नेपाल वायुसेवा निगमले स्थापना गर्यो सूचना केन्द्र

सूचना केन्द्र नभएकै कारण नेपाल वायुसेवा निगमको जहाज कुन समयमा उड्ने र डिले हुने भन्ने जानकारी यात्रुहरुले पाउन कठिन हुने गरेको थियो ।

नेपाल वायुसेवा निगमले सूचना केन्द्रको स्थापना गरेको छ । सूचना केन्द्र नभएकै कारण नेपाल वायुसेवा निगमको जहाज कुन समयमा उड्ने र डिले हुने भन्ने जानकारी यात्रुहरुले पाउन कठिन हुने गरेको थियो ।

वायुसेवा निगमको आन्तरिक टर्मिनलतर्फ राखिएको सूचना केन्द्रमा आन्तरिक उडानको तालिका जडान गरिएको जनाइएको छ । सूचना केन्द्रमा कुन कुन जहाज डिले हुँदैछन् र कुन समयमा उडान भर्ने जानकारी यात्रुलाई समयमै दिने व्यवस्था मिलाइएको वायुसेवा निगमले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल वायुसेवा निगमको जहाज कुन कुन समयमा उड्ने र कुन समयमा डिले हुन्छन् भन्ने आफैँलाई थाहा नभएको बताएका थिए । मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई तत्काल यस विषयमा यात्रुहरुले जानकारी पाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।