नेप्से सूचक ६ अङ्कले बढ्दा कारोबार रकम दोब्बर

नेप्सेमा वर्गीकृत १० समूह सूचकमध्ये होटल समूह ८.६७ अङ्क र अन्य समूह २.९६ अङ्क घटे पनि अन्य ७ ओटा समूह सूचक बढेपछि नेप्सेमा वृद्धि देखिएको हो ।

साताको अन्तिम बिहीबार दिन सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.७७ अङ्कले बढेको छ । नेप्से वृद्धिलाई निरन्तरता दिए पनि बुधबारको तुलनामा भने आधाले कम हो ।

बुधबार ११.३७ अङ्क बढ्दा बिहीबार भने वृद्धि ५.७७ अङ्कमा सीमित भएर नेप्से १३६६.१५ अङ्कमा चढेको छ । तर, कारोबार रकममा भने बुधबारको तुलनामा दोब्बरले वृद्धि भएको छ । बुधबार ३८ करोड ६ लाख ८ हजार रुपैयाँबराबरको कारोबार भएकोमा बिहीबार ७६ करोड ८३ लाख ७२ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यस दिन ७ हजार ७ सय १५ कारोबारबाट १४ लाख ६५ हजार ५ सय ९३ कित्ता शेयर खरिदबिक्री भएको हो । बिहीबारको कारोबारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब १० प्र्रतिशत कमाए भने मितेरी डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले ६ प्रतिशत हाराहारी गुमाए ।

नेप्सेमा वर्गीकृत १० समूह सूचकमध्ये होटल समूह ८.६७ अङ्क र अन्य समूह २.९६ अङ्क घटे पनि अन्य ७ ओटा समूह सूचक बढेपछि नेप्सेमा वृद्धि देखिएको हो । बुधबार दिनभरजसो कारोबारमा नेप्से वृद्धि देखिए पनि उतारचढाव भने राम्रै देखिएको छ । तुरुन्तै उच्च अङ्क प्राप्त गर्ने र फेरि तल झर्ने क्रम निरन्तर दोहोरिइरह्यो ।

एक पटक नेप्से बढेर १३७६.४४ अङ्कसम्म चढेको थियो भने कारोबारको अन्तिम समयतिर १३६५.२२ अङ्कसम्म झरेको थियो । बुधबार सबैभन्दा बढी बिमा उपसमूहको ७५.६२ अङ्क र सबैभन्दा कम बिकास बैङ्क उपसमूह सूचक ३.४९ अङ्कले बढेको छ ।