पर्यटनमन्त्री अधिकारीले भने, ‘आजकल पाइलटको दादागिरी बढेको छ’

नेपाल वायुसेवा निगमको जहाजहरु नियमीत रुपमा सञ्चालन नभएको भन्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी असुन्तुष्टी जनाएका छन् । मन्त्रालयमा आयोजित समिक्षा कार्यक्रममा मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरन्त कंसकारलाई जहाज सञ्चालनको निश्चित समय तालिका बनाउन समेत निर्देशन दिए ।

‘जहाज पाइलटको मुडअनुसार हैन, वायुसेवा निगमको तालिकाअनुसार चलाउनुस,’ मन्त्री अधिकारीले भने । ‘आज भोलि पाइलटको धेरै दादागिरी बढेको पाएको छु’ । जहाज उड्नु भन्दा एक घण्टा अघि नै पाइलट पुग्नु पर्ने भएपनि उड्नु भन्दा पाँच मिनेट अघि पनि पुग्ने गरेको आफुले थाहा पाएको भन्दै त्यस प्रति निगमको ध्यान जान जरुरी रहेको बताए ।

‘नेपाल वायुसेवा निगमको टिकट विक्रिमा पनि सिण्डिकेट छ, त्यस्लाई अन्त्य गर्नुपर्छ,’ मन्त्री अधिकारीले भने । अव अनालाइन सिस्टम बाट टिकट विक्रि गर्ने व्यवस्था गर्नुपर्छ । टिकट कति वेला पाइन्छ र कति बेला सकिन्छ भन्ने ठेगान नभएकै मन्त्री अधिकारीको भनाइ छ । कंसाकारलाई हेर्दै मन्त्री अािधकारीले तपाइको एजेन्टले समयमा टिकट बेच्दैन् भने परिवर्तन गर्नसमेत निर्देशन दिए । ।

पर्यटन मन्त्री अधिकारीले आन्तरिक उडान नियमीत नभएकै कारण नेपाल वायुसेवा निगम प्रति यात्रुहरुको दृष्टिकोण नै परिवर्तन भइरहेको भन्दै भाडामा अर्काे जहाज ल्याएर भएपनि नियमीत रुपमा उडान भर्न निर्देशन दिए ।

आफु संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएपछि १०० दिनको कार्यक्रम सार्वजनिक गरेका मन्त्री अधिकारीले विहिबार मन्त्रालयमा सम्बन्धित कार्यालय र निकायका प्रमुखहरुलाई कार्यप्रगतीको विषयमा जानकारी लिएका थिए । १०० दिन पुग्न अव एक महिना मात्र रहेको छ । एक महिनाको अवधिमा आफुले सार्वजनिक गरेको योजनाहरु मध्ये ७० प्रतिशत काम सकिएको मन्त्री अधिकारीले बताए ।