पाँच ओटा हेलिकप्टर पुर्याउँदै प्रभु

पोखरालाई आधार बनाएर उडान भरिरहेको प्रभु हेलिकप्टर प्रालिले थप दुई नयाँ हेलिकप्टर थप्ने भएको छ । मुक्तिनाथ हेलिकप्टर कम्पनी किनेर प्रभु हेलिकप्टरमार्फत सेवा दिइरहेको कम्पनीले सेवा बढाउन थप दुई हेलिकप्टर भित्र्याउन लागेको हो ।

पोखरालाई आधार बनाएर उडान भरिरहेको प्रभु हेलिकप्टर प्रालिले थप दुई नयाँ हेलिकप्टर थप्ने भएको छ । मुक्तिनाथ हेलिकप्टर कम्पनी किनेर प्रभु हेलिकप्टरमार्फत सेवा दिइरहेको कम्पनीले सेवा बढाउन थप दुई हेलिकप्टर भित्र्याउन लागेको हो ।

कम्पनीले अमेरिकाको रविन्सन कम्पनीमा निर्मित दुई थान हेलिकप्टर खरिदका लागि कम्पनीलाई केही महिनाअघि अर्डर गरिसकेको थियो । यसअघि पनि प्रभु हेलिकप्टरले रविन्सन कम्पनीमै निर्मित ३ हेलिकप्टरबाट सेवा दिइरहेको थियो ।

प्रभु हेलिकप्टर बैङ्क तथा रेमिट्यान्स व्यवसायमा स्थापित प्रभु गु्रपअन्तर्गतको भगिनी संस्था हो । गु्रपले २० करोडमा २ हेलिकप्टर भित्र्याउन लागेका हो । पोखरा र आसपासमा उद्धार, पर्यटकीय स्थलको अवलोकन तथा चार्टर्ड उडानको माग बढ्न थालेपछि कम्पनीले आफ्नो हेलिकप्टर सङ्ख्या पाँच पुर्याउन लागेको हो ।

‘पोखराबाट हेलिकप्टर सेवा प्रयोग गर्ने सेवाग्राही बढ्दै गएका कारण नयाँ हेलिकप्टर थप्न लागेका हौं,’ प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनले भने । पोखरा र आसपासमा उद्धार कार्यमा ६० प्रतिशत प्रभु हेलिकप्टर प्रयोग हुन थालेको छ ।

पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मुस्ताङ, लुम्बिनी र पोखरा सहर अवलोकन तथा माउन्टेन फ्लाइटमा यात्रुहरु बढिरहेकाले स्तरीय सेवा उपलब्ध गराउन प्रभु गु्रपले हेलिकप्टरमा लगानी बढाउँदै गएको भट्टचनले बताए ।

‘हामीले दिएको सेवा र प्याकेज अरुभन्दा सस्तो छ, त्यसैले साथीभाइ मिलेर घुम्न जाउँ भन्ने कल्चरका कारण पनि हाम्रो हेलिकप्टरको बुकिङ बढिरहेको छ,’ भट्टचनले भने । चारजना साथी मिलेर अन्नपूर्ण बेस क्याम्पमा पुगेर ब्रेकफास्ट खाएर आउने प्याकेज हाम्रो जस्तो सस्तो अरुको छैन त्यसैले अन्नपूर्ण बेस क्याम्प जाने पर्यटक पनि बढेको उनले बताए ।

विदेशी पर्यटक तथा विदेशमा रहेका नेपाली नेपाल आएका बेला घुम्न जाने क्रम पनि बढ्न थालेकाले हेलिकप्टर सेवाले आफ्नो दायरा पनि फराकिलो बनाएको भट्टचनले बताए ।

हाम्रो हेलिकप्टरको लागत खर्च सस्तो भएकाले सेवाग्राहीलाई पनि सस्तोमै प्याकेज दिएका कारण बजार हिस्सा पनि हाम्रै बढी भएको उनले बताए । ‘अहिले जुन मूल्यमा प्याकेज दिइरहेका छौं त्यो अरुको भन्दा सस्तो हो, हामी योभन्दा पनि सस्तो प्याकेजमा दिन खोजिरहेका छौं,’ उनले भने ।

कम्पनीसँग अहिले रविन्सन अमेरिकन हेलिकप्टर आर ४४ रेभन एक र आर ६६ ट्वाइन दुइटा छन् । कम्पनीले रविन्सनको आर ६६ नयाँ हेलिकप्टर दुई ओटा थप्न लागेको हो । नयाँ दुइटा हेलिकप्टर एक महिनाभित्र नेपाल आइपुग्ने कम्पनीले जनाएको छ । पाँच हेलिकप्टरबाट नियमित सेवा दिएपछि प्रभु हेलिकप्टर नेपालको ठूलो हेलिकप्टर सेवा प्रदायक कम्पनी हुनेछ ।