आठ हजार हेक्टरमा सिँचाइ सुविधा अभाव

जाजरकोटका अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । जिल्लाका सातवटा स्थानीय तहका किसानका खेतबारी सिँचाइ सुविधाको अभावमा वर्षायाममा मात्र खेती हुने गरेको छ । सिँचाइ सुविधा नभएका कारण यहाँका किसान आकाशे पानीको भरमा वर्षायाममा मात्र खेती गर्दै आएका हुन् ।

भिरालो जमीनमा ओसिलो पन नहुँदा सबै लगाएको अन्नबाली सुक्ने भन्दै हिउँदे याममा आफ्नो खेतबारी बाँझै रहने गरेको नलगाड नगरपालिका– ८ का हरिबहादुर खत्रीले बताए । केहीले व्यक्तिगत रुपमा पाइप खरिद गरी सिँचाइ गरेपनि अधिकांश किसानका खेतबारी सिँचाइविहीन अवस्थामा रहेको भेरी नगरपालिका–१ का कालीबहादुर पुनले बताए । “अर्काको पाइप ल्याएर सिँचाइ गर्दा एक हजार रुपियाँ तिर्नुपर्ने हुन्छ,” उनले भने ।

आकाशे पानीको भरमा खेती गर्दा बीउ नै नउम्रिने र हिउँदे याममा जमीन खाली नै राख्ने गरेको पुनको भनाइ छ । सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबाली समेत लगाउने गरेको कुशेगाउँपालिका–५ का अमिक थापाले बताए । जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यता छ । “आकाशे पानीको भरमा लगाउँदा वर्षेनी बीउ नै नउठ्ने भएपछि हिउँदे याममा जमीन खाली राख्ने गरेको छु,” उनले भने ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा १६ हजार ६९८ हेक्टर जमीनमा खेती गरिन्छ । हिउँदयाममा दुई हजार ९४९ हेक्टर जमीनमा सिँचाइ सुविधा पुग्छ । वर्षा याममा चार हजार ९सय ९० हेक्टरमा मात्र सिँचाइ सुविधा पुग्ने गर्छ । दश हजार ४३२ हेक्टर जमीनमा गहुँखेती गरिन्छ भने सात सय हेक्टर जमीनमा जौँखेती गरिँदै आएको छ ।