नेप्से निरन्तर ओरालो, लगानीकर्ता अन्योलमा

नयाँ वर्षको शुभारम्भसँगै निरन्तर बजार बढेकोमा फेरि विगत ४ दिनदेखि ओरालो लागेपछि लगानीकर्ता अन्योलमा परेका हुन् ।

विगतमा नेपालको पुँजी बजार सूचक ओरालो लाग्दा कुनै न कुनै कारण देखाएर सरकारी अधिकारी तथा नियामक निकायलाई गाली गर्ने र विभिन्न माग राख्ने लगानीकर्ता यतिबेला अन्योलमा देखिएका छन् । नयाँ वर्षको शुभारम्भसँगै निरन्तर बजार बढेकोमा फेरि विगत ४ दिनदेखि ओरालो लागेपछि लगानीकर्ता अन्योलमा परेका हुन् ।

विगतमा कहिले अर्थमन्त्री त कहिले प्रधानमन्त्री र कहिले नियामक निकायका विभिन्न नीतिगत व्यवस्थाको विरोध गर्दै अघि बढेका सेयर लगानीकर्ता बजार बढेपछि भने चुपचाप थिए । तर, फेरि ४ दिनमा करिब ८० अङ्कभन्दा बढीले बजार खुम्चिएपछि लगानीकर्ता अन्योलग्रस्त देखिएका छन् । यसअघि लगातार डेढ सय अङ्कसम्म बजार बढेको थियो । खासगरी विगतमा कम मूल्यमा सेयर खरिद गरेका लगानीकर्ताले छिटो नाफा बुक गर्ने क्रमले गर्दा बजारमा बिक्री दबाब परेको छ । जसको असर बजार निरन्तर घट्न पुगेको छ । यतिबेला बजार बढ्ने वा घट्ने राजनीतिक वा आर्थिक कुनै पनि कारण देखिँदैन ।

बिहीबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) २९.२५ अङ्कले घटेर १३५७.२२ अङ्कमा ओर्लेको छ । यसअघि गत आइतबार १४३८.४९ अङ्कमा थियो । त्यसदेखि यताका ४ दिनमा नेप्से निरन्तर ओरालो लागेको छ । नयाँ वर्ष सुरु भएसँगैका ६ दिन निरन्तर बजार बढेको थियो । गत चैत १२ गते यो सिजनकै सबैभन्दा न्यून बिन्दु ११६८.५५ बिन्दुमा पुगेको नेप्सेमा छिटो छिटो उतारचढाव देखिने गरेको छ । नेप्सेमा वर्गीतकृत १० ओटै उपसमूह सूचक घटेपछि त्यसको असर मुख्य परिसूचकमा देखिएको हो । नेप्सेका अनुसार विहीबार सबैभन्दा बढी बिमामा २३१.१२ अङ्कले घटेको छ भने सबैभन्दा कम वित्त उपसूचकमा ११.६१ अङ्कको गिरावट देखिएको छ ।

सेयर सूचकमा उच्च गिरावट आएपनि बिहीबार सेयर कारोबार रकममा भने केही सुधार देखिएको छ । बुधबार ६ हजार ७ सय ७४ कारोबारबाट १३ लाख ५३ हजार १ सय २१ कित्ता सेयर किनबेच भई ६४ करोड ५० लाख ५१ हजार २ सय २० रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । बुधबार ५६ करोड १४ लाख रुपैयाँबराबरको सेयर खरिद बिक्री भएको थियो ।