छ हजार ९ सय मिटर टनेलमध्ये ४ हजार ६ सय मिटर टनेल खनिसकिएको र बाँकी २ हजार ३ सय मिटर टनेल निर्माणको काम तीव्र रुपमा अगाडि बढाइएको आयोजनाका प्रबन्धक मनोहरि सापकोटाले जानकारी दिए ।
दोलखामा निर्माणाधीन २५ मेगावाट क्षमताको सिङ्गटीखोला जलविद्युत् आयोजनामा दुई हजार ३ सय मिटर टनेल खन्ने काम बाँकी छ । छ हजार ९ सय मिटर टनेलमध्ये ४ हजार ६ सय मिटर टनेल खनिसकिएको र बाँकी २ हजार ३ सय मिटर टनेल निर्माणको काम तीव्र रुपमा अगाडि बढाइएको आयोजनाका प्रबन्धक मनोहरि सापकोटाले जानकारी दिए ।
‘आयोजनाको टनेल खन्न दुई हजार ३ सय मिटर मात्रै बाँकी छ,’ उनले भने, ‘काम दु्रत गतिमा भइरहेको छ ।’ उनले आगामी दशैैँ अगावै टनेल निर्माणको काम सक्ने लक्ष्य रहेको जानकारी दिए । उनका अनुसार आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएको छ । सिङ्डटीखोला आयोजनामा हेडबक्स, ग्राभेल, बाँध निर्माणको काम ८२ प्रतिशत सकिएको छ । त्यस्तै विद्युत् गृह निर्माण, पेनस्टकको काम पनि तीव्र रुपमा अगाडि बढेको प्रबन्धक सापकोटाले क्यापिटल नेपाललाई जानकारी दिए ।
‘अहिले टनेल निर्माणतर्फको काम तीव्ररुपमा भइरहेको छ,’ सापकोटाले भने, ‘अहिलेसम्म आयोजनाको ७५ प्रतिशत काम पूरा भएको छ । त्यसबाहेक सिभिलतर्फको काम पनि तीव्र गतिमा भइरहेको छ ।’ उनले अन्य आयोजनाको तुलनामा सिङ्गटी आयोजना निर्माणको हिसाबले सफल आयोजना रहेको बताए ।
आरजे एन्ड सूर्य कम्पनीले निर्माण गरिरहेको आयोजनामा चार ठाउँबाट टनेल बनाउने काम भइरहेको छ । वि.सं २०६७ सालमा आयोजनाले निर्माणको अनुमति पाएको थियो । २०७५ को चैत मसान्तसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको सापकोटाको भनाइ छ ।
सुरुमा विद्युत् खरिद सम्झौता (पीपीए) १६ मेगावाटको गरेको र आयोजनाको थप अध्ययनपछि २५ मेगावाटका लागि पीपीए सम्झौता भएको जनाइएको छ । सिभिल वर्क र हाइड्रो मेकानिकल क्रिमको ठेक्का क्रमशः रामेछाप शेर्पा कन्ट्रक्सन प्रालि र क्रिम हाइडल प्रालि बुटवलले पाएका छन् । त्यस्तै बाटो निर्माणमा आरजे कन्ट्रक्सन, इलेक्ट्रो मेकानिकलको क्विकाइन एलोन्स कम्पनीले पाएका छन् । सिङ्गटी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् सिङ्टी सब—स्टेसनमा जोडिने छ ।
तर, विगत ७ वर्षदेखि सब—स्टेसन निर्माणको काम अलपत्र छ । आयोजना सम्पन्न हुँदासम्म सिङ्टी—लामो साँघु प्रसारण लाइन नबनाए प्राधिकरणले ४५ प्रतिशत जरिवाना आयोजनालाई तिर्नु पर्ने हुन्छ ।