नयाँ वर्षका पाँच दिन : सेयर बजारमा शतक पार

बिहीबार सुरुदेखि बढेको नेप्से केही तलमाथि हुँदै अन्तिम समयमा २५.३ अङ्कले बढेर नेप्से १३८८.३१ अङ्कमा चढेको छ । बुधबार पनि ३१.८३ अङ्कले बढेको थियो ।

नयाँ वर्ष २०७५ ले सेयर लगानीकर्तालाई आशाको दियो जलाइदिएको छ । नयाँ वर्षको पहिलो सातामा भएको पाँच दिनको कारोबारमा बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शतक पार गरेर बजार नयाँ उचाइ समाउने सङ्केत गरेको छ । ५ दिनमा १ सय १० अङ्कको वृद्धि देखिएको छ ।

यद्यपि यसरी एकाएक दोहोरो अङ्कले बजार बढ्नुपर्ने कारण भने केही पनि छैन । तरलता (लगानीयोग्य रकम)को स्थितिमा अझै सुधार आएको छैन । ब्याजदरको समस्या उस्तै छ । सेयर आपूर्ति बढ्ने क्रम उस्तै छ । बोनस तथा हकप्रक सूचीकृत हुने क्रम पनि जारी छ ।

बजार विकास र विस्तारका लागि नयाँ कार्यक्रम पनि केही आएका छैनन् । तर पनि लगानीकर्तामा बजारप्रति विश्वास देखिन्छ । त्यसैले बजार बढिरहेको छ । बजारमा देखिएका सकारात्मक पक्षका रूपमा निकट भविष्यमै आउन लागेको अनलाइन कारोबार प्रणाली, तेस्रो त्रैमासको वित्तीय विवरण सकारात्मक आउने अपेक्षा, निरन्तर बजार बढ्दा मार्जिन कलको झन्झटबाट उन्मुक्ति, आर्थिक वर्षको अन्त्यमा हुने सार्वजनिक खर्चमा वृद्धि, आगामी आर्थिक वर्षको बजेटले लिने रणनीति, विदेशबाट रकम भित्र्याएर मुलुकमा तरलता सहज बनाउन बैङ्कहरुले चालेको कदम र त्यसपछि ब्याजदर घट्ने अनुमानका आधारमा बजार बढेको अनुमान लगाउन सकिन्छ ।

बिहीबार सुरुदेखि बढेको नेप्से केही तलमाथि हुँदै अन्तिम समयमा २५.३ अङ्कले बढेर नेप्से १३८८.३१ अङ्कमा चढेको छ । बुधबार पनि ३१.८३ अङ्कले बढेको थियो । चैत १२ मा ११६८.५५ अङ्कसम्म झरेको नेप्से त्यसपछि उतारचढाव हुँदै बढ्ने क्रममा देखिएको छ र २०७४ फागुन ९ को ११८७.०८ अङ्क पार गरेको हो । नयाँ वर्षको शुभारम्भसँगै बढ्न थालेको सेयर बजारमा निरन्तर बढ्दो क्रममा छ ।

यस अवधिमा नेप्सेमा सुधार भएको छैन, कारोबार रकममा पनि निरन्तर वृद्धि देखिँदै आएको छ । बिहीबार ११ हजार ८ सय ३४ कारोबारबाट २६ लाख ६३ हजार ५ सय ८२ कित्ता सेयर खरिदबिक्री भई १ अर्ब ११ करोड ५५ लाख ५५ हजार ३ सय ६१ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । बुधबार पनि नेप्सेमा ११ हजार ५ सय ३ कारोबारबाट २४ लाख ४० हजार १ सय ५ कित्ता सेयर खरिदबिक्री भई १ अर्ब १२ करोड ६७ लाख १६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । नेप्सेमा वर्गीकृत १० उपसमूह सूचकमध्ये व्यापार समूह सूचक २.२ अङ्कले मात्र घटेको छ । अन्य सबै सूचक बढेपछि त्यसको असर नेप्सेमा परेको हो । नेप्सेमा सबैभन्दा बढी बिमा समूह सूचक ५१.२३ अङ्कले बढेको छ भने सबैभन्दा कम वित्त उपसूचक ३.१३ अङ्कले बढेको छ ।