गौतमबुद्ध क्षेत्रीय विमानस्थलको काम ४० प्रतिशत सकियो

धावनमार्ग, प्रशासनिक भवन संरचना, नाली काट्ने, रेस्क्यू एन्ड फायर फाइटिङ भवन निर्माणकाे काम सकिएकाे छ ।

भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ४० प्रतिशत सकिएको छ । धावनमार्ग, प्रशासनिक भवन संरचना, नाली काट्ने, रेस्क्यू एन्ड फायर फाइटिङ भवन निर्माण लगायतका काम सकिएर टर्मिनल भवन, पार्किङ क्षेत्र, ग्रेबलिङको काम झन्डै अन्तिम चरणमा पुगेको आयोजना प्रमुख ओमनारायण शर्माले जानकारी दिए ।

उनले आगामी मङ्सिरसम्म टर्मिनल भवनको छाना निर्माण भइसक्ने र असोजदेखि चैतसम्म धावनमार्गको पिच गर्ने काम सक्ने लक्ष्य रहेको बताए । ‘आयोजनाको काम तीव्र रुपमा भइरहेको छ’ उनले भने, ‘चैतसम्म आयोजनाको आधारभूत काम धावनमार्गमा पिच गर्ने काम सक्छौं ।’ आयोजनाको काम आगामी दुइ वर्षभित्र सक्ने लक्ष्य रहेको शर्माले बताए । पहिलो कन्ट्रोल टावर बिल्डिङ बनाउने काम तीव्ररुपमा भइरहेको छ ।

चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्ट्रक्सन ग्रुपले आयोजना निर्माणको काम गरिरहेको छ । सुरुमा सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहेपनि उक्त समयमा बनाउन नसकेपछि म्याद थपेर २०१८ जुनसम्म निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको प्रमुख शर्माले बताए । ६ अर्ब २२ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना ७ सय ८७ विघा क्षेत्रफलमा फैलिएको छ ।

उनले अहिलेसम्म डेढ अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिए । अायाेजनमा एसियाली विकास बैङ्क (एडीबी)को ऋण अनुदान क्रमशः ७१ प्रतिशत ऋण, १८ प्रतिशत अनुदान र ११ प्रतिशत नेपाल सरकारको लगानी छ ।