नेप्सेमा ‘ससर’ आकृति

मङ्गलबार सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक ५ दशमलव २ प्रतिशत बढ्यो । यता रिलायन्स फाइनान्सको सेयर मूल्य भने सर्वाधिक ४ दशमलव ४३ प्रतिशत घटेको छ ।

मङ्गलबार पनि नेप्से परिसूचक १ दशमलव ८ अङ्क घटेको छ । मङ्गलबारको दैनिक व्यापारमा नेप्सेको रेखाचित्रले ‘ससर’ (थाल) आकृति तयार पारेको छ । यो आकृतिले सेयर बजार बढ्ने सङ्केत गर्छ । अघिल्लो दिन पनि करिब ११ अङ्क घटेको नेप्सेमा मङ्गलबार करिब २ अङ्कको साँघुरो कमी देखिएको छ । यसले आगामी व्यापार दिन नेप्से बढ्न सक्ने देखिन्छ ।

लघुवित्त, बिमा, उत्पादन र व्यापार समूहका परिसूचक उकालो लागे पनि समग्र नेप्सेलाई उचाल्न सकेनन् । वाणिज्य बैङ्क, विकास बैङ्क, जलविद्युत्, होटेल र ‘अन्य’ समूहको परिसूचक ओरालो लागेको छ । मङ्गलबार नेप्सेमा ५७ करोड ७७ लाख रुपैयाँको सेयर व्यापार भयो । सोमबार करिब ५४ करोड रुपैयाँको व्यापार भएको थियो ।

यस दिन बुटवल पावर कम्पनीको १० करोड रुपैयाँको सेयर व्यापार भयो । कम्पनीले थप सेयर निष्कासन (एफपीओ) गर्न लागेपछि लगानीकर्ताको आकर्षण बढेको हो । एफपीओ जारी गर्दा प्राप्त हुने प्रिमियम रकमलाई कम्पनीले पुँजीकरण गर्नुपर्ने हुन्छ । त्यसो हुँदा स्थिर आम्दानी हुने जलविद्युत् कम्पनीको लाभांश दिने क्षमता अस्थायी रुपमा बढ्छ । नाफा बढी हुने यही आशामा लगानीकर्ता बुटवल पावर कम्पनीमा आकर्षित भएको हुन सक्ने ब्रोकरहरुले बताएका छन् ।

मङ्गलबार सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक ५ दशमलव २ प्रतिशत बढ्यो । यता रिलायन्स फाइनान्सको सेयर मूल्य भने सर्वाधिक ४ दशमलव ४३ प्रतिशत घटेको छ ।