सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टीएर्इसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले सात अर्ब ४१ करोड रूपैयाँ लागत लाग्ने बताए ।
कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।
सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टीएर्इसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले सात अर्ब ४१ करोड रूपैयाँ लागत लाग्ने बताए ।
मङ्गलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका मन्त्रीले गरेको स्थलगत अनुगमनको क्रममा जेभीका प्राविधिक कोइरालाले यो कुरा सार्वजनिक गरे ।
उनले पूर्व–पश्चिम चार किलोमिटर लम्बाइ र उत्तर–दक्षिण एक किलोमिटर चौडाइ भएको विमानस्थलको कुल क्षेत्रफल ३६ हजार रोपनी रहेको बताए । प्राविधिक कोइरालाका अनुसार सम्भाव्यता अध्ययनको प्रतिवेदनका आधारमा अब डीपीआर बन्नेछ ।
हवाई तथा स्थलगत अनुगमनमा न्याउलीचौर पुगेका पर्यटन मन्त्री अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए । मन्त्री अधिकारीले भने, “यसको डीपीआर तयार गरेर अब चाँडै शिलान्यास पनि गर्छौं ।”
काठमाडौँबाहेकका बाहिरी जिल्लाबाट पनि छिमेकी देशमा हवाई सेवा सञ्चालन गर्ने क्रममा प्रथमतः कर्णालीको सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनतर्फ बढी जोड दिने मन्त्री अधिकारीको भनाइ थियो । काठमाडौँ नभई सोझै यहीँबाट छिमेकी मुलुकमा जान सक्ने स्थिति सिर्जना गरी कर्णाली प्रदेशका नागरिकलाई न्याय दिलाउने उनले बताए ।
विमानस्थलको राष्ट्रिय योजना निर्माणको तयारीमा रहेको बताएका उनले हाल सञ्चालनमा रहेकाे सुर्खेत विमास्थलको विकल्प आवश्यक रहेको बताए । कर्णालीका पर्यटकीय क्षेत्रहरु मुगु–रारा, मानसरोवर, शे–फुक्सुण्डो, छायाँनाथ पुग्ने सयौँ यात्रीका लागि पनि हिमाली जिल्लामा ठूलो जहाज बस्ने विमानस्थल खोज्ने तयारी भइरहेको उनले बताए ।
प्रदेशले आफ्नै कानुनमार्फत पर्यटन बोर्ड स्थापना गर्न सुझाउँदै उनले राराको समग्र गुरुयोजना आवश्यक रहेको औँल्याए । उनले भने, “कर्णालीका हुम्ला र डोल्पाका जनताको लागि हवाई मार्ग एकमात्र विकल्प हो, त्यसका लागि काठमाडौँका सबै एयरलाइन्सलाई तल स्टेसन बनाउन अनुरोध गरिएको छ ।” उनका अनुसार सुर्खेतको काँक्रेविहार क्षेत्रको निर्माण कार्यमा जोड दिइनेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्राविधिक दृष्टिकोणले सुर्खेत उपत्यकाभित्र विमानस्थल बन्न नसक्ने अवस्था भएपछि उपत्यका बाहिर हेर्नुपरेको बताए । “सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार २५० मिटर छ, तर अहिले बनाउन थालिएको विमानस्थलको धावनमार्ग दुई हजार ६५० मिटरसम्मको हो । यसमा ठूला विमान उडाउन सकिन्छ,” उनले भने ।
पूर्व संस्कृति तथा पर्यटनमन्त्रीद्वय यामलाल कँडेल र जीवनबहादुर शाहीले अन्तर्राष्ट्रियस्तरको नभई अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माण गर्न आग्रह गरे । प्राविधिक दृष्टिकोणले उपयुक्त ठाउँलाई छनोट गर्न सुझाउँदै मन्त्रीद्वयले सुर्खेतमा विमानको रात्रिबास गर्ने प्रबन्ध मिलाउन पर्यटन मन्त्रीलाई अनुरोध गरे ।
प्राधिकरणले गुगल नक्साङ्कनबाट सुर्खेत उपत्यकाभित्रको उत्तरगङ्गा, उपत्यका बाहिरको भेरीगङ्गा नगरपालिकाको रामघाटस्थित न्याउलीचौर र मदानेचौर छनोट गरेको थियो । तिनलाई पुनः नक्साङ्कन गर्ने प्राधिकरणले जनाएको छ । हाल कर्णालीमा आठ अाेटा विमानस्थल सञ्चालन रहेको जनाइएको छ । शुरबहादुर सिंह (रासस)