चीनबाट ल्याइका दुई ओटा जहाज हस्तान्तरण गरिएको छ । चिनियाँ कम्पनी एपीकले दुई वटा वाई १२ जहाज मंगलबार नेपाल वायु सेवा निगमलाई हस्तान्तरण गरिएको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र नेपालका लागि चिनियाँ राजदूत यू होङले विमानको उद्घाटन गरिएको हो ।
१७ सिट क्षमताका ती दुई जहाज सहित ६ ओटा चिनियाँ विमान नेपाल आइसकेका छन् । ६ ओटा विमानमध्ये दुई विमान वाई १२ र ५६ सिटर एमए ६० विमान चीनको अनुदानमा ल्याइएको हो भने बाँकी एक एमए ६० र तीन वाई १२ गरी चार विमान सहुलियत ऋणमा खरिद गरिएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।
निगमका पुराना तीन सहित नौ वटा विमान आन्तरिक उडानका लागि छन् भने अन्तर्राष्ट्रियतर्फ एक बोइङ र दुई एयरबस ए–३२० बाट उडान भर्दै आएको छ । निगममा विमान भित्रिए पनि विमान चालक (पाइलट) अभावका कारण तीन वटा विमान लामो समयदेखि थन्किएका छन् ।
सय दिनभित्र ६ वटै विमान उड्नु पर्छ
मन्त्री अधिकारीले चीनबाट ल्याइएका सबै जहाज सय दिन भित्रमा सञ्चालनमा आइसक्नु पर्ने बताएका छन् । ’जहाज एयरपोटमा थन्काएर राख्ने हैन, सय दिन भित्र सञ्चालन ल्याउनु पर्छ, निगमका कर्मचारीलाई निर्देशन दिँदै भने, सधैँ विमान चालक अभाव भनेर उम्कन पाइँदैन‘ ।