तिम त्रैमासमा अधिक खर्च गर्दा त्यसले वित्तीय बजार चलायमान बनाउँछ र ब्याजदर सङ्कुचनलाई तोड्ने भएकाले ऋणको ब्याज घट्न गई लगानीकर्तालाई ऋण लिन सहज हुन्छ । तेस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार कम्पनीहरुको नाफामा तीव्र वृद्धि हुने अनुमानहरु सार्वजनिक गर्ने होडबाजी देखिएका कारण लगानीकर्ता बजारप्रति आशावादी छन् । त्यसको असर पनि बजारमा परेको छ ।
मङ्गलबार नेप्सेमा वर्गीकृत १० समूह सूचकमध्ये टे«डिङ उपसमूह ५.५७ अङ्कले घटेको बाहेक अन्य उपसूचकहरु बढ्दा नेप्सेमा वृद्धि देखिएको हो । मङ्गलबार सबैभन्दा बढी वृद्धि बिमा समूहमा देखिएको छ र बिमा उपसूचक ३६०.४३ अङ्कको वृद्धि छ भने सबैभन्दा कम वित्त उपसूचक ८.९४ अङ्कले बढेको छ । मङ्गलबार नेप्सेमा १० हजार ३१ कारोबारबाट १८ लाख ५ हजार ५ सय ६ कित्ता सेयर किनबेच भई ९५ करोड ४० लाख ६ हजार ५ सय ४ रुपैयाँबराबरको सेयर खरिदविक्री भएको छ । यो सोमबारको भन्दा बढी हो ।