नेपाल बैङ्कको सेयरमा झुम्मिँदै लगानीकर्ता

यो साता तीन दिन खुलेको सेयर बजारमा नेपाल बैङ्कको सेयर प्राथमिकता साथ खरिद बिक्री भएको छ भने अघिल्लो साता पनि उच्च प्राथमिकता पाएको थियो ।

पछिल्लो ३ सातामा सेयर बजारका लगानीकर्ता नेपाल बैङ्कको सेयरमा आकर्षित भएका छन् । यो साता तीन दिन खुलेको सेयर बजारमा नेपाल बैङ्कको सेयर प्राथमिकता साथ खरिद बिक्री भएको छ भने अघिल्लो साता पनि उच्च प्राथमिकता पाएको थियो । त्यसअघिको सातामा पनि नेपाल बैङ्कको सेयरले प्राथमिकता पाउँदै बढी कारोबार हुने पाँचौ कम्पनीका रुपमा दरिएको थियो ।

नेपाल बैङ्कले थप प्राथमिक निस्काशन (एफपीओ) ल्याउने सार्वजनिक गरेसँगै सेयर कारोबार तीव्र बृद्धि भएको छ । गत वर्षको चैतको तुलनामा खुद नाफा अझ घटेपनि बैङ्कको सेयरमा भने लगानीकर्ता झुम्मिइरहेका छन् । त्यसको एउटै कारण हो, बैङ्कले ल्याउन लागेको एफपीओ र त्यसपछि बैङ्कको लाभांशमा हुने बृद्धि ।

सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा यो साता सबैभन्दा बढी नेपाल बैङ्कको ८ करोड ५९ लाख २० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ । त्यसैगरी सेयर सङ्ख्याका हिसाबले पनि नेपाल बैङ्क नै अगाडि छ र उसको यो साता २ लाख ४२ हजार कित्ता सेयर किनबेच भएको छ । अघिल्लो साता पनि नेपाल बैङ्कको सबैभन्दा बढी रकम र सेयर कित्ताको कारोबार भएको थियो । त्यो साता ५ लाख २४ हजार कित्ता सेयर खरिद बिक्री भई १९ करोड १५ लाख १० हजार रुपैयाँबराबरको कारोबार भएको छ । त्यसभन्दा अघिल्लो साता पनि नेपाल बैङ्क बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पाँचौ स्थानमा थियो । त्यसबेला ९ करोड २२ लाख १० हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।

नेप्सेका अनुसार गत शुक्रबारदेखि बिहीबारसम्मको कारोबारमा १ सय ७६ कम्पनीहरुको सेयर किनबेच हुँदा १८ हजार ४ सय ८३ कारोबारबाट १ अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो साता ३२ लाख ४४ हजार ५ सय कित्ता सेयर खरिद बिक्री भएका छन् । गत साता ५ दिन कारोबार भएकोमा यो साता तीन दिन मात्र कारोबार हुँदा कारोबार रकममा ६६.६३ प्रतिशतले गिरावट आएको छ । गत साता १ सय ८२ कम्पनीको ४७ हजार ७१ कारोबारबाट ४ अर्ब ६९ करोड ६१ लाख ७९ हजार रुपैयाँ बराबरका १ करोड १ लाख ८५ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो ।

साताको पहिलो दिनको तुलनामा नेप्से १७.१४ अङ्कले पनि गत साताको अन्तिम दिन बिहीबारको तुलनामा भने ८.९३ अङ्कले मात्रै बजार बढेको छ । ३ दिन कारोबार हुँदा १ दिन बजार घटेर २ दिन सामान्य हिसाबले बढेको थियो ।