चार लाखभन्दा बढी लाभग्राहीको दोस्रो किस्ता प्रमाणीकरण

स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्तिको उपलब्धता र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको सङ्ख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए ।

भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

स्थानीय तहसँगको सहकार्य, प्राविधिक जनशक्तिको उपलब्धता र निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण गरिएकाले घर बनाउनेको सङ्ख्या बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए । मङ्गलबारसम्मको तथ्याङ्कअनुसार दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएकामध्ये चार लाख दुई हजार ७ सय ३ लाभग्राहीको नाम प्रमाणीकरण भएको छ ।

निजी आवास पुनर्निर्माणले गति लिएसँगै एक लाख ५२ हजार १ सय ३० घरको पुनर्निर्माण सम्पन्न भएको छ । पछिल्लो तथ्याङ्कअनुसार चार लाख ५३ हजार ६ सय ८३ घरको पुनःनिर्माण भइरहेको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये दोलखामा सबैभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको छ । सिन्धुपाल्चोकमा सबैभन्दा धेरै घर निर्माण भइरहेको छ । दोलखामा अहिलेसम्म २८ हजार ८ सय ७ घरको पुनःर्निर्माण सम्पन्न भएको छ । दोलखामा ४८ हजार २ सय ७१ घर पुनःनिर्माण भइरहेको छ ।

अहिलेसम्मको तथ्याङ्कअनुसार सिन्धुपाल्चोकमा ६९ हजार ४ सय १५ घरको पुनर्निर्माण भइरहेको छ । सिन्धुपाल्चोकमा २० हजार ९ सय ७१ घर निर्माण सम्पन्न भइसकेको छ । कुल सात लाख ६७ हजार ७ सय ५ लाभग्राही सूचीमा रहेकामा सात लाख दुई हजार ३ सय ९४ घरधुरीले पहिलो किस्ता लिइसकेका छन् ।

यसैगरी तेस्राे किस्ता भुक्तानीका लागि निवेदन दिने लाभग्राहीको सङ्ख्या एक लाख ४८ हजार ४ सय ८४ पुगेको छ । तेस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको लाभग्राहीको सङ्ख्या एक लाख ४० हजार ५ सय ६० पुगेको प्राधिकरणले जनाएको छ ।

भूकम्पले घर क्षति भई लाभग्राही सूचीमा परेकाले पुनःनिर्माणका लागि पहिलो तीन किस्तामा अनुदान पाउँछन् । पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता एक लाख ५० हजार र तेस्रो किस्तामा एक लाख रूपैयाँ दिने प्राधिकरणको कार्यविधि छ । रासस