‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काँकरभिट्टादेखि इलामको श्रीअन्तुसम्म पदयात्रा गरिने भएको छ ।
‘ग्रीन जेनेरेसन’ झापाको आयोजनामा ‘स्वास्थ्यका लागि हिँडाइको प्रचार, कृषि पर्यटन, स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन’ गर्ने उद्देश्यले ४२ किलोमिटर लामो उक्त पदयात्रा गर्न लागिएको हो ।
पदयात्रामा नेपाल, भारत, बङ्गलादेश र भुटानका ७० जना पर्यटनविज्ञ तथा पत्रकार सहभागी हुने पदयात्रा कार्यक्रमका सञ्चार संयोजक सन्तोष सुवेदीले जानकारी दिए । वैशाख ७ गते काँकरभिट्टाबाट सुरु हुने तीन दिवसीय पदयात्राको पहिलो दिन सकलपुरमा बास बसेर दोस्रो दिन श्रीअन्तु पुग्ने तथा तेस्रो दिन बिहान सूर्योदयको दृश्यावलोकन गरी समाप्त हुनेछ ।
पदयात्रा बाहुनडाँगी बजार–मिनिमाउन्टेन–कृष्णथुम्की हुँदै सकलपुर र सलकपुरबाट सिद्धिखोला र मेची खोलाको दोभानमा सामूहिक स्नान गरी सुङतुङ हुँदै श्रीअन्तु पुगेर समाप्त हुनेछ ।
ग्रीन जेनेरेसनका अध्यक्ष अर्जुनकुमार कार्कीले सो पदमार्गमा रहेको जैविक विविधता र मेची करिडोरको अध्ययन गर्न पदयात्रा गर्न लागिएको बताए । ‘पदमार्गको पहिचान गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यदयात्रा गर्न लागिएको हो,’ उनले भने, ‘पर्यटनको माध्यमबाट यहाँको आर्थिकस्तर उकासिने हामीले अपेक्षा गरेका छौँ ।’
पदयात्रा सम्पन्न गर्न आठ लाख २७ हजार रूपैयाँ अुनमानित खर्च हुने संस्थाका महासचिव पुष्कर ढकालले बताए । पदयात्रा आयोजनाका लागि झापाको मेचीनगर नगरपालिका, इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका, पर्यटन कार्यालय काँकरभिट्टा, शुभ चिया सहकारी संस्था, मिनी माउन्टेन पर्यटन विकास समितिलगायत सङ्घ संस्था र व्यक्तिले आर्थिक सहयोग गरेका छन् । रासस