कतार एयरवेजले ‘बोइङ ७७७’ र ‘एयरबस ए ३५०’ मा इन्टरनेट सेवा दिने

कम्पनीले इन्मार्सट जीएक्स एभिएसन प्रविधिको प्रयोग गरी आफ्ना सबै बोइङ ७७७ र एयरबस ए ३५० जहाजमा सुपर वाइफाइ जडान गर्न लागेको हो ।

कतार एयरवेजले ‘बोइङ ७७७’ र ‘एयरबस ए ३५०’ मा तीव्र गतिको इन्टरनेट सेवा जडान गर्ने भएको छ ।

कम्पनीले इन्मार्सट जीएक्स एभिएसन प्रविधिको प्रयोग गरी आफ्ना सबै बोइङ ७७७ र एयरबस ए ३५० जहाजमा सुपर वाइफाइ जडान गर्न लागेको हो । सो इन्टरनेट सेवा जडान गरेपछि कतार एयरवेज मध्यपूर्व तथा उत्तर अफ्रिकामा आफ्ना ग्राहरुलाई गुणस्तरीय इन्टरनेट जडान गर्न सो प्रविधिमा लगानी गर्ने पहिलो एयरवेज बनेको छ ।

सो सेवा जडान पश्चात् कतार एयरवेजका यात्रुहरुले एक घण्टा निशुल्क इन्टरनेट प्रयोग गर्न सक्नेछन् । एक घण्टाभन्दा बढी समयका लागि इन्टरनेट आवश्यक परेमा पैसा तिरेर चाहिने जति समयका लागि इन्टरनेट खरिद गरी चलाउन सकिने कम्पनीले बताएको छ ।
कतार एयरवेजका प्रमुख कार्यकारी अकबर अल बेकरले मध्यपूर्व तथा उत्तर अफ्रिकाकै पहिलो इन्टरनेट सेवा दिने एयरलाइन्स हुन पाएकामा खुसी व्यक्त गरे ।

एयरलाइनले आफ्नो महत्त्वाकाङ्क्षी विस्तार योजनालाई जारी राख्दै यस वर्ष फिलिपिन्सका सेबु तथा डेभाओ, मलेसियाको लङ्कावी, भियतनामको डा नाङ, टर्कीका बोड्रम तथा एन्टल्या, ग्रीसको माइकोनोस तथा स्पेनको मेलागासहित कैयौं रोमाञ्चक नयाँ गन्तव्यमा उडान गर्ने बताइएको छ ।