उद्योग क्षेत्रमा ५४ अर्ब वैदेशिक नयाँ लगानी

कृषिजन्यमा २ अर्ब, ऊर्जामा ३७ अर्ब, सूचना तथा सञ्चारमा ३४ करोड, उत्पादनमूलकमा ७ अर्ब, खनिजमा २ अर्ब, सेवामूलकमा १ अर्ब, तथा पर्यटन क्षेत्रमा दुई अर्ब रुपैयाँ प्रतिवद्धता आएको छ ।

चालू आर्थिक वर्षको दश महिनामा उद्योग क्षेत्रमा ५४ अर्बभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । कृषिजन्यमा २ अर्ब, ऊर्जामा ३७ अर्ब, सूचना तथा सञ्चारमा ३४ करोड, उत्पादनमूलकमा ७ अर्ब, खनिजमा २ अर्ब, सेवामूलकमा १ अर्ब, तथा पर्यटन क्षेत्रमा दुई अर्ब रुपैयाँ प्रतिवद्धता आएको उद्योग विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुषालले जानकारी दिए ।

भुषालले वैदेशिक लगानी प्रतिवद्धतामध्ये सबैभन्दा बढी उर्जा क्षेत्रमा आएको बताए । उद्योग विभागका अनुसार बैशाखसम्म कुल ५४ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता सहित विभागमा २ सय ६३ विदेशी लगानीका उद्योग दर्ता भएका छन् । जसमध्ये कृषिजन्यमा १३, ऊर्जामा ५, सूचना तथा सञ्चारमा २१, उत्पादनमूलकमा ४८, खनिजमा १ ,सेवामुलकमा ७८ र पर्यटनमा ८८ उद्योग छन् ।

विभागमा दर्ता भएका उद्योगमध्ये सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रतिवद्धता आएको छ । त्यस्तै खनिज क्षेत्रमा एउटा कम्पनीको दर्ता छ । यी सात क्षेत्रमा दर्ता भएका उद्योगको स्थिर पुँजी ५१ अर्ब र कार्य सञ्चालन पुँजी २ अर्ब रहेको विभागको तथ्याङ्कमा उल्लेख छ । २ सय ६३ वैदेशिक उद्योगमा ९ हजार ६ सय ९८ जनाले रोजगारीको अवसर पाउने छन् ।

विभागमा दर्ता भएका उद्योगमध्ये ठूला ११, मझौला ५ र साना २ सय ४६ ओटा छन् । गत अबको दश महिनामा १४ अर्ब लगानीमा कुल २ सय ९६ उद्योग दर्ता भएकोमा चालू आवको सोही अवधिमा ५४ अर्ब रुपैयाँ लगानी प्रतिवद्धता सहित दुई सय ६३ उद्योग दर्ता भएका छन् । गत आवमा ८ हजार ८ सय २२ जनाले रोजगारी उपलब्ध गराउने जनाएका थिए ।