बुधबार नेप्सेमा ११ हजार ५ सय ३ कारोबारबाट २४ लाख ४० हजार १ सय ५ कित्ता सेयर खरिदबिक्री भई १ अर्ब १२ करोड ६७ लाख १६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो करिब एक वर्षअघिको कारोबार रकमबराबर हो ।
नयाँ वर्ष २०७५ का सुरुवाती चार दिन सेयर लगानीकर्ताका लागि मालामाल देखिएको छ । नयाँ वर्षको शुभारम्भसँगै बढ्न थालेको सेयर बजारमा निरन्तर बढ्दो क्रममा छ ।
सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) बुधबार पनि ३१.८३ अङ्कले बढेर बन्द भएको छ । कारोबारको मध्य समयमा ६० अङ्कसम्म बढेको नेप्से बन्द हुँदा भने ‘बाउन्स ब्याक’ भएर वृद्धि करिब ३२ अङ्कमा खुम्चिएको हो । नेप्सेमा वर्गीकृत सबै समूह उपसूचक चम्किएपछि नेप्से उकालो लागेको छ । यद्यपि नेप्से सूचकमा कारोबार अवधिभर उतारचढाव देखिएको छ । उपसमूह सूचकमध्ये जलविद्युत् सबैभन्दा बढी १०७.७३ अङ्क र व्यापार उपसूचक ४.३९ अङ्कले बढेको छ । बुधबारको कारोबारमा सबैभन्दा बढी १० प्रतिशत ङादी जलविद्युत् कम्पनीका सेयरधनीले कमाएका छन् । यद्यपि यस दिन एसियन लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले भने ४.२६ प्रतिशत गुमाएका छन् ।
नयाँ वर्षसँगै लगानीकर्तामा उत्साह देखिएको छ । राष्ट्रिय यातायात व्यवसायी महासङ्घले अनिश्चितकालीन चक्काजामलाई निस्तेज पार्न मङ्गलबारको मन्त्रिपरिषद् बैठकले यातायात व्यवसायी संस्थाहरु कम्पनीमा दर्ता हुनुपर्ने र गैरसरकारी संस्था (एनजीओ)का रुपमा रहेका यातायात सञ्चालन गर्ने निकाय नवीकरण नगर्ने निर्णयले सेयर लगानीकर्ता हौसिएका हुन् । चैतको तेस्रो साताबाट यातायातमा सिन्डिकेट तोड्ने सरकारी निर्णयपछि सेयर बजारमा सकारात्मक असर पर्दै आएको छ ।
बुधबार नेप्सेमा ११ हजार ५ सय ३ कारोबारबाट २४ लाख ४० हजार १ सय ५ कित्ता सेयर खरिदबिक्री भई १ अर्ब १२ करोड ६७ लाख १६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो करिब एक वर्षअघिको कारोबार रकमबराबर हो । मङ्गलबार नेप्सेमा १० हजार ३१ कारोबारबाट १८ लाख ५ हजार ५ सय ६ कित्ता सेयर किनबेच भई ९५ करोड ४० लाख ६ हजार ५ सय ४ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।