तीन वर्ष बित्याे, सुरु भएन गोरखा दरबार पुनःनिर्माण

तीन वर्षअघिको भूकम्पले भत्किएको यो ऐतिहासिक दरबारको पुनःनिर्माण अझै सुरु हुनसकेको छैन । पुनःनिर्माणका लागि यही वैशाख ७ गते जग पूजा गरिए पनि काम सुरु नभएकामा स्थानीयवासी दुःखी छन् ।

माथिबाट जस्ताको अग्लो ट्रसले ढाकिएको छ, भूमिमा खाल्डो खनेर १४ फिट गहिरो बनाइएको छ, पानी पर्दा भल खाल्डोमा छिर्ने निश्चित छ । खाल्डामा ठूलाठूला ढुंगा देखिएको छ । यो परिसरलाई हरियो तारजालीले घेरेर राखिएको छ ।

यो चित्र भूकम्पले क्षतिग्रस्त ऐतिहासिक गोरखा दरबारको हो । तीन वर्षअघिको भूकम्पले भत्किएको यो ऐतिहासिक दरबारको पुनःनिर्माण अझै सुरु हुनसकेको छैन । पुनःनिर्माणका लागि यही वैशाख ७ गते जग पूजा गरिए पनि काम सुरु नभएकामा स्थानीयवासी दुःखी छन् । काष्ठमण्डप, धरहरा, रानीपोखरीलगायत सम्पदा पुनःनिर्माणमा भएको ढिलाइ र विवादको शृङ्खला सुनेका गोरखावासी दरबारको अवस्था त्यस्तो नहोस् भन्ने कामना गरिरहेका छन् ।

गोरखा बजारको टाकुरामा बनेको कलात्मक दरबार हेर्न दैनिक हजारौँ मानिस आउँछन् । दरबार भग्नावशेषमा परिणत भएको देख्दा खिन्न भएर फर्कन्छन् । ताप्लेजुङबाट गोरखा घुम्न आएकी सुम्निमा लिम्बू इतिहासका पुस्तकमा पढेको दरबार हेर्न डाँडामा चढिन् । दरबार भएको स्थानको अवस्था देखेर आफू आक्रोश लिएर फर्किएको उनले सुनाइन् ।

भक्तपुरे शैलीको गोरखा दरबार विसं १९९० को भूकम्पमा पानी छिरे पनि देखिने ठूलो क्षति भएन । विसं २०७२ मा गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.८ रिक्टर स्केलको भूकम्पले दरबारको पूर्वी भागमा क्षति पुग्यो । क्षति कति भयो भन्ने अनुसन्धानका लागि दरबार भत्काएर खनिएको पुरातत्व विभागले जनाएको छ ।

दरबार भत्काएर बनाउने कि नभत्काई बनाउने भन्नेमा लामो समय बहस भएको विभागका प्राविधिक शाखा प्रमुख इञ्जिनीयर सम्पत घिमिरेले बताए । घिमिरेको संयोजकत्वमा बनेको समितिको सिफारिसका आधारमा दरबारको जग कति बलियो छ भन्ने अध्ययनका लागि खाडल खनेर हेरिएको हो । “दरबारको जग भूकम्पले कमजोर बनाएकाले फाउन्डेसनदेखि नै पुनःनिर्माण गर्नुपर्ने प्रतिवेदन दिएका छौँ, त्यसैअनुसार पुनःनिर्माण हुन्छ, क्षति भएको दुई वर्षसम्म दरबार पुनःनिर्माण गर्न बजेट नै आएन, यसैले ढिला भएको हो, ठेक्का सम्झौता भइसकेकाले अब काम सुरु हुन्छ”, उनले भने ।

दरबारमुनिको संरचना अध्ययनका क्रममा ढुंगा फुटेको, पूर्वी भागमा ठूलाठूला प्वाल परेको भेटिएकाले बलियो संरचना बनाउने विभागको तयारी छ । गोरखनाथका पूजारी प्रदीपनाथ योगी खाडल बनाइएको दरबारमा पानी पसेर क्षति हुन सक्ने भएकाले वर्षा अगावै पुनःनिर्माण सुरु गरिनुपर्ने बताउँछन् । “वर्षाअघि नै खाडललाई जमीनस्तरमा नल्याए पानी पर्दा दह जमेर डाँडा भासिन र भत्कनसक्छ, यो संवेदनशीलता पुरातत्वले हेरेको छैन, पुरातत्वले नसके देशवासीले दरबारको पुनःनिर्माण गर्छन्, देशवासीले नसके बाहिरको सहयोगमा पुनःनिर्माण हुन्छ”, उनले भने ।

जमीनको आधार (फाउन्डेसन) राम्रो भएन भने दरबार भासिन्छ भनेर खनिएको गोरखा दरबार हेरचाह अड्डाले जनाएको छ । तीन महिनाअघि खनिएको खाडल नपुर्दा पानी जम्ने सम्भावना रहेको स्थानीयवासी पुरुषोत्तम अर्यालले बताए ।

अड्डाका कार्यालय प्रमुख हरिप्रसाद भुसाल पुरातात्विक भवनको पुनःनिर्माणमा अन्यजस्तो हतार गर्नुनहुने बताउँछन् । “विसं १९९० को भूकम्पमा पनि पूर्वतर्फ पानी छिरेर गुफामा चुहिएको थियो, यसले गर्दा दरबारको पूर्वी भाग कमजोर भयो, यो भागलाई बलियो बनाउने गरी पुनःनिर्माण शुरु भएको छ”, उनले भने ।

गोरखा दरबार क्षेत्रका अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण हुने गरी पुनःनिर्माण गर्न कार्यालयले ध्यान दिएको कार्यालय प्रमुख भुसालको भनाइ छ । दरबार पुनःनिर्मााणका लागि गत कात्तिक ४ गते पचली शिवाको जेभी निर्माण व्यवसायीसँग सम्झौता भएको छ । दरबार पुनःनिर्माण २०७६ कात्तिक ३ गतेसम्म सम्पन्न हुनुपर्ने छ । ऐतिहासिक दरबार पुनःनिर्माण गर्न चार करोड ४७ लाख रूपैयाँ लाग्नेछ । तस्बिरः पूर्णप्रसाद मिश्र, रासस