अपर काबेली जलविद्युत् आयोजना पीपीए हुँदै

विद्युत प्राधिकरणसँग पीपीएको तयारीका विषयमा छलफल भइरहेको छ । छिटै पीपीए हुन्छ ।

ताप्लेजुङमा निर्माण हुने २२ दशमलव ९ मेगावाटको अपर काबेली जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) को तयारीमा छ ।

आयोजनाको सर्भे निर्माणको काम पूरा भई हाल इन्जिनियरीङको काम चलिरहेको आयोजना प्रमुख रामकुमार लिम्वुले जानकारी दिए । उनले नेपाल विद्युत प्राधिकरणसँग पीपीएको तयारीका विषयमा छलफल भइरहेको बताए । ‘आयोजनाको सर्भेको काम सम्पन्न भएको छ । अहिले इन्जिनियरको काम भइरहेको छ’ उनले भने, ‘ छिटै पीपीए हुन्छ ।’

उनका अनुसार पीपीए पश्चात आयोजना निर्माणका लागि वित्तीय व्यवस्थापन गरी आगामी एक बर्षपछि निर्माण थाल्ने तयारी रहेको छ । स्वदेशी लगानीमा आयोजना बन्न लागेको हो । आयोजना निर्माणका लागि करिव ४ अर्ब लागत अनुमानित गरिएको उनले बताए । आयोजनाले २०७३ असारमा सर्भे लाइसेन्स पाइसकेको थियो ।

आयोजना निर्माण पछि उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ । अहिले १३२ केभी क्षमताको काबेली सवस्टेशन निर्माण भइरहेको र आयोजना सम्पन्न बन्नुभन्दा अगाडीनै सवस्टेशन बन्ने भएपछि विद्युत् खेर जाने सम्भावना नरहेको लिम्वुले बताए । लामो समयदेखि मुआव्जा र बनको विवादले काबेली प्रशारण लाईन निर्माणको काम रोकिएको थियो ।