पन्ध्र दिनभित्र राय सुझाव पेस गर्नेगरी मन्त्रिपरिषद्को बैठकले ६ जना प्राविधिक अध्ययन (सुझाव) टोली गठन गरेको छ ।
‘डोमेस्टिक’ एयरपोर्ट खोज्न विज्ञ समूह गठन गरिएको छ । विज्ञ समूहले १५ दिनभित्र एयरपोर्टका लागि उपयुक्त ठाउँ निर्धारण गर्ने छन् ।
पन्ध्र दिनभित्र राय सुझाव पेस गर्नेगरी मन्त्रिपरिषद्को बैठकले ६ जना प्राविधिक अध्ययन (सुझाव) टोली गठन गरेको छ । विज्ञ समूहमा इन्जिनियर कमलकुमार केसी (विज्ञ समूह) संयोजक, सदस्यहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकद्वय इन्जिनियर ध्रुवदास भोछिभोया तथा बाबुराम पौड्याल, उप–निर्देशकद्वय सुवर्ण उपाध्याय तथा सीताराम भण्डारी छन् । टोलीको सदस्यसचिवमा इन्जिनियर नलविक्रम थापा छन् ।
मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पदाधिकारीहरु, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका पदाधिकारीहरुले काभ्रेपलान्चोक जिल्लाको नागीडाँडा, ठूलीचौर र चिसापानीको स्थलगत अवलोकन गरेका थिए । स्थलगत अनुगमनपछि मन्त्री अधिकारीले विज्ञ समूह गठन गरी ठाउँको टुङ्गो लगाउने बताएका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एयर ट्राफिक चापलाई घटाउन राजधानी नजिकै ‘डोमेस्टिक’ एयरपोर्ट बनाउन मन्त्री अधिकारी लागिपरेका छन् । उनले आफूले मन्त्रालय सम्हालेको सय दिनभित्र ‘डोमेस्टिक’ एयरपोर्टको सम्भाव्यता अध्ययन पूरा गर्ने घोषणा गरेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यसअघि नै ठूलीचौरको सम्भाव्यता अध्ययन गर्न खोज्दा स्थानीयबासी र नगरपालिकाले विरोध जनाएका थिए । स्थानीयले विरोध गरेपछि क्यानले नागीडाँडाको प्रारम्भिक सम्भाव्यता अध्ययन समेत सुरु गरिसकेको छ ।