नागबेली चालमा २८ अङ्कको झट्का, डेढ अर्बको कारोबार

सोमबार बजारको उतारचढावमा नागबेली चाल रहेपनि अन्तिम समयमा नेपाल स्टक एक्सचेन्ज सूचक (नेप्से) २७.६४ अङ्कले घटेको छ ।

नयाँ वर्ष २०७५ सुरु भएयता ६ कार्यदिनदेखि निरन्तर बढ्दै आएको नेपालको सेयर बजारमा सातौं दिन झट्का लागेको छ । सोमबार बजारको उतारचढावमा नागबेली चाल रहेपनि अन्तिम समयमा नेपाल स्टक एक्सचेन्ज सूचक (नेप्से) २७.६४ अङ्कले घटेको छ ।

बजार खुलेपछि सुरुमा बढेपनि त्यसपछि घट्दै बढ्दै गर्दै अन्तिम समयमा घटेर १४१०.८५ अङ्कमा सीमित भएको छ । आइतबार नेप्सेले अर्धशतक लगाउँदै १४३८.४९ अङ्क कायम गरेको थियो । जुन उचाई गत पुस १८ गतेको १४३७.२४ अङ्कभन्दा माथि हो । तर, सोमबार बिनाकारण बजारमा गिरावट आएको छ । तथापि बढ्नुपर्ने पनि खासै कारण केही छैन ।

कारोबार खुल्नेबित्तिकै बजार करिब २२ अङ्कले बढेर १४६०.६५ अङ्कसम्म पुगेको थियो । तर, त्यसपछि बजारमा घट्ने र बढ्ने क्रम पक्रँदै नागबेली चाल समात्यो । आईतबार र गत साताभर पनि बजारमा तीव्र उतारचढावका बीच अन्तिम समयमा बढ्ने गरेकोमा सोमबार भने घट्न पुगेको छ । बजार घट्दा १४९८.७८ बिन्दुसम्म झरेपनि अन्तिम समयमा केही सुधार भई १४१० अङ्कमा रोकिएको हो । निरन्तर बढिरहेको बजारमा लगानीकर्ताले नाफा बुक गर्न घट्न पुगेको बताइन्छ ।

सोमबार नेप्सेमा वर्गीकृत १० ओटै उपसमूह घटेपछि त्यसको असर नेप्सेमा परेको हो । उपसमूह सूचकमध्ये बिमा ८८.४४ अङ्कले सबैभन्दा बढी घटेको छ भने व्यापार सबैभन्दा कम ५.९९ अङ्कले घटेको छ ।

सोमबार बजार घटेपनि कारोबार रकममा भने उल्लेख्य सुधार आएको छ । सोमबार १४ हजार ४ सय ३९ कारोबारबाट ३१ लाख १४ हजार ६ सय १८ कित्ता सेयर किनबेच भई १ अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८ सय १५ रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम केही समययताको कारोबार रकमभन्दा बढी हो । आईतबार नेप्सेमा २८ लाख ८९ हजार ९ सय ४३ कित्ता सेयर खरिद बिक्री भई १ अर्ब २३ करोड ५ लाख ३ हजार १ सय ८० रुपैयाँबराबरको सेयर किनबेच भएको थियो ।