इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीबारे ब्रोकरहरुलाई जानकारी

यो साता सबैभन्दा बढी रकमको कारोबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । सूर्याका १२ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी कुमारी बैङ्कको ११ करोड, युनाईटेड इन्स्योरेन्सको १० करोड १ लाख, चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणालीबारे प्रणालीका बारेमा निर्माणमा संलग्न प्राविधिकहरुबाट सदस्य दलाल (ब्रोकर)हरुलाई जानकारी दिएको छ । वाइको इन्टरनेसनल प्राविधिक टोलीका सदस्य विजय गुरलनले प्रस्तावित कारोबार प्रणालीको हालसम्म करिब ८२ प्रतिशत काम सकिएको बताए । उनले प्राविधिक रुपमा तयार गर्नुपर्ने सम्पूर्ण मोड्युलहरु छुट्टाछुट्टै तयार गरी परीक्षण भइसकेको बताए । उनले सबै मोड्युलहरुलाई एकीकृत गरी छिट्टै प्रयोगमा ल्याउने बताए ।

कारोबार प्रणाली निर्माणका लागि नेप्से र वाइकोबीच १४ महिनाभित्र प्रस्तावित प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते सम्झौता भएको थियो । त्यस अवसरमा प्राविधिक टोलीका सदस्यहरुले सदस्य दलालको तर्फबाट प्रयोग हुने कारोबार प्रणाली, ग्राहकको व्यवस्थापन, कारोबार आदेशको व्यवस्थापन, कारोबार गर्ने तौरतरिका, नेप्से तथा ब्रोकरको सम्बन्ध, ब्रोकर तथा ग्राहकको सम्बन्ध, क्लियरिङ बैङ्क तथा निक्षेप प्रणालीसँगको सम्बन्ध, जोखिम व्यवस्थापन प्रणाली लगायतका विषयबस्तु प्रस्ट्याउने काम गरेका थिए ।

सम्पूर्ण सदस्य दलाल उपस्थित कार्यक्रममा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सम्झौताअनुरुप नै काम अगाडि बढिरहेको बताए । इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पुँजीबजारको विकासमा अर्को कोसेढुङ्गा सावित हुने उनले दाबी गरे ।

साताभर नेप्से १०८.१६ अङ्कले बढेको छ । नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०८.१६ अङ्कले बढेर अन्तिम दिन बिहीबार १३८८.३१ अङ्कमा पुगेको छ । नयाँ वर्षको पहिलो साता १ सय ८१ कम्पनीहरुको सेयर कारोबार भएको छ । साताका ५ दिन नै कारोबार भएको नेप्सेमा सबै दिन बजार बढेको थियो । यो अवधिमा ४४ हजार १ सय ५० कारोबारबाट ४ अर्ब ८ करोड ८७ लाख ५७ हजार रुपैयाँबराबरका ८८ लाख ५९ हजार ४ सय १० कित्ता सेयरहरु खरिदबिक्री भएको छ । कारोबार रकम गत साताको भन्दा ३८.४६ प्रतिशत बढी हो । गत साता ३६ हजार ७ सय ५ कारोबारबाट २ अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँबराबरका ८१ लाख ९८ हजार ९ सय कित्ता सेयरहरु खरिद बिक्री भएको थियो । यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २१.०५ अङ्कले बढेर २९४.०३ अङ्कमा चढेको छ ।

नेप्सेका अनुसार यो साता सबैभन्दा बढी रकमको कारोबार सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको भएको छ । सूर्याका १२ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यसैगरी कुमारी बैङ्कको ११ करोड, युनाईटेड इन्स्योरेन्सको १० करोड १ लाख, चिलिमे हाइड्रोपावर कम्पनीको ९ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याका आधारमा कुमारी बैङ्क ४ लाख २४ हजार कित्ता र कारोबार सङ्ख्याका आधारमा १ हजार ७ सय ९७ ओटा कारोबार गरेर प्रिमियर इन्स्योरेन्स कम्पनी अगाडी छ । नेप्सेका अनुसार यो साता एनआईसी एसिया डिबेन्चर ३० लाख कित्ता, ८ करोड २० लाख इकाइ सिटिजन्स म्युचुअल फन्ड १ र ८ करोड ३५ लाख २० हजार इकाइ एनआईसी एसिया ग्रोथ फन्ड कारोबारका लागि सूचीकृत भएको छ ।