प्राधिकरणले लाइन ट्रिपिङको समस्या हटाउन पहल गर्छ — कुलमान घिसिङ

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एउटै सिस्टमबाट उद्योगलाई विद्युत् दिँदा उद्योगको उच्च लोडका कारण लाइन ट्रिपिङ हुने गरेको बताए ।

नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा भइरहेको लोडसेडिङ अन्त्य गरेर विद्युत् उपलब्ध गराएपनि छिनछिनमा हुने ‘लाइन ट्रिपिङ’को समस्या हटाउन पहल गर्ने भएको छ । लाइन ट्रिपिङका कारण नोक्सानी हुने गरेको गुनासो उद्योगी व्यवसायीबाट आएपछि प्राधिकरणले समस्या समाधानका लागि छलफल गर्ने भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले एउटै सिस्टमबाट उद्योगलाई विद्युत् दिँदा उद्योगको उच्च लोडका कारण लाइन ट्रिपिङ हुने गरेको बताए । ‘हामीले एउटा उद्योगलाई धेरै ठाउँबाट विद्युत् दिएका हुँदैनौँ, एउटै सिस्टमबाट विद्युत दिन्छौँ,’ उनले भने, ‘उद्योगमा हुने उच्च लोडभारका कारण यस्तो समस्या देखिएको हो ।’ उनले उद्योगी तथा व्यवसायीहरुले पनि लोडसेडिङका बेला जस्तै आफ्नो उद्योगमा उच्च लोड थाम्ने जेनेरेटर तथा वैकल्पिक इनर्जीको व्यवस्था गर्न समेत आग्रह गरे ।

उनले उद्योग क्षेत्रलाई आपूर्ति गर्ने विद्युत् गुणस्तरीय बनाउन प्रसारण लाइनको क्षमता विस्तार गर्ने बताए । ‘उद्योग क्षेत्रमा लाइन ट्रिपिङको समस्या हटाई गुणस्तरीय विद्युत् आपूर्ति गर्न प्राधिकरणले कसरी समस्या हल गर्न सक्छ भन्ने विषयमा सोच्दैछौँ’ उनले भने ।

उद्योग क्षेत्रमा घरीघरी लाइन काटिने समस्या समाधानका लागि सरकारले प्रसारण लाइनको क्षमता विस्तार गर्ने तथा उद्योगीहरुले जेनेरेटर तथा वैकल्पिक इनर्जीको व्यवस्था गर्नुपर्ने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । ‘लाइन ट्रिपिङको समस्या उद्योग क्षेत्रमा मात्र छैन । घर—घरमा पु¥याइएको बत्तीमा पनि देखिएको छ,’ उनले भने, ‘त्यसका लागि सरकारले बनाउने प्रसारण लाइनको क्षमता विस्तार र उद्योगीले जेनेरेटर, सोलार तथा वैकल्पिक ऊर्जाको पूर्व तयारी गर्नुपर्छ ।’