अहिले आयोजनामा पूर्वाधार निर्माणका काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.८ मेगावट क्षमताको खिम्ती—२ जलविद्युत् आयोजना निर्माणको काम सुरु भएको छ । अहिले आयोजनामा पूर्वाधार निर्माणका काम धमाधम भइरहेको आयोजनाले जनाएको छ । पुल निर्माण, सडक निर्माण तथा विस्तार, आवास क्याम्प लगायतका काम भइरहेको आयोजनाका इन्जिनियर रामहरि शर्माले जानकारी दिए ।
‘प्रोजेक्टको सर्भे र विस्तृत इन्जिनियरिङ पश्चात् सुरुआती पूर्वाधार निर्माणका काम भइरहेका छन्’ उनले भने, ‘आयोजनाको मुख्य निर्माण कार्य आगामी दशैँ अगावै सुरु गर्ने योजना छ ।’
उनका अनुसार अहिले आयोजनास्थलमा पुलहरु बनिरहेका छन् । तीन ओटा पुलमध्ये एउटा पुलको निर्माण अन्तिम चरणमा पुगेको र अन्य दुई पुल निर्माण भइरहेका छन् । त्यस्तैगरी आयोजनास्थलसम्म पुग्ने र आसपासका क्षेत्रका लागि ९ किलोमिटर सडकमध्ये ३ किलोमिटर सडक निर्माण भइसकेको छ ।
चिनिया कम्पनी चोङजिङ वाटर टर्बाइन वक्र्स (सीडब्ल्यूटीडब्ल्यू) चाइनाले काम गरिरहेको छ । झन्डै ९ अर्ब रुपैयाँको लागतमा निर्माणको ठेक्का सम्झौता पाएको उक्त आयोजना चिनिया कम्पनीको इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा बन्ने छ । पिपुल्स इनर्जी लिमिटेड र चिनियाँ कम्पनीबीच गत २०७४ फागुन ३० गते आयोजना निर्माणका लागि सम्झौता भएको थियो ।
झन्डै डेढ वर्षअघि निर्माण अनुमति पाएको आयोजनाले आगामी २०७७ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्छ ।