ट्रस्टबिज र बेल्जियन बैङ्किङ एकेडमीबीच सम्झौता

ट्रस्टबिज तथा बेल्जियन बैङ्किङ एकेडमीले पारस्परिक सहकार्यमा बेल्जियम तथा अन्य युरोपियन देशमा आयोजित विभिन्न बैङ्किङ तालिमका लागि विशेषज्ञ तथा ज्ञान अदान–प्रदान गर्नेछन् ।

ट्रस्टबिज प्राइभेट लिमिटेड र ब्रसेल्सस्थित बेल्जियन बैङ्किङ एकेडमीबीचच बैकिङ सम्बन्धमा उच्चस्तरीय अध्ययन एवम् प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालनका लागि सहकार्य गर्ने सम्झौता भएको छ ।

बेल्जियन बैङ्किङ एकेडमी बेल्जियन बैङ्किङ एसोसिएसनबाट बैङ्किङ तालिम प्रदान गर्न स्थापना गरिएको संस्था हो । यसले युरोपका बैङ्कका पदाधिकारी तथा अधिकृतहरुको क्षमता अभिवृद्धिका आवश्यकता पूर्ति गर्न आवश्यक तालिम उपलब्ध गराउँछ । ट्रस्टबिज तथा बेल्जियन बैङ्किङ एकेडमीले पारस्परिक सहकार्यमा बेल्जियम तथा अन्य युरोपियन देशमा आयोजित विभिन्न बैङ्किङ तालिमका लागि विशेषज्ञ तथा ज्ञान अदान–प्रदान गर्नेछन् ।

यस सहकार्यले बैङ्कहरुका सञ्चालक समितिका पदाधिकारीहरुलाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन, स्वार्थको द्वन्द्व, अनुपालना, नियामक निकायसँगको सम्बन्ध एवम् समन्वय लगायतका विषयमा अन्तर्राष्ट्रिय असल अभ्यास विषय समेटिएको अभिमुखीकरण तथा पुनर्ताजगीकरण प्रशिक्षण प्रदान गर्नेछन् । यसैगरी बैङ्कका उच्च व्यवस्थापनमा रहेका अधिकृतहरुलाई जोखिम व्यवस्थान, सञ्चालन, बैङ्किङ प्रविधि र नयाँ बैङ्किङ र वित्तीय उपकरणहरुको प्रयोगको तालिम ट्रस्टबिजको समन्वयमा बेल्जियन बैङ्किङ एकेडमीले प्रदान गर्नेछ ।

यस सम्झौताले परिपक्व तथा विकसित युरोपियन बैङ्किङको अनुभव, ज्ञान र सीपमा नेपाली बैङ्कहरुको पहुँच पुर्याएको ट्रस्टबिजका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेले बताए ।