नयाँ उद्योगका लागि १० महिनामै दुई खर्ब ६९ अर्ब प्रतिबद्धता

विभागको तथ्याङ्क अनुसार दर्ता भएका उद्योगको स्थिर पुँजी दुई खर्ब ५१ अर्ब छ भने कार्य सञ्चालन पुँजी एक १८ अर्ब २४ करोड छ । दर्ता भएका तीन सय ५८ उद्योगमा २१ हजार पाँच सय ६२ जनाले रोजगारीको अवसर पाउने विभागले जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको १० महिनामा दुई खर्ब ६९ अर्ब ६१ करोड लगानीका उद्योगमा प्रतिबद्धता आएको छ । उद्योग विभागको पछिल्लो तथ्याङ्कअनुसार कृषिजन्यमा दुई अर्ब १३ करोड, निर्माणमा चार अर्ब ७३ करोड, ऊर्जाक्षेत्रमा एक खर्ब ८२ अर्ब रुपैयाँ, सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा ६० करोड, उत्पादनमूलकमा ६० अर्ब ५६ करोड, खनिजमा दुई अर्ब २२ करोड, सेवामूलकमा चार अर्ब पाँच करोड, १२ अर्ब ५४ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।

१० महिनाको अवधिमा सबैभन्दा बढी लगानी जलविद्युत् क्षेत्रमा आएको विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले जानकारी दिए । चालू आवको वैशाखसम्ममा जलविद्युत् क्षेत्रमा स्वदेशी लगानी नै बढिरहेको उनको भनाइ छ । ‘ऊर्जापछि सबैभन्दा बढी लगानी उत्पादन मुलक क्षेत्रमा आएको छ’, उनले भने ।

उनका अनुसार चालू आवको १० महिनामा तीन सय ५८ ओटा उद्योग विभागमा दर्ता भएका छन् । यसमध्ये कृषिमा १५, निर्माणमा चार, जलविद्युत्मा ३२, सूचना प्रसारण तथा सञ्चार क्षेत्रमा १७, उत्पादनमूलकमा एक सय पाँच, खनिजमा तीन, सेवामूलकमा ८० र पर्यटन क्षेत्रमा एक सय दुई ओटा उद्योग दर्ता भएका छन् । विभागको तथ्याङ्क अनुसार दर्ता भएका उद्योगको स्थिर पुँजी दुई खर्ब ५१ अर्ब छ भने कार्य सञ्चालन पुँजी एक १८ अर्ब २४ करोड छ । दर्ता भएका तीन सय ५८ उद्योगमा २१ हजार पाँच सय ६२ जनाले रोजगारीको अवसर पाउने विभागले जानकारी दिएको छ ।

विभागमा दर्ता भएका उद्योगमध्ये विदेशी लगानीका मात्रै ५४ अर्ब ६२ करोड लागानीबराबरका उद्योग रहेको विभागका वैदेशिक शाखाका उपनिर्देशक गजेन्द्र बस्नेतले जानकारी दिए । १० महिनामा विदेशी लगानीका दुई सय ६१ उद्योग दर्ता भएको उनको भनाइ छ । वैदेशिक लगानीका उद्योगमध्ये कृषिजन्यमा १५, जलविद्युत्मा पाँच, सूचना सञ्चारमा २१, उत्पादनमूलकमा ४९, खनिजमा एक, सर्भिसमा ७९ र पर्यटन क्षेत्रमा ९१ उद्योग दर्ता भएको बस्नेतको भनाइ छ । विदेशी लगानीका दुई सय ६१ उद्योगमा ९ हजार ६ सय ९८ जनाले रोजगारीको अवसर पाउनेछन् ।