कारोबार समयमा तीव्र उतारचढाव आउने र अन्तिम समयमा बजार फेरि ओरालो लाग्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । खासगरी सूचीकृत धेरै कम्पनीको चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक भइसक्दा बजार भने घट्दो ट्रेन्डमा देखिएको हो ।
नेपाली सेयर बजारले फेरी एक पटक घट्दो ट्रेन्ड समातेको छ । कारोबार समयमा तीव्र उतारचढाव आउने र अन्तिम समयमा बजार फेरि ओरालो लाग्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । खासगरी सूचीकृत धेरै कम्पनीको चालू आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरण सार्वजनिक भइसक्दा बजार भने घट्दो ट्रेन्डमा देखिएको हो ।
९ महिनाको वित्तीय विवरणले आगामी आर्थिक वर्षमा कम्पनीहरुले कति लाभांश दिनसक्छन् भन्ने अनुमान लगाउन सहज हुन्छ । प्रायः सबैजसो कम्पनीको वित्तीय विवरण विगतको तुलनामा नाफा बढाएर सार्वजनिक भएपनि लगानीकर्ताले भने त्यसलाई पत्याएको देखिएन । वैशाख लाग्ने बित्तिकै सूचीकृत कम्पनीको वित्तीय विवरण आउने क्रम सुरु भएकाले बजार बढ्न थालेको भनिए पनि यथार्थमा विवरण आउन थालेपछि भने बजारले घट्ने ट्रेन्ड समातेको हो ।
साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सेचन्ज परिसूचक (नेप्से) ८.२१ अङ्कले घटेर १३४९.०१ अङ्कमा झरेको छ । यसअघि गत साता ४ दिन नै नेप्से घटेको थियो । त्यअघि नयाँ वर्षका सुरुका ६ दिन भने निरन्तर बजार बढेको थियो । आइतबार बजार घटेको मात्र होइन कारोबार रकममा पनि उच्च गिरावट देखिएको छ । आइतबार ५ हजार २ सय १४ कारोबारबाट ९ लाख ६६ हजार ८ सय २९ कित्ता सेयर किनबेच भई ४० करोड ३५ लाख ४८ हजार ६८ रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । यो कारोबार रकम विगत केही दिनदेखिको तुलनामा कम हो । गत बिहीबार ६४ करोड ५० लाख ५१ हजार २ सय २० रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो ।
आइतबार १ सय ६१ कम्पनीको कारोबार भएको नेप्सेमा सबैभन्दा धेरै स्वदेशी लघुवित्तको सेयरमूल्य ९ प्रतिशतले बढेको छ । त्यसैगरी वरुण हाइड्रो पावर कम्पनीको सेयर सबैभन्दा बढी ८ प्रतिशतले झरेको छ । नेप्सेमा वर्गीकृत १० समूहमध्ये वाणिज्य बैङ्क, जलविद्युत्, वित्त, अन्य र लघुवित्त समूह उपसूचक घटेको छ भने व्यापार, होटल, विकास बैङ्क, बिमा र उत्पादनमूलक समूह सूचक सामान्य बढेको छ ।
आइतबारको बजारमा सबैभन्दा धेरै राष्ट्रिय बिमा कम्पनीको १ करोड ५० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ भने सेयर सङ्ख्याका हिसाबले सिभिल बैङ्कको सबैभन्दा धेरै ५१ हजार कित्ता सेयर कारोबार भएको छ ।