किन जन्मँदैनन् नयाँ उद्यमी ? यसाे भन्छन्, युवा उद्यमीहरू

नेपालमा ठूलो व्यवसायभन्दा सानो लगानीमा गरिने व्यवसाय फस्टाउँदै गएका छन् । विषेशगरी कफी सप, टेलरिङ, ब्युटी पार्लर, व्यावसायिक कृषिखेती, होटल–रेस्टुराँलगायत क्षेत्रमा नयाँ इन्टरप्रेनरसिप विकास हुन सक्छन् ।

फागुन अन्तिम साता झापाका युवा मोहित प्रधानले भावुक हुँदै भने, ‘आफ्नै घरगाउँमा महिनाको २०–२५ हजार कमाउन सकिएको भए किन दलाललाई पैसा खुवाएर अर्काको देश जान्थेँ र ?’ महिनाको ३० हजार तलब पाउने गरी उनी दुबई जाँदै थिए । झापामै कफीसप खोल्ने उद्देश्यले यिनले केही बैङ्क तथा वित्तीय संस्थामा ऋणका निम्ति धाए पनि, तर कसैले पत्याएन ।

सहकारीले ऋण दिन तयार भए पनि चर्को ब्याजदरका कारण लिन नसकेको उनी बताउँछन् । प्रधानजस्तै थुप्रै युवा हरेक दिन त्रिभुवन विमानस्थलमा भेटिन्छन् । तीमध्ये अधिकांश बाध्यताले विदेश काम गर्न जान लागेको बताउँछन् ।

पूरा लगानी गरेर व्यवसाय सुरु गर्न नसक्ने भएपछि युवाहरु बैङ्क तथा वित्तीय संस्थाको ढोका ढकढक्याउन पुगे पनि त्यसले सफलता पाउन सक्दैन । बैङ्करुले जोखिम मोलेर लगानी गर्न नचाहेकाले युवा तथा नयाँ इन्टरप्रेनरसिपको विकास हुन नसकेको नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् । ‘नेपालमा जति व्यवसाय भइरहेको छ, एकाधबाहेक सबै लिगेसीमा चलेको छ,’ उनी भन्छन्, ‘देशले अहिले पनि नयाँ उद्यमी पाउन सकेको छैन । वर्षौंदेखि औद्योगिक तथा व्यावसायिक घरानाले नेपालमा व्यवसाय चलाउँदै आएका छन् ।’

विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिकामा व्यावसायिक घरानाभन्दा ससानो लगानीमा व्यवसाय गर्नेको अर्थतन्त्रमा ठूलो योगदान रहेको डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्य बताउँछन् । ‘ठूला लगानीकर्ताको योगदान पनि कम छैन,’ उनी भन्छन्, ‘ससानो लगानी गरेर व्यवसाय गर्नेको जमात ठूलो छ । नेपालमा पनि त्यो अत्यन्तै आवश्यक भइसकेको छ ।’

नेपालमा ठूलो व्यवसायभन्दा सानो लगानीमा गरिने व्यवसाय फस्टाउँदै गएका छन् । विषेशगरी कफी सप, टेलरिङ, ब्युटी पार्लर, व्यावसायिक कृषिखेती, होटल–रेस्टुराँलगायत क्षेत्रमा नयाँ इन्टरप्रेनरसिप विकास हुन सक्ने लोमस ग्रुप अफ इन्डस्ट्रिजका निर्देशक प्रबलजङ्ग पाण्डे बताउँछन् ।

नेपालको श्रमबजारमा काम खोज्दै हरेक वर्ष पाँच लाखभन्दा बढी बेरोजगार युवाको प्रवेश हुन्छ । तर, सरकार र निजीक्षेत्रमा गरेर बढीमा ५० हजार जनालाई मात्र काम दिन सक्ने क्षमता छ । यही कारण पनि स्वरोजगारी वा इन्टरप्रेनरसिपको महङ्खव नेपालमा दिनप्रतिदिन बढ्दै गएको छ । तर, कुनै पनि दलको सरकारले वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्स घटेकोमा चिन्ता प्रकट मात्रै गर्दै आएका छन् । तिनलाई युवा इन्टरप्रेनरसिपबारे कुनै चासो र चिन्ता छैन न त निजीक्षेत्रका बैङ्क तथा वित्तीय संस्थालाई नै यस्तो जिम्मेवारीबोध भएको देखिन्छ ।

