ललितपुर र कुवेर मर्चेन्ट समस्याग्रस्त सूचीबाट हटे

यसअघि जनरल फाइनान्स (हालको वेस्ट फाइनान्स) र अरुण फाइनान्सलाई नयाँ लगानीकर्ता आएपछि समस्याग्रस्त स्थितिबाट मुक्त गरेको थियो । आधा दर्जनभन्दा बढी संस्था अझै समस्याग्रस्तकै अवस्थामा छन् ।

ललितपुर फाइनान्स र कुवेर मर्चेन्ट फाइनान्स समस्याग्रस्त सूचीबाट हटेका छन् । नेपाल राष्ट्र बैङ्कले दुवै संस्थालाई शर्तसहित समस्याग्रस्त स्थितिबाट फुकुवा गरेको हो । गत साता नै राष्ट्र बैङ्कले दुवै संस्थामा नयाँ लगानीकर्ता भित्र्याएर संस्थालाई सहज ढङ्गले अघि बढाउने प्रतिबद्धता आएको भन्दै कारबाही फुकुवा गरेको हो । यसले दुवै संस्थालाई निक्षेप सङ्कलन र कर्जा लगानी गर्न बाटो खुलेको छ । समस्याग्रस्त भएको स्थितिमा निक्षेप सङ्कलन गर्न पाइँदैन भने यसअघिको निक्षेप पनि क्षमता हेरी निक्षेपकर्तालाई फिर्ता दिनुपर्छ । त्यसैगरी कर्जा लगानी गर्न पाइँदैन ।

केन्द्रीय बैङ्कको नीतिगत व्यवस्थाअनुसार चुक्ता पुँजी र पुँजी कोष कायम गरेको, संस्थामा नयाँ लगानीकर्ताहरू प्रवेश गरेर संस्थालाई सुचारू गर्ने प्रतिबद्धता गरेकाले दुवै संस्थालाई ३५ दिनभित्र पुँजी योजना माग्दै सर्तसहित समस्याग्रस्त स्थितिबाट मुक्त गरेको हो । यसअघि जनरल फाइनान्स (हालको वेस्ट फाइनान्स) र अरुण फाइनान्सलाई नयाँ लगानीकर्ता आएपछि समस्याग्रस्त स्थितिबाट मुक्त गरेको थियो । आधा दर्जनभन्दा बढी संस्था अझै समस्याग्रस्तकै अवस्थामा छन् ।

राष्ट्र बैङ्कले वित्तीय संस्था संस्थागत सुशासन नभएको र वित्तीय अवस्था बिग्रिएको भन्दै कुवेर मर्चेन्ट फाइनान्सलाई २०६८ पुस २३ र ललितपुर फाइनान्सलाई २०७१ चैत १६ मा समस्याग्रस्त घोषणा गरेको थियो । राष्ट्र बैङ्कले दुवै संस्थालाई २०७६ मङ्सिरसम्म तोकिएको पुँजी पुर्याउन समय दिएको छ । राष्ट्रिय स्तरको फाइनान्स कम्पनीको चुक्ता पुँजी न्यूनतम ८० करोड रूपैया हुनुपर्छ ।

कुबेर मर्चेन्ट फाइनान्सले समस्याग्रस्त स्थितिबाट बाहिरिन ६० प्रतिशत सेयर हिस्सा दिएर नयाँ लगानीकर्ता भित्र्याएको छ । कुवेरमा सिटी एक्सप्रेस निकट व्यवसायी, गैर आवासीय नेपाली तथा वैदेशिक रोजगार व्यवसायीहरूसमेतले लगानी गरेका छन् । कम्पनीले नाम परिर्वतन गरेर सिटी एक्सप्रेस इन्टरनेसनल फाइनान्स लिमिटेड राख्ने घोषणा ययअघि नै गरेको छ । त्यसैगरी ललितपुरले समस्याग्रस्तकै अवस्थामा सेयरधनीलाई एक बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गरेर पुँजी थपेको थियो ।

२०७४ असोजसम्म ३६ करोड १८ लाख ९४ हजार ऋण लगानी र १० करोड ९४ लाख २७ हजार निक्षेप छ । १८ करोड ७९ लाख ४५ हजार चुक्ता पुँजी रहेको ललितपुर फाइनान्स समस्याग्रस्त हुनुअघि १ अर्ब २९ करोड ३७ लाख २६ हजार निक्षेप र १ अर्ब २ करोड ३८ लाख ५७ हजार रूपैयाँ ऋण लगानी थियो ।
त्यसैगरी कुवेरको हाल ३५ करोड २६ लाख ३३ हजार ऋण लगानी र २७ करोड ९९ लाख ३ हजार निक्षेप छ । १५ करोड रूपैयाँ चुक्ता पुँजी भएको कुबेरको समस्याग्रस्त हुनुअघि ५६ करोड ७१ लाख ९ हजार निक्षेप र ७६ करोड ३९ लाख ६२ हजार रूपैयाँ ऋण लगानी थियो । दुवै बैङ्कले पुँजी पुर्याउन  ३५ दिनभित्र केन्द्रीय बैङ्कमा पुँजी वृद्धि योजना पेस गर्नपर्छ ।

तोकिएको चुक्ता पुँजी नपुगेको स्थितिमा एकल ग्राहक कर्जा सीमा कोर क्यापिटललको १० प्रतिशत कायम गर्ने र तोकिएको चुक्ता पुँजी पुगेपछि विद्यमान अवस्थाअनुरूप एकल ग्राहक कर्जा सीमा कायम हुने केन्द्रीय बैङ्कले जनाएको छ ।