नेपाली रेस्टुरेन्टमा ‘नेपाली मेनु’ अनिवार्य

सरकारले नेपाली रेस्टुरेन्ट तथा होटलमा नेपाली खानाको ‘मेनु’ राख्नैपर्ने नियम बनाउने भएको छ ।  नेपाली खानाको प्रवद्र्धन तथा बजारीकरण गर्न यस्तो नियम बनाउन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जानकारी दिए ।

‘स्वदेशी परिकार सबैभन्दा पहिलो स्वदेशी बजारमा छ्याप्छ्याप्ती हुनुपर्छ,’ उनले भने, ‘अनि मात्रै विदेशी बजारमा जान सकिन्छ ।’ विदेशबाट आउने पर्यटकले नेपाल घुमिसके लैजाने र विदेशमा नेपालबारे चर्चा गर्ने एकमात्र बस्तु भनेको नेपाली खानाको परिकार भएको अधिकारीले जानकारी दिए ।

रैथाने खाना बनाउने विधिसहितको पुस्तक तथा भिडियो विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अधिकारीले भने, ‘सबैभन्दा पहिला नेपाली परिकार नेपाली होटल तथा रेस्टुरेन्टको मेनुमा समेटिनुपर्यो ।’ नेपाली मेनुमा समेटिने वित्तिकै स्वदेशी कच्चा पदार्थको सदूपयोग हुनुका साथै रोजगारीको अवसर पनि धेरै हुने उनको भनाइ छ ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले स्वदेशी होटल तथा रेस्टुरेन्टमा नेपाली खानाको परिकारको मेनु समावेश हुने वित्तिकै ठूलो ब्रान्डिङ हुने बताए । नेपालका ठूला तथा तारे होटलले नेपाली मेनु राख्ने वित्तिकै अन्तर्राष्ट्रिय समूदायमा पुग्ने अधिकारीले बताए ।

कार्यक्रममा नेपाली रैथाले खानालाई विश्व बजारमा स्थापित गराउने अभियानअन्तर्गत तयार पारिएको यस्ता खाना पकाउने ज्ञान प्रदान गर्ने कुक बुक एवम् भिडियो लन्च भएको छ ।

देशभरबाट संङकलित झण्डै दुई सय प्रकारका रैथाने खाना पकाउने विधि, सामग्री आदिलाई विशेषज्ञ सेफको टोलीले अध्ययन गरी विभिन्न ३० प्रकारका रैथाने खानाको कुक बुक तथा भिडियो तयार पारिएको अभियानका संयोजक तथा होटल सङ्घ नेपालका महासचिव विनायक शाहले बताए ।