‘३५ डिग्रीभन्दा माथिको तापक्रममा काम गर्न नमिल्ने हुँदा राति राति काम गरिरहेका छौं,’ प्रमुख शर्माले भने, ‘२०१९ को जनवरीभित्र छानो हालिसक्छौं ।’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर ओमनारायणा शर्माले धावन मार्ग, टर्मिनल भवनलगाएत सिभिल निर्माणको काम अघि बढिरहेको बताए ।
प्रमुख शर्माले विमानस्थलको धावनमार्गको कालोपत्रेका लागि बेस लेएरको काम ४० दिनभित्र सम्पन्न हुने र वर्षापछि कालोपत्रेको काम सुरु हुने बताए । प्रमुख शर्माले सन् २०१९ को मार्चभित्र कालोपत्रे सकिने जानकारी दिए । यस्तै अन्तर्राष्ट्रिय टर्मिनल बिल्डिङको पहिलो तलाको ढलान चालू आर्थिक वर्षभित्रै सकिने गरी काम अघि बढिरहेको बताए ।
‘३५ डिग्रीभन्दा माथिको तापक्रममा काम गर्न नमिल्ने हुँदा राति राति काम गरिरहेका छौं,’ प्रमुख शर्माले भने, ‘२०१९ को जनवरीभित्र छानो हालिसक्छौं ।’ विमानस्थलको कन्ट्रोल टावरको चौथो तलाको काम सम्पन्न गरी पाँचौ तलाको काम ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको जनाइएको छ । जहाज पार्किङका लागि प्राइमरी ढलान सकिएको र मेन ढलान पनि साउनभित्र सकिने गरी काम गरिरहेको प्रमुख शर्माले जानकारी दिए ।
यस्तै ६ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको जानकारी दिँदै ५ अर्ब रुपैयाँ विनियोजन भइसकेको र यही आर्थिक वर्षभित्र वितरण गरिसकिने आयोजना प्रमुख शर्मा बताउँछन् । करिब २३ अर्ब रुपैयाँ मुआब्जा वितरण गर्ने तयारी आयोजनाले गरिरहेको छ ।
भौतिक कार्यप्रगति ३८ प्रतिशत सम्पन्न भएको आयोजनाको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व. सुशील कोइरालाले शिलान्यास गरेका थिए । आयोजनाको अनुमानित खर्च ८ अर्ब ५६ करोड रुपैयाँ छ । यसमध्ये एसियाली विकास बैङ्कको ६ अर्ब ३१ करोड रुपैयाँ क्रृण÷अनुदान छ । आयोजना ६ अर्ब २२ करोड रुपैयाँ ठेक्का रकम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जानकारी दिएको छ ।
नेपाल नागरिक उड्डन प्राधिकरण(क्यान)का महानिर्देशक सञ्जीव गौतमले आयोजनाको समग्र प्रगति ६० प्रतिशत भएको बताए । चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन गु्रपले काम गरिरहेको छ । सन् २०१७ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य रहे पनि उक्त समयमा बनाउन नसकेपछि २०१८ जुनसम्मको लागि म्याद थप गरिएको छ ।
तस्बिर सौजन्यः ओमनारायण शर्मा, आयोजना प्रमुख