काष्ठमण्डपको पुनःनिर्माण ३ वर्षभित्र सक्न पर्यटनमन्त्री अधिकारीको निर्देशन

काष्ठमाण्डप पुनःनिर्माण समितिले आयोजना गरेको क्षमा पूजा पश्चात् आयोजित कार्यक्रम मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीले ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण ३ वर्षभित्र गरिसक्न निर्देशन दिएका छन् । काष्ठमाण्डप पुनःनिर्माण समितिले आयोजना गरेको क्षमा पूजा पश्चात् आयोजित कार्यक्रम मन्त्री अधिकारीले यस्तो निर्देशन दिएका हुन् ।

उनले ऐतिहासिक र पुरातात्त्विक धरोहर काष्ठमण्डपको पुनःनिर्माणको थालनी भएकामा खुसी व्यक्त गर्दै काममा कुनै ढिलाइ नगरी तोकिएको समयमावधि भित्रै सक्न निर्देशन दिएका हुन् । उनले भूकम्पपछि काष्ठमाण्डप पुनःनिर्माणले गति लिन नसके सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने तयारी अधुरो हुने बताए । ‘आगामी ३ वर्षमा काष्ठमण्डप बनाइसक्न स्थानीयलाई नेपाल सरकारले जिम्मेवारी दिएको छ,’ उनले भने, ‘काष्ठमाण्डप बनिसक्यो भने सन् २०२० लाई हामीले भ्रमण वर्षका रुपमा मनाउने भनेका छौँ । यसबाट १५ होइन, २० लाख पर्यटक पु¥याउन सक्छौँ ।’

उनले उपत्यकाभित्रका अन्य पुरातात्त्विक सम्पदाहरुको पुनःनिर्माणमा भइरहेका ढिलाइ तथा काम सुरु हुन नसकेका विषयमा सरकारलाई प्रतिवेदन दिन आग्रह गरे । ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदाहरुको पुनःनिर्माणका लागि सरकारले स्थानीय सरकार, पुनःनिर्माण प्राधिकरण र पुरातत्त्व विभाग सबैसँग सहकार्य गर्न तयार रहेको जानकारी दिए ।

‘धरहरा पुनःनिर्माणका लागि बोलपत्र आह्वान गरिसकिएको छ । त्यस्तै रानीपोखरीको काम जेठ १५ गतेदेखि सुरु गर्न काठमाण्डौ महानगरपालिका लागि परेको छ,’ उनले भने, ‘काष्ठमाण्डपको काम आजबाट सुरु भएको छ । यसको पुनःनिर्माण यहाँका स्थानीय जनताले बनाउँदै हुनुहुन्छ । विश्वास छ, स्थानीय जनताले बनाएको सम्पदा राम्रो हुनेछ । मजबुद हुनेछ ।’

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काष्ठमाण्डपको पुनःनिर्माणमा महानगरपालिकाले पुनःनिर्माण प्राधिकरण, पुरातत्त्व विभागसँग सहकार्य गरी अगाडि बढ्ने बताए । ‘काष्ठमाण्डपको काम अब रोकिँदैन,’ मेयर शाक्यले भने, ‘महानगरपालिकाले जनभावना अनुरुप पुनःनिर्माणमा होस्टेमा हैसे गर्नेछ ।’ शताव्दी पुरुष सत्यमोहन जोशीले काष्ठमाण्डप देशको सार्वभौमिक सम्पदा भएकाले यसको पुनःनिर्माणका लागि सबै जुट्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत युवराज भूषाल, काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी लगायतको उपस्थिति थियो ।

पाँचौं शताब्दीमा बनेको उक्त ऐतिहासिक सम्पदा गत २०७२ बैशाख १२ गतको विनाशकारी भूकम्पमा ढलेको थियो । स्थानीय सरकार, प्राधिकरण, पुरातत्त्व विभागको सहयोग र स्थानीय जनताको सक्रियतामा काष्ठमण्डप ३ वर्षभित्र बन्ने काष्ठमण्डप पुनःनिर्माण समितिका सचिव गौतम डङ्गोलले जानकारी दिए ।