साँफेबगर विमानस्थल कालोपत्रे हुँदै

एक वर्षभित्रै सम्पन्न हुने गरी साँफेबगर विमानस्थलको निर्माण गर्ने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ । गत चैत ९ गते सम्पन्न हुनुपर्ने विमानस्थलको काम मौसम, स्थानीय, प्रदेश र सङ्घको निर्वाचनका कारण केही ढिलाइ भएको जनाइएकोछ ।

साँफेबगर विमानस्थलमा यतिखेर कालोपत्रेको काम भइरहेको छ । द्वन्द्वकालमा ध्वस्त भएको यो विमानस्थलको काम भइरहँदा स्थानीयवासीलाई हवाईजहाज चढ्ने आशा पनि पलाएको छ ।

एक वर्षभित्रै सम्पन्न हुने गरी साँफेबगर विमानस्थलको निर्माण गर्ने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ । गत चैत ९ गते सम्पन्न हुनुपर्ने विमानस्थलको काम मौसम, स्थानीय, प्रदेश र सङ्घको निर्वाचनका कारण केही ढिलाइ भएको जनाइएकोछ ।

विमानस्थलको काम सम्पन्न गर्न तीन महिनाको म्याद थपिएको छ । अमर कन्ट्रक्सनले एक महिनाभित्रै विमानस्थलको सम्पूर्ण काम पूरा हुने बताएको छ । माओवादी आक्रमणका बेला २०५८ फागुनमा टावर ध्वस्त हुँदा बन्द भएको साँफेबगर विमानस्थल केही समय सञ्चालन भए पनि २०६२ देखि पूर्ण रूपमा बन्द छ ।

अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनका लागि सरकारले ११ करोड १७ लाख रूपैयाँ बजेट विनियोजन गरेसँगै विमानस्थलको काम सुचारु भइरहेको हो । निर्माण गर्ने जिम्मा पाएको अमर कन्ट्रक्सनका देवीलाल न्यौपाने एक महिनाभित्रै विमानस्थलको सम्पूर्ण काम पूरा हुने बताउँछन् । उनका अनुसार ‘स्थानीय चुनावका कारण निर्माण कार्यमा केही ढिलाइ भएको छ । माटो कटान, नाली, बेस, सव–बेससहित ५५० मिटर लम्बाई र २० मिटर चौडाइ गर्ने काम सकिएको छ ।

सुदूरपश्चिममा धनगढीको गेटा विमानस्थल पछि विमान अवतरण गराउन सबैभन्दा सजिलो एयरपोर्टका रूपमा यसलाई लिइने गरिन्छ । साँफेबगर विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्ला बाहिर जाने र सिकिस्त बिरामीलाई समस्या पर्दै आएको छ । ‘विमानस्थल सञ्चालनमा नहुँदा हालसम्म थुप्रै गर्भवती महिला तथा अन्य बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाएको’ साँफेबगर नगरपालिका–४ का वडा अध्यक्ष बालगिरी कुँवर बताउँछन् ।

उनका अनुसार ‘विमानस्थल सञ्चालनमा आएपछि अहिले खेप्दै आएका समस्याबाट छुटकारा पाउन सकिने र बिरामी भएका बेला सजिलै आवतजावत गर्न सकिन्थ्यो । “विमानस्थल सञ्चालन नहुँदा यहाँका बासिन्दाले ११/१२ घण्टाको बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता छ,” उनले भने– “विमानस्थलको काम छिटोछरितो र गुणस्तरीय बनाउन आफूहरु सुझाव दिइरहेका छौँ ।”

साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले जिल्लाको पर्यटन प्रवर्द्धनका लागि मेरुदण्डका रूपमा विमानस्थललाई लिइएकाले पनि यसलाई छिटो सञ्चालन हुने गरी काम भइरहेको बताए । उनले भने, “विमानस्थल सञ्चालनमा आएपछि अछामको रामारोशन, वैद्यनाथ, बान्नीगडी, पञ्चदेवल, बाजुराको बडिमालिका र खप्तड लगायतका क्षेत्रमा पर्यटक भित्रयाउन उपयोगी हुनेछ ।”

“यो विमानस्थल सञ्चालनमा आएपछि आछामको समृद्धि र रोजगारीका अवसरको सम्भावना खुल्नेछ,” प्रमुख कुँवरले भने, “हवाई सेवा नहुँदा यहाँको धार्मिक एवं पर्यटीय क्षेत्रमा नराम्रो धक्का पुगेको छ, त्यसैले यो विमानस्थलको निर्माण कार्य छिटो सक्नुपर्दछ ।”

अछामकै कमल बजार विमानस्थल पनि गौचरणको रुपमा परिणत भइसकेको छ । हवाई मार्ग सञ्चालनमा आएपछि यो क्षेत्रमा रहेका नेपालका चार धाममध्येको एक वैद्यनाथधाम, खप्तड पर्यटनक्षेत्र, रामारोशन, निर्माणाधिन बूढीगंगा जलविद्युत् आयोजना, बान्नीगढी, पञ्चदेवल र बाजुराको बडिमालिका जस्ता पर्यटकीय क्षेत्रको विकासको सम्भावनाको ढोका खुल्ने विश्वास गरिएको छ । रासस