साढे १२ अङ्कले बजार झर्दा कारोबार ३६ करोडमा सीमित

पछिल्ला केही दिनमा कुनै दिन बजार सामान्य बढी हाल्ने त कुनै दिन घटिहाल्ने स्थिति सिर्जना गरेर चलायमान भएको सङ्केत दिएको छ । यसले बजार अब के हुन्छ भन्ने आकलन गर्न गाह्रो भएको छ ।

साताको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अङ्कले घटेको छ । ३ दिन कारोबार भएको गत साता २ दिन बजार बढे पनि आइतबार यसले निरन्तरता पाउन सकेन । सेयर बजार सूचक ओरालो लागेसँगै कारोबार रकममा पनि ह्वात्तै घटेको छ ।

आईतबार नेप्से १२.५१ अङ्क (०.९२ प्रतिशत)ले घटेर १३५३.६४ अङ्कमा सीमित भएको छ । कारोबार रकम पनि ३६ करोड १६ लाख ९६ हजार ७ सय ६३ रुपैयाँबराबरको भएको छ । यो गत बिहीबारको तुलनामा आधाभन्दा बढीले कम हो । यस दिन ६ हजार ६ सय ८२ कारोबारबाट ८ लाख ४३ हजार ४ सय १० कित्ता सेयर किनबेच भएको छ । गत बिहीबार ७६ करोड ८३ लाख ७२ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस दिन ७ हजार ७ सय १५ कारोबारबाट १४ लाख ६५ हजार ५ सय ९३ कित्ता सेयर खरिदबिक्री भएको थियो ।

पछिल्ला केही दिनमा कुनै दिन बजार सामान्य बढी हाल्ने त कुनै दिन घटिहाल्ने स्थिति सिर्जना गरेर चलायमान भएको सङ्केत दिएको छ । यसले बजार अब के हुन्छ भन्ने आकलन गर्न गाह्रो भएको छ । बजार बढ्ने वा घट्ने खासै राजनीतिक तथा आर्थिक कारण नभएकाले पनि कुनै दिन बजार बढ्ने र कुनै दिन घट्ने स्थितिलाई सामान्य मान्नुपर्छ ।

नेप्सेमा कारोबार भएका ९ समूहसूचकमध्ये वित्त शून्य दशमलव शून्य ६ अङ्कले बढेको बाहेक सबै समूह सूचकमा गिरावट आएको असर नेप्सेमा परेको हो । आइतबार सबैभन्दा बढी गिरावट बिमा समूह ६८.३२ अङ्क र कम अन्य समूह ६.६१ अङ्क आएको छ । आइतबार कारोबार सुरु भएलगत्तै बजार बढ्ने सङ्केत गरे पनि त्यो सम्भव भएन र निरन्तर दिनभर नै घटिरह्यो ।