केही समयअघि व्यावसायिक घराना चौधरी ग्रुप र निम्बस मिलेर नयाँ आइडिया ल्याउने, तर पैसा नहुनेलाई लगानी गरेर उद्यमशीलताको विकास गर्ने योजना ल्याइएको थियो । उनीहरुले ‘इन्नोभेटिभ आइडिया’ ल्याउनेलाई लगानी गर्ने बताएका थिए । अहिले पनि उनीहरु उद्यमशीलता विकास गर्न लागिपरेका छन् । उनीहरुले हिमालयन क्लाइमेट इनिसियटिभ नामक संस्था खोलेर ‘फाइनान्स योर ड्रिम’ कार्यक्रमसमेत ल्याएका थिए । तर, त्यसले पनि प्रगति गर्न सकेन ।

प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन लगानी सुरक्षित हुने ठाउँमा मात्रै बैङ्कहरुले ऋण प्रवाह गर्ने गरेकाले पनि नयाँ इन्टरप्रेनरको जन्म हुन नसकेको स्विकार्छन् । ‘बैङ्कहरुलाई नयाँ उद्यमीलाई लगानी गर्नुभन्दा नाम चलेका उद्योगी तथा व्यापारिक घरानालाई लगानी गर्दा सुरक्षित महसुस हुन्छ,’ उनले भने, ‘त्यही भएर पनि नयाँ इन्टरप्रेनर नआएका हुन् ।’

सरकारले रोजगारी सिर्जना गर्ने उद्योगलाई प्राथमिकताका साथ अघि बढाउने बताए पनि तीव्र गतिमा नयाँ उद्यमशीलता विकास हुन सकेको छैन । नेपालमा बेरोजगारहरुको प्रश्नले हरेक सरकार घेरिँदै आएका छन् । हरेक दिन करिब डेढ हजार युवा देश छाडेर रोजगारीका लागि विभिन्न मुलुक पुग्ने गरेको मुलुकमा सरकारलाई स्वदेशमै रोजगारीबारे प्रश्न गर्नु अस्वाभाविक होइन । किनकि, आफ्नै थातथलोमा रोजगारी प्राप्त हुन्छ भने कोही पनि पराइ भूमिमा रगत–पसिना बगाउन जाँदैन । यसको अर्थ स्वरोजगारी सहज छ भन्ने पक्कै पनि होइन ।

युवा उद्यमी मञ्चका अध्यक्ष अजय श्रेष्ठका अनुसार बैङ्रकले नयाँ लगानीकर्तामाथि विश्वास गरेर लगानी गर्न नसकेकाले नयाँ उद्यमी जन्मन नसकेकाे बताए । ‘स्थापित व्यावसायिक घरानामा बैङ्कहरू जति पनि लगानी गर्न चाहान्छन्,’ उनले भने, ‘तर, नयाँ मान्छे व्यवसाय गर्छु भनेर बैङ्कसम्म गयाे भने बैङ्कले विभिन्न बहाना बनाएर पन्छिन्छन्, ।’

एकातिर नयाँ उद्यमी प्रवेश गर्न सकिरहेका छैनन् भने अर्कोतिर भइरहेका साना उद्यमीलाई पनि सरकार, बैङ्कलगायतले संरक्षण गर्न नसकेकाले विस्थापित हुँदै गएका छन् । खासगरी, कृषिकर्मबाट जन्मेका उद्यमी यो क्षेत्रबाट पलायन भएर विदेश हानिएका छन् । कृषिबाट भविष्य खोज्ने भन्दै सानो लगानीमा व्यवसाय सुरु गरेका धेरै युवा व्यवसाय बन्द गरेर विदेश लागेका पाइन्छन् ।

उत्पादनपछिको बजार सुरक्षित नहुनु, सानो व्यवसायलाई प्रवद्र्धनको नीति नहुनुलगायत समस्याका कारण कृषि क्षेत्रबाट ठूलो सङ्ख्यामा इन्टरप्रेनर पलायन भएका छन् । कुखुरा फार्म, गाई तथा भैसी फार्म खोलेर स्वरोजगार बनेका धेरै युवाको अन्तिम विकल्प विदेश बन्दै गएको छ । ती युवालाई त्यही व्यवसायमा अडाइराख्ने हो भने नयाँ पुस्ता पनि त्यस क्षेत्रमा आकर्षित हुने नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणा बताउँछिन् ।

