प्रदेश ७ को दोस्रो ठूलो विमानस्थल स्तरोन्नतिको काममा ढिलाइ

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिङ र फिटिङको काम सकेर सबबेसको काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताए ।

प्रदेश ७ को दोस्रो ठूलो बैतडीको पाटन विमानस्थल स्तरोन्नतिको काम तोकिएकै समयमा सम्पन्न नहुने सङ्केत देखिएको छ ।

विमानस्थल चालू आर्थिक वर्षको असार मसान्तसम्म कालोपत्रे गरिसक्ने हिसाबले गत भदौदेखि काम सुरु गरिएपनि पनि ढिलासुस्तीका कारण असारमा काम सम्पन्न नहुने छाँटकाँट देखिएको हो ।

ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले काम गरिरहेको विमानस्थलमा कटिङ र फिटिङको काम सकेर सबबेसको काम भइरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले बताए । उनले भने, “असार मसान्तसम्म ठेक्काको म्याद भएकाले निर्माण कम्पनीले म्याद थपका लागि आवेदन गर्ने तयारी गरेको छ ।” अहिलेसम्म विमानस्थल स्तरोन्नति गर्ने कार्यअन्तर्गत ७० प्रतिशत काम सकिएको नागरिक उड्डयन मन्त्रालयका इन्जिनियर एवम् साइड सुपरभाइजर कविता भट्टले बताइन् ।

उनले भनिन्, “ढिलो गरी काम सुरु भएको र बीचमा पानी परेकाले काममा केही ढिलाइ भएको छ ।” सबबेस र बेसको काम वर्षातभरि सक्ने हिसाबले काम भइरहेको छ । अब दशैँको आसपासमा विमानस्थलमा कालोपत्रे गरिसक्ने हिसाबले काम हुने साइड सुपरभाइजर भट्टले बताइन् ।

करिब १३ करोड रूपैयाँको लागतमा पाटन विमानस्थलमा ५ सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिँदै छ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिनेछ । विसं २०७२/७३ को बजेट भाषणमा सरकारले झन्डै दुई दशकदेखि बन्द रहेको पाटन विमानस्थललाई स्तरोन्नति गरी पुनः सञ्चालन गर्न बजेट विनियोजन गरेको थियो । सोहीअनुसार गत मंसिरमा विमानस्थल सञ्चालनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारिएको थियो ।

सोही डिपिआर अनुसार विमानस्थललाई स्तरोन्नति गरी पुनः सुञ्चालन गर्न ठेक्का आह्वान गरेर काम सुरु गरिएको हो । कालोपत्रे असारमा सक्ने भनिएकामा समयमा नसकिने भएपछि स्थानीय बासिन्दा भने निराश भएका छन् । विकास निर्माणका काम तोकिएको समयमा सम्पन्न नहुँदा धेरै समस्या हुने गरेको उनीहरूको गुनासो थियो ।

पाटनमा २०३२ सालमा विमानस्थल निर्माण सुरु भई २०३५ सालदेखि कच्ची स्थानमै हवाई सेवा सुरु भएपनि २०५२ सालमा भने विमानस्थल बन्द भएको थियो । पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । विसं २०५८ मा तत्कालीन माओवादीले टावरमा आगो लगाएर ध्वस्त बनाएपछि विमानस्थल अलपत्र परेको थियो ।

प्रदेश ७ सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थलपछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो । नौ सय ५० मिटर धावनमार्गको लम्बाइ रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थलका रुपमा छ ।

पाटन विमानस्थल कालोपत्रे भएर सञ्चालनमा आए यस क्षेत्रको धार्मिक पर्यटनको विकास हुने सरोकारबालाले बताए । विमानस्थल सञ्चालन भएमा भारतीय पर्यटकसमेत आउने स्थानीय दिनेश विष्टको भनाइ थियो ।

पर्यटकीय गन्तव्य बनाउन सकिने

नेपाल सरकारले घोषणा गरेको १० नमुना सहरमध्येको एक सहरमा पर्ने पाटनमा रहेको विमानस्थल सञ्चालन हुन सके झनै पर्यटकीय गन्तव्य बनाउन सकिने भएको छ ।

प्रदेश ७ को पहाडी जिल्ला बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकामको रूपमा परिचित छ । पर्यटकीय आकर्षणको मुख्य केन्द्रबिन्दु रहेको सो स्थानमा नेपालकै गहिरो गुफा पत्ताल भूमेश्वर, उदयदेव मन्दिर, त्रिपुरा सुन्दरी, निङ्गलाशैनी मन्दिर, ईश्वरी गंगा धाम, मेलौली भगवती मन्दिर, दोगडा धाम, रौलाकेदार मन्दिर, सिगास धामलगायत क्षेत्रमा पर्यटक भित्र्याउन सकिन्छ ।

विमानस्थल सञ्चालनपछि बैतडीसहितका जिल्लाको धार्मिक पर्यटकीय क्षेत्रको महत्व बढ्ने तथा सुदूरपश्चिमका जनताको जीवनस्तरमा परिवर्तन आउने स्थानीयवासी कपिल केसीको भनाइ थियो । विमानस्थल पुनःसञ्चालनपछि ओझेलमा परेका पर्यटकीय क्षेत्रको विकासमा टेवा पुग्नेछ जानकारी दिँदै उनले भने, “व्यापार व्यवसाय पनि फस्टाउने र भारतसँग सीमा जोडिएकाले भारतीय पर्यटकसमेत भित्र्याउन सकिन्छ ।”

बैतडी मात्रै नभएर दार्चुला, डडेल्धुरा र बझाङका लागिसमेत पाटन बीचमा पर्ने भएकाले यो विमानस्थल सञ्चालन भएमा प्रदेश ७ का पहाडी जिल्लाका नागरिक लाभान्वित हुने स्थानीय छविराज जोशीले बताए । दार्चुलाको अपि हिमाल, बझाङको साइपाल हिमाल र बैतडीको धार्मिकस्थलको अवलोकनका लागि पर्यटक भित्र्याउनसमेत उक्त विमानस्थल सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ थियो । भारतसँग सीमा जोडिएको जिल्ला भएकाले त्यहाँ व्यापारसमेत फस्टाउने देखिएको छ ।

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित भएको र पाटन विमानस्थल सञ्चालनमा आएपछि यस क्षेत्रको विकास हुने विश्वास गरिएको छ । रासस