नक्कली डीपी एकाउन्ट खोलेको लिन्च कारबाहीमा

नेपाल धितोपत्र बोर्डले नक्कली डिपोजिटरी पार्टिसिपेन्ट (डीपी) खाता खोलेको हुनाले कारबाही गरेको छ । बोर्डले लिन्चले नियमको पालना नगरी डीपी खाता खोलेको भन्दै ५० हजार रुपैयाँ जरीवाना गरेको हो ।

धितोपत्र दलालले ग्राहकका लागि कारोबार गर्नुअघि व्यक्ति वा संस्थागत ग्राहकको पूर्ण विवरणसहितको अभिलेख राख्नुपर्छ । निक्षेप सदस्यले हितग्राहीसँग सम्झौता गरेपछि मात्र धितोपत्र खाता खोल्ने, हितग्राही खाता खोल्नुभन्दा अगाडि बोर्ड÷केन्द्रीय निक्षेप कम्पनीले निर्धारण गरे बमोजिमको लगानीकर्ता पहिचान प्रकृया पूरा गर्नु पर्ने हुन्छ । झुटा विवरणको आधारमा डीपी एकाउन्ट खोली सेयर कारोबार गरेको सम्बन्धमा बोर्डमा उजुरी परेपछि बोर्डले छानबिन गरेर कारबाही गरेको हो ।

बोर्डको छानविनपछि लिन्च स्टक मार्केटले हितग्राही खाता खोल्दा प्राप्त विवरण तथा कागजातको आवश्यक जाँचवुझ गरेको नदेखिएको र ग्राहक परिचय विवरणमा त्रुटि देखिएकोले धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार बोर्डबाट ५० हजार रुपैयाँ आर्थिक जरिवाना गरेको हो ।