छिमेकी मुलुक भारतमा हालै गरिएको एक सर्भेले इन्टरप्रेनरसिपको असफलताबारे चिन्ताजनक तथ्याङ्क अगाडि ल्याइदिएको छ । ग्लोबल इन्टरप्रेनरसिप मनिटर (जीईएम) इन्डिया रिपोर्ट २०१६÷१७ अनुसार भारतमा इन्टरप्रेनरसिपमा जोडिएका ११ प्रतिशत व्यक्तिमध्ये केवल ५ प्रतिशतलाई मात्र आफ्नो कारोबारलाई स्थापित गर्न सफलता मिलेको थियो । त्यति मात्र होइन, त्यस निकटतम छिमेकी देशमा व्यवसाय सुरु गरेर बन्द गर्ने दर पनि उच्च हुन पुगेको देखिन्छ । त्यहाँ २६.४ प्रतिशत व्यवसाय बन्द हुन पुगेको पाइन्छ ।

हरेक व्यवसायीको मुख्य सपना आफ्नो व्यवसाय सफल पार्ने रहेको हुन्छ । तर, इन्टरप्रेनरसिप सफल हुनका लागि कुनै जादुको छडी हुँदैन । व्यवसाय सफल पार्न बौद्धिक तथा कम्पनीगत क्षमता दुवै आवश्यक पर्छ । सफलता रातारात प्राप्त हुने चिज होइन । यसका निम्ति व्यवसायीहरु जीवनभर डटिरहेका हुन्छन् । संसार छिटोछिटो परिवर्तन भोगिरहेको छ । यस्तो तीव्र परिवर्तनलाई आत्मसात् गर्न सक्ने इन्टरप्रेनर नै सफलताको सिँढी चढ्न सक्छ । युवा इन्टरप्रेनरले मनन् गर्नुपर्ने दर्जन बुँदा यहाँ प्रस्तुत छन्—

दिमागी सफलता

व्यवसाय एउटा मनोविज्ञान पनि हो । कोही पनि लगानीकर्ता व्यापार–व्यवसाय गरेर करोडौं कमाउने आकाङ्क्षा पाल्छ भने ऊ आफ्नो काममा पनि त्यसैगरी लगनशील भएर लागेको हुन्छ । र, उसले सफलता पाउने सम्भावना पनि उत्तिकै रहन्छ । एक पटक सफल भएको मान्छे असफल भइएला कि भनेर सधैं सतर्क हुने गर्छ । सफल इन्टरप्रेनरले कल्पना गरेको सफलता पाएपछि थप सफलताको कल्पना र मेहनतमा ऊ जुट्न थाल्छ, चुनौतीको सामना गर्ने मनोविज्ञान उसले पहिल्यै बनाएको हुन्छ ।

ठूलो सोच, सानो क्रिया

पानीका सानासाना थोपाबाट बाल्टिन भरिन्छ भन्ने भनाइ व्यवसायमा पनि लागू हुन्छ । थोपाथोपा जम्मा गर्न सक्ने धैर्य र साहसले नै व्यवसायीलाई सफलता चुमाउँछ ।

आफूलाई बोस नसम्झ

आफूलाई सल्लाहकार ठान, नमुना बन । आफ्ना आइडियाहरु र भिजन प्रस्तुत गर । तिमीलाई थाहा छ, आफू कहाँ पुग्नु छ भन्ने । पार्टनर (यदि छन् भने)को विश्वास तिमीले जित्नुपर्छ र तिमीले कोरेको गोरेटामा उनीहरुलाई हिँडाउन सक्नुपर्छ । यस्ता कुरामा सहकर्मीहरुलाई विश्वास दिलाऊ । मोटिभेट गर र आफ्नो उद्देश्य प्राप्तिमा लाग ।

व्यावसायिक चार्टलाई उल्टाऊ

कम्पनीको कार्यशैली कसरी अघि बढिरहेको छ भन्ने बुझ्न एकपटक त्यसको चार्टलाई उल्टाएर हेर । कसले कसरी काम गरिरहेका छन्, राम्ररी बुझ्न यो उपाय सहयोगी हुन्छ । आफूबीचमा कहिल्यै नबस, तर कर्मचारीलाई आवश्यक पर्दा सहयोग गर्न हरदम तत्पर रहू ।

सबैमध्ये उत्तमलाई छान

आफ्नो कम्पनीमा काम गर्ने सबैले उत्तम ढङ्गमा काम गरिरहेका छन् भन्ने दृष्टिले हेर । यद्यपि, कुनै पनि मान्छेसँग विशेष ढङ्गमा काम गर्न सक्ने क्षमता हुन सक्छ । त्यस्ता मान्छेलाई समात र उसलाई थप सिर्जनात्मक बन्न प्रेरणा देऊ ।

‘पर्फेक्ट’ योजना कुनै पनि हुँदैन

दुनियाँमा ‘इम्पर्फेक्ट प्लान’ मात्र हुन्छ । तर ‘गुड प्लान’ भने हुन्छ । सर्वश्रेष्ठ योजना पाउन प्रतीक्षा गर र साधनस्रोत पर्याप्त लगाऊ ।

सानो सफलतालाई आत्मसात् गर

एकै पटक ठूलो र बृहत् सफलता हात पार्छु भन्नु दिवास्वप्न मात्रै हो । त्यस्तो सफलता पाउने समय तिमीसँग छैन । सानातिना जितको बाटोले नै तिमीलाई अगाडि बढ्न मद्दत गर्छ ।

गल्ती कुनै समस्या होइन

गल्ती कुनै समस्या होइन, त्यसबाट नसिक्नुचाहिँ ठूलो समस्या हो । तिमीलाई सफलता पाउनु छ भने विगतका गल्तीबाट पाठ सिक्दै आफूलाई सुधार्नुपर्छ । तिमी धेरै काम गर्छौ भने तिमीबाट सोही परिमाणमा गल्ती हुन सक्छ अनि त्यति नै पाठ सिक्ने मौका पनि मिल्छ । र, व्यावसायिक बाटोमा आउन सक्ने सबैखाले चुनौतीलाई चिर्ने अनुभव पनि बटुलिन्छ ।

जोखिम जिन्दगीको एउटा पाटो हो

आफूले अघि सारेको योजना र कार्यशैलीमा आफू प्रतिबद्ध बन । अरु कोहीले पनि मोल्न नसकेको जोखिमको बाटोले नै तिमीलाई नयाँ उपाय सुझाउने छ र सफलता चुमाउनेछ ।

सबैको विश्वास जित

संसार धोकेबाज र छलीहरुले भरिएको छ । यसको अर्थ यो होइन कि, तिमी कसैलाई पनि विश्वास नगर । तिमीले नै विश्वास निर्माण गर्न सक्नुपर्छ । विश्वासलाई नवीकरण गर्नुपर्छ र एकआपसमा गरिएका बाचाबन्धन पूरा गर्न प्रेरणा दिइरहनुपर्छ ।

शुभेच्छुकलाई चिन

दुस्मनहरु सधैं पुरानै मार्गमा हिँडिरहेका हुँदैनन्, प्रतिस्पर्धीले फरक उपाय अङ्गीकार गरिरहेका हुन्छन् । त्यसकारण पुरानो दुस्मन यदि कोही छ भने उसलाई आफ्नो शुभेच्छुक मान र सक्छौ भने उसलाई पार्टनर वा ग्राहक बनाऊ । सधैं आफूलाई मन पराउने वा आफूले मन पराउनेको सानो दुनियाँमा आफूलाई कैद नगर ।

चाँदीको घेरालाई हेर

समस्या आफैं निस्केर बाहिर जाँदैन । हामीले जसलाई समस्या भनिरहेका हुन्छौं, त्यो अवसरका रुपमा पनि प्रकट भइरहेको हुन्छ । घना बादलमा पनि चाँदीका घेरा देखिन्छन्, त्यही घेराले अघि बढ्न प्रेरणा दिन्छ । कतिपय अवसरहरु समस्याको अनुहारमा लुकेर बसिरहेका हुन्छन् । तिनलाई चिनेर अघि बढ्न सक्नुपर्छ